ओलीले एकताको ढोका करिब–करिब बन्द गरेको निष्कर्ष, चलायमान समानान्तर गतिविधि कि नयाँ पार्टी गठनको विकल्प छलफलमा
अध्यक्ष केपी ओलीले एकलौटी विधान संशोधन अगाडि बढाएर पार्टी एकताको ढोका करिब बन्द गरेको निष्कर्षसहित वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ विकल्पका लागि आन्तरिक परामर्श सुरु गरेका छन् । चलायमान समानान्तर गतिविधि कि नयाँ पार्टी गठनको विकल्पबारे तत्काल निर्णयमा पुग्नुपर्ने स्थिति आएको भन्दै नेता नेपालले केन्द्रीय सदस्य, सांसद, जिल्ला र जनसंगठनका नेताहरूसँगको परामर्शलाई तीव्रता दिएका छन् ।
भेट हुन नसकेका जिम्मेवार तहका नेता र जनसंगठनका प्रमुखलाई नेपालले टेलिफोनबाटै नयाँ पार्टीसमेत गठन गर्नुपर्ने अवस्था आएको संकेत गर्दै तयारी अवस्थामा बस्न र दृढतापूर्वक नयाँ निर्णयका पक्षमा उभिने गरी तयार रहन निर्देशनसमेत दिएका छन् ।
बुधबार नेपालले पोलिटब्युरो नेताहरू प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विरोध खतिवडासँग परामर्श गरेका थिए । त्यस्तै, सांसदहरू कल्याणी खड्का, प्रेम आले, गोपालबहादुर बम, पार्वती बिसुंखे, रामकुमारी झाँक्री, डोटीसहित विभिन्न जिल्लाका नेतृत्व र स्थानीय जनप्रतिनिधिसँग परामर्श गरेका थिए । नेपाललाई भेटेका नेता तथा सांसदहरूले एकलौटी विधान संशोधन गरेर एकल निरंकुश अध्यक्ष बन्ने सोचसहित अघि बढेका ओलीले एकताको ढोका बन्द गर्ने गरी आफूहरूका तर्फबाट सम्मानजनक एकताका लागि गरेको प्रस्ताव अस्वीकार गरिसकेको निष्कर्ष सुनाएका थिए । त्यसक्रममा उनले समानान्तर गतिविधिभन्दा नयाँ पार्टी गठनलाई नै बढी प्राथमिकता दिने गरी सुझाब लिएको उनीहरूको भनाइ छ ।
‘अहिलेका लागि समानान्तर गतिविधि बनाउँदै जानुपर्छ भन्ने नै व्यापक मत छ, तर केपी ओलीले एकताको ढोका करिब–करिब बन्द गरिसकेका कारण यही स्थितिलाई कहिलेसम्म रहन दिने भन्ने माधव कमरेडको निष्कर्ष छ,’ बुधबार नेपाललाई भेटेका केन्द्रीय सदस्य तथा सांसद जीवनराम श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘हामीले एकतामा जोड दिएर नमिलेसम्मका लागि संगठनात्मक गतिविधि र बैठक नगर्न आग्रह गरेको कुरालाई सकारात्मक रूपमा रेस्पोन्स गर्नुपर्नेमा एकलौटी विधान संशोधन प्रस्ताव अगाडि बढाएर अध्यक्षमा अधिकार केन्द्रित गर्ने गरी जसरी निरंकुश विधान बनाउन खोजिँदै छ, त्यसबाटै करिब एकताको ढोका बन्द भयो भन्ने उहाँको भनाइ हामीले पाएका छौँ ।’
उनले आफूसहितका नेताहरूले सधैँ समानान्तर गतिविधि भनेर अलमलिएर बस्नेभन्दा कम्युनिस्ट आन्दोलनलाई विसर्जन हुन नदिन नयाँ पार्टी बनाएर जाने विकल्प सोच्न सुझाब दिएकोसमेत जानकारी दिए । ‘हामीले उहाँलाई एकताको ठोस सम्भावना भए साँच्चै एकता नै गर्नुपर्छ, तर छैन भने सधैँ अलमलिएर बस्नु राम्रो हुँदैन, समानान्तर गतिविधि भनेर मात्रै बस्नुहुँदैन, नयाँ पार्टी बनाएरै जानुपर्छ र कम्युनिस्ट आन्दोलनको झन्डा उठाउनुपर्छ, विसर्जन गर्न दिनुहुँदैन । अर्को पक्षले विसर्जन गरे पनि हामी नयाँ पार्टी बनाएर कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउनुपर्छ भन्ने सुझाब दिएका छौँ ।’
