सरकारले गरेको भूमि आयोग विघटनबाट नेपालका राजनीतिक दल साँच्चै भूमिसुधारका पक्षमा छैनन् भन्ने पुष्टि हुन्छ
सरकारले पछिल्लोपटक बनेको आयोग पनि विघटन गरेर फेरि एकपटक भूमिहीनलाई धोका दिएको छ । पटक–पटक सरकारबाट आएको आश्वासन र धोकापछि यतिवेला भूमिहीन नागरिक फेरि आन्दोलित हुन बाध्य भएका छन् । सरकारको यस कदले हातमा लालपुर्जा पाउने अवस्थामा पुगेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरू निराश हुन पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको केही दिनमै पहिलो प्रहार भूमिहीन सुकुम्वासीमाथि हुन पुग्यो ।
नेपाली राजनीतिको सात दशक लामो परिवर्तनको चरणमा पटक–पटक भूमिहीन सुकुम्वासीले धोका पाउँदै आएका छन् । त्यसको निरन्तरतास्वरूप वर्तमान सरकारले फेरि एकपटक आयोग विघटन गरेर प्रमाणित गरिदिएको छ । यसबाट नेपालका राजनीतिक दल साँच्चै भूमिसुधारको पक्षमा छैनन् भन्ने पुष्टि हुन्छ ।
गरिबी र भूमिहीनतामा बाँचिरहेका जनतालाई जग्गा र पुर्जा दिने प्रसंग उठ्नासाथ सबै दल र तिनका नेताको मन अमिलो हुन्छ भन्ने पछिल्लो नेपाली राजनीतिले छर्लंग पारिदिएको छ । यसबाट भूमिहीन सुकुम्वासी र गरिब दलितका लागि नेपालमा सरकारहरू बन्दै बन्दैनन् भन्ने प्रमाणित गरेको छ ।
यसअघि यस्तै भूमिसुधार या सुकुम्वासीका नाममा १५ भन्दा बढी आयोग बने र ती सबै आयोग कार्यअवधि नसकिँदै विघटनको सिकार भए । संविधान, ऐन र कानुनको आधारमा गठन हुने भए पनि सरकारको नेतृत्व फेरिनेबित्तिकै यस्ता आयोग निसानामा पर्ने गरेका छन् । त्यसको मार हेर्दा राजनीतिक नियुक्ति फेरबदलमा केन्द्रित भए पनि ठूलो असर भने भूमिहीन सुकुम्वासीमा पर्ने गरेको छ ।
वर्तमान सरकारले भूमि आयोग विघटन गरेर भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीमाथि गम्भीर अन्याय गरेको छ । यसले वर्षाैंदेखि समस्या भोग्दै आएका पीडित परिवारमा थप पीडा दिएको छ ।
हरेकपटक आयोग बन्दा यो देशमा भूमिहीन सुकुम्वासी गरिब र दलितले ठूलो आशा राखेका हुन्छन् र घाम होस् वा पानी, लाइन लागेर भोको पेटसमेत नभनी निवेदन पेस गर्छन् । तर, उनीहरूको घर बनाउने र खेती गर्ने जमिन पाउने सपना कहिले पूरा हुने हो, कहिल्यै टुंगो लागेन । यसको मुख्य कारण भनेको अस्थिर राजनीतिक प्रणाली र लाखौँ भूमिहीन सुकुम्वासी भएको देशमा संवैधानिक भूमि आयोग बनाउन दलहरूमा इच्छाशक्ति नहुनु नै हो ।
विभिन्न जिल्लामा भूमि अधिकार मञ्चहरूले अघिल्लो साता भूमि आयोग विघटन नगर्न सरकारलाई अनुरोध गदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई अनुरोध पत्रसमेत पठाए । तर, त्यसको केही साता नबित्दै यता आयोग विघटन हुन पुग्यो । यतिवेला देउवा सरकारले आयोग विघटन गरेपछि विपक्षी एमालेका नेताहरू पनि चर्काे विरोधमा छन् । एमालेनिकट युवा संघ त सडक आन्दोलनमै आयो ।
संघीय सरकारले आयोग विघटन गरे पनि उता स्थानीय सरकारले भने कामलाई नियमितता दिने बताएका छन् । ठूलो रकम खर्च गरिसकेका स्थानीय सरकारका प्रतिनिधिले आयोग विघटनप्रति विरोधसमेत जनाएका छन् । उनीहरू आफ्ना जनतासँग गरिएको वाचाअनुसार पुर्जा वितरण गर्न नपाएकोमा अझ बढी चिन्तित छन् । भूमिहीन सुकुम्वासी फेरि पनि हामीलाई राज्यले धोका दियो भन्ने बुझेर जिल्ला–जिल्लामा अनशन बस्न थालेका छन् । आयोग विघटनविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा परिसकेको छ । भूमिहीनहरूसमेत अदालतमा मुद्दा हाल्ने तरखरमा छन् ।
