सडक खन्न चार महिनादेखि जंगलमै वास

बिहिबार, ३ भदौ, २०७८
डिजिटल संस्करण

मुगुको छायानाथ रारा नगरपालिका– १४ बाम गाउँकी ५२ वर्षीया धर्मशिला बुढा वैशाखदेखि जंगलमै प्लास्टिक टेन्टमा बसेर सडक खन्ने काममा छिन्। उनी सडक निर्माण सुरु भएको करिब तीन वर्षदेखि लगातार खटिइरहेकी छिन्। ‘पहिलो वर्ष घरको खाना खाँदै घरआँगनमै काम गरियो। अहिले टाढा जंगलमा पालमा बसेर चार महिनादेखि सडक बनाइरहेका छौँ,’ उनले भनिन्।

सडक खन्ने काम सुरु गरेको करिब तीन वर्षमा हालसम्म करिब तीन लाख आम्दानी गरेको उनी बताउँछिन्। पछिल्लो चार महिनादेखि पाँच–सातजना एउटै पालमा बसेर काम गरिरहेको उनले बताइन्।

छायानाथ रारा नगरपालिका– १४ की सुन्तला बुढा पनि वैशाखदेखि जंगगलमै पालमा बसेर सडक खन्ने काममा छिन्। उनी चंखेली हिमालभन्दा तलको जंगलमा सडकको काम गर्दै छिन्। उनीसँगै उनका श्रीमान् पनि सडक खन्ने काममै छन्। अब दशैँमा मात्रै घर जाने उनीहरू बताउँछन्। यतिवेला उनीहरू मात्रै होइनन् दुई हजार चार सय ६० जना कामदार जंगलमै पाल हालेर सडक निर्माणमा जुटेका छन्। यीमध्ये ४५ प्रतिशत महिला कामदार रहेका छन्।

बेलायत सरकारको आर्थिक सहयोगमा ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत मुगुको रेडक्रसदेखि हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किलोमिटर सडकको काम ०७५ पुसदेखि जारी छ। जसअन्तर्गत मुगु र हुम्लाका धेरैले रोजगारी पाएका छन्। कामदारलाई एक सय २३ समूहमा विभाजन गरी खण्ड–खण्डमा निर्माण कार्य जारी छ। त्यसका लागि जंगलमा करिब दुई सयभन्दा बढी प्लास्टिकको पाल हालिएको छ।

सडक निर्माण पूरा भएपछि मुगुका रुगा, लुम, बाम, दर्खे र फोइपाटा तथा हुम्लाका चंखेली, सर्केगाड, खार्पुनाथ र सिमिकोटका स्थानीय लाभान्वित हुनेछन्। सडक ०८९ वैशाखसम्म निर्माण सम्पन्न गरी जेठमा प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ।

सुझावित समाचार