नेप्सेमा झिनो अंकको सुधार आएको छ। सोमबार नेप्से परिसूचकक ५ दशमलव ७५ अंकले हरियाली छाउँदै तीन हजार एक सय ६० दशमलव ०९ बिन्दुमा पुगेको छ। त्यस्तै ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स तीन दशलमव ५६ अंकले बढेर पाँच सय ९२ दशमलव ९२ बिन्दुमा पुगेको छ।
कारोबारको सुरुवातीदेखिबाट नै बजारमा उतारचढाव रहेको भए पनि कारोबारको अन्त्यमा बजार सुधारिएर बजार बन्द भएको हो।
कारोबारमा आउने १३ समूहको सूचकमध्ये सात समूहको सूचकमा हरियाली छाउँदा ६ समूहको सूचक नकारात्मक बनेको छ। मौद्रिक नीतिपछि आइतबार घटेको बजारले सोमबार लगानीकर्ताको ध्यान विकास बैंकतर्फ आकर्षण बढाएका छन्। विकास बैंकको सो दिन एक१ दशमलव ३४ अंकले बढेको छ भने फाइनान्स र निर्जीवन बिमा समूहमा पनि लगानीकर्ताको आकर्षण बढेको छ।
सोमबार पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ। नेसनल हाइड्रो पावर कम्पनी, कर्पोरेड डेभलपमेन्ट, रिडी हाइड्रो पावर, खानी खोला हाइड्रो पावर कम्पनी र जीवन विकास लघुवित्त संस्थामा सर्किट लाग्दै यी कम्पनीका कारोबार रकमको हिसाबले आइतबारको तुलनामा भने केही घट्न पुगेको छ।
आइतबार २१ अर्बसम्मको कारोबार भएकोमा सो दिन भने करिब १६ अर्बको कारोबार भएको छ। धितोपत्र र ऋणपत्र गरी कारोबार आएका दुई सय २७ कम्पनीको दुई करोड ८६ लाख कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९३ करोड रुपैयाँको कारोबार हुन पुगेको छ। ‘पर्ख र हेरका अवस्थामा लगानीकर्ताहरू रहँदा सेयर खरिद–बिक्रीमा कमी आएको विश्लेषकहरू बताउँछन्।
यस दिन कारोबार रकमको हिसाबले सबैभन्दा धेरै कारोबार हुने नेसनल हाइड्रोपावर कम्पनी रहेको छ। कम्पनीको सो दिन ७४ करोड रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा नेपाल बैंक रहेको छ। बैंकको सो दिन ६४ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी कारोबार हुने कम्पनीमा हाइड्रो इलेक्ट्रिसिटीको ५४ करोड रुपैयाँको कारोबार हुँदा न्याग्दी र अपी पावर कम्पनीको ४८ अर्ब रुपैयाँको कारोबार भएको छ।