पछिल्लो पटक ९ चैत ०७६ मा सरकारले गठन गरेको भूमि आयोग १९ साउन ०७८ मा विघटन गरेको छ । तत्कालीन नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले हालको आयोग गठन गरेको थियो । खासगरी ओली नेतृत्वको सरकार ४२ महिनाभन्दा बढी टिकेको भए पनि आयोगले १५ महिना मात्र काम गर्न पायो । ओलीले भूमिहीनको समस्या समाधान गर्ने गरी जुन प्रतिबद्धता जनतासामु गरेका थिए, उनको कमजोरी के रह्यो भने उनले आयोग गठन गर्नै ढिलो गरे । ओली नेतृत्वमा सरकार बनेको केही महिनाभित्रै आयोग गठन भएको हुन्थ्यो भने यतिवेला भूमिहीनका अधिकांश समस्या सायद समाधान भइसक्थे । पछिल्लो अस्थिर राजनीतिको सिकार फेरि पनि भूमिहीन वर्ग नै बन्न पुगे । यो दुःखद कार्य हो ।
मुलुकभर १५ लाखभन्दा बढी भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरू रहेको अनुमान छ । यसको यकिन विवरण न संघीय सरकारसँग छ, न त स्थानीय सरकारसँग नै । तर, अहिलेको आयोगले यसको यकिन विवरण लिने गरी व्यवस्थित प्रणाली विकास गरेको थियो । आयोगको असार मसान्तसम्मको विवरणअनुसार ११ लाख ८० हजार सात सय ६१ परिवारले निवेदन बुझाएका थिए । भूमि आयोगको ७७ वटै जिल्लामा विज्ञसहितको संरचना थियो । सात सय ४३ स्थानीय तहसँग समझदारी भई काम अघि बढिरहेको थियो । ५०१ स्थानीय तहले ३५ दिने सूचना जारी गरी निवेदन÷लगत संकलनको काम गरिसकेका थिए । नौ हजार बिघा जमिन नापजाँच भइसकेको थियो । तीन सय १९ स्थानीय तहमा लगत संकलनको कार्य सकिई, तथ्यांक प्रविष्टिको काम अन्तिम चरणमा पुगेको थियो । एकाएक आयोग विघटन भएसँगै यी काम रोकिएका छन् र स्थानीय सरकार अलमलमा छ ।

सरकारी तथ्यांकअनुसार अहिलेसम्म गठन भएका आयोगले भूमिहीन सुकुम्वासीको समस्या समाधान गर्न सकेका छैनन् । कहिले परिचय–पत्र बाँड्ने कहिले आयोगले सेतो पुर्जा बाँड्ने काम मात्र भएको देखिन्छ । समस्या ज्युँकात्युँ छन् ।
यी आयोग खालि केही राजनीतिक दलका कार्यकर्तालाई राजनीतिक नियुक्ति दिनुमा मात्रै सीमित रहेको आरोप छ । भूमिसँग सम्बन्धित अनुभवी तथा विज्ञहरूको सहभागिता कम, ज्यादा राजनीतिक व्यक्तिको नियुक्तिका कारण पनि समस्या समाधान नभएको आरोप सही पनि हो ।
नेपाल सरकार र राजनीतिक नेतृत्वले पटक–पटक भूमिहीनसँग भूमि सुधार गर्ने र भूमिहीनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । हरेक राजनीतिक दलको घोषणापत्रमा भूमि सुधारका प्रतिबद्धता छन् । गरिब भूमिहीनसँग पटक–पटक सम्झौता गरिएका छन्, तर जतिपटक आयोग बने पनि भूमि समस्या समाधान होला भन्दा झन्–झन् थपिँदै गएको छ ।
२०६१ साल पुसदेखि देशभरिका भूमिहीन, सुकुम्वासी, साना किसान, हलिया, हरुवाचरुवा, कमलरी, मोही किसान, बिर्ता र गुठीपीडितलगायत भूमिसँग सम्बन्धित समस्या भएका परिवार राष्ट्रिय भूमि अधिकार मञ्चमार्फत संगठित छन् । यसबीचमा विभिन्न चरणमा स्थानीय, जिल्ला र राष्ट्रियस्तरमा आन्दोलन भए । पीडितले राज्यको ध्यानाकर्षण गराउन पटक–पटक धर्ना र सभाहरू गरे, तर यसरी पटक–पटक सम्झौता भए पनि अहिलेसम्म तिनको कार्यान्वयन हुन नसक्नु विडम्बना हो।
१ असोज ०६३ मा राष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल र नेपाल सरकार भूमि सुधार तथा व्यवस्था मन्त्रालयबीच पाँचबुँदे सम्झौता भयो । तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभुनारायण चौधरी र पीडितका तर्फबाट राष्ट्रिय भूमि अधिकार मञ्चका तत्कालीन अध्यक्ष बलदेव रामले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
९ जेठ ०६४ मा एक सातासम्म मञ्चको नेतृत्वमा राजधानीमा भेला भई भूमिहीनहरूले तत्कालीन सात दलका कार्यालयमा धर्ना दिएका थिए । यस क्रममा सबै दलले भूमिसुधार गर्ने प्रतिबद्धता पत्र मञ्चलाई दिएका छन् ।
२ मंसिर ०६५ मा तत्कालीन सूचना तथा सञ्चारमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता कृष्णबहादुर महरा र आन्दोलनरत पक्षका तर्फबाट राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालका तत्कालीन अध्यक्ष बलदेव रामले चारबुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
२८ चैत ०६७ मा राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालले उठाएका माग पूरा गर्न भूमिसुधार तथा व्यवस्थामन्त्रीको संयोजकत्वमा आन्दोलनका तर्फबाट तीनसहित सात सदस्यीय कार्यदल गठन भएको थियो । सो कार्यदलले भूमिसुधारका लागि सरकारको ध्यानाकर्षण गराएको थियो ।
९ जेठ ०७१ मा तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर राना र राष्ट्रिय भूमि अधिकार मञ्चका तर्फबाट अध्यक्ष सोमप्रसाद भण्डारीले नौबुँदे सम्झौतापत्रमा हस्ताक्षर गरी भूमिहीनका समस्या समाधान गर्ने सम्झौता भएको थियो । सो सम्झौतापत्रमा रसुवा र नुवाकोटमा रहेको बिर्ता समस्या समाधान र बाँके र बर्दियालगायत देशभर रहेका मोही समस्या समाधान गर्ने विषय उल्लेख थियो ।
यसरी सरकारले पटक–पटक भूमिहीनसँग भूमि सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको भए पनि अहिलेसम्म भूमिसुधार हुन सकेको छैन । यसको मुख्य कारण भनेको पटक–पटक बन्ने आयोगमा दलका कार्यकर्ताहरू मात्र पदाधिकारी हुने, अनुभवी र पीडितका प्रतिनिधिहरू हुन नदिने अभ्यास हो । साथै, यसअघि तीनपटक गठित उच्चस्तरीय वैज्ञानिक भूमिसुधार आयोगको प्रतिवेदन कार्यान्वयन नहुनु र १३ पटकसम्म बनेका आयोगले पूर्ण कार्यकाल काम गर्न नपाउनु पनि हो । र, नयाँ बन्ने सरकारले अघिल्लो सरकारको कामको स्वामित्व ग्रहण नगर्नु पनि भूमि समस्या समाधान नहुनुको मुख्य कारण हो । वर्तमान सरकारले आयोग विघटन गरेर भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीमाथि गम्भीर अन्याय गरेको छ । यसले वर्षाैंदेखि समस्या भोग्दै आएका पीडित परिवारमा थप पीडा दिएको छ ।
लामो संघर्षपछि बनेको नेपालको संविधानले भूमिहीन दलितलाई एकपटकका लागि जग्गा दिने कुरा मौलिक हकमै राखेको छ । संविधानमै भएको व्यवस्थाको समेत उचित कार्यान्वयनमा राजनीतिक दल र राज्य प्रतिबद्ध नहुनु लाजमर्दाे विषय हो ।
यसैले देशभरका भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या यथाशक्य समाधानका लागि वर्तमान सरकारले अधिकार सम्पन्न आयोग तत्काल गठन गर्नुपर्ने आवश्यकता छ । साथै, अघिल्लो आयोगले गरेका सम्पूर्ण कामको स्वामित्व ग्रहण गर्ने कार्य गठन आदेशमै राख्नु उचित हुनेछ । अब बन्ने आयोगले भूमिहीनका सम्पूर्ण समस्या समाधान गर्न पर्याप्त समय पाउने वातावरण सबै दलबाट निर्माण गरिनुपर्छ ।
(सुब्बा राष्ट्रिय भूमि अधिकार मञ्चकी अध्यक्ष हुन् भने नेपाली भूमि अधिकारकर्मी हुन्)