नेपाल पक्षले २२ गते सम्पन्न बैठकबाट सम्मानजनक एकता गर्ने निर्णय गर्दै त्यसका लागि संगठनात्मक गतिविधि रोक्न संस्थापन पक्षको ध्यानाकर्षण गराएको थियो । तर, २४ साउनका लागि डाकिएको बैठक रोकिए पनि २५ साउनमा केन्द्रीय कमिटी बैठकबाट अध्यक्षलाई झन् शक्तिशाली बनाउने र महासचिवसहितका पदाधिकारी केन्द्रीय कमिटीबाट मनोनीत गर्ने गरी विधान संशोधन प्रस्तावलाई तलसम्म छलफलका लागि लैजाने निर्णय गरेपछि नेपाल अब एकता नहुने निष्कर्षमा पुगेका छन् ।
उनले निकटस्थलाई नयाँ परिस्थितिबारे स्थायी समिति सदस्यहरूसँग परामर्श गरेर निष्कर्षमा पुग्ने जानकारी गराएका छन् । नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले एकता, समानान्तर गतिविधि या नयाँ पार्टी गठनमध्ये जुनसुकै विकल्पबारे निर्णय गर्ने अधिकार स्थायी समितिलाई दिएको थियो ।
केन्द्रीय सदस्य नीरज आचार्यले पनि नेता नेपाल नयाँ परिस्थितिबारे स्थायी समितिमा छलफल गरेर निष्कर्षमा पुग्ने तयारीमा रहेको बताए । ‘अर्को पक्षले हाम्रो एकताको प्रस्तावलाई त्यति गम्भीरतापूर्वक नलिएका कारण के गर्ने विषयमा टिमभित्रै पनि अनौपचारिक छलफलहरू भइरहेको छ, सम्भवतः माधव कमरेड स्थायी समितिका नेताहरूसँग छलफल गरेरै एउटा निष्कर्षमा पुग्नुहुन्छ,’ आचार्यले भने ।
नेता नेपालले पार्टीलाई विधान संशोधन गरेर एकलौटी र निरंकुश ढंगले चलाउने बाटोमा हिँडाउन खोजेकोमा चिन्तासमेत व्यक्त गरेको नेताहरूको भनाइ छ । उनले पछिल्ला दिनमा अध्यक्ष ओलीसँग निकट रहे पनि मझधारमा रहेर एकताको पक्षमा भूमिका खेल्ने नेताहरूसँग समेत यस विषयमा बेग्लै परामर्श गरिरहेको स्रोतले जनाएको छ । ‘उहाँहरू (संस्थापन पक्ष)ले एकलौटी ढंगले बैठक राखेपछि पार्टी एकताको ढोका बन्द भयो भन्ने नै हामीले बुझेका छौँ । त्यसकारण विकल्प सोच्नुपर्ने अवस्था आएको हो,’ पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले भने, ‘माधव कमरेडले विभिन्न तहसँग विभिन्न तरिकाले परामर्शलाई तीव्रता दिनुभएको छ ।’
नेपालका स्वकीय सचिव मोहन गौतमले केही दिनयता नेपालले देशका विभिन्न क्षेत्रबाट आएका नेता–कार्यकर्तासँग परिस्थितिमा देखिएको फेरबदल र पछिल्ला घटनाक्रमबारे नियमित रूपमा सुझाब लिइरहेको बताए । ‘अधिकांशको सुझाब अब कसैको टाङमुनि छिरेर जान सकिँदैन, त्यसरी जाँदा कम्युनिस्ट आन्दोलन समाप्त हुन्छ, विकल्पमा अगाडि बढौँ भन्नेतिरै जोड छ,’ गौतमले भने, ‘उहाँले सबैतिरका एक तहका नेता–कार्यकर्ताको धारणा बुझिसकेपछि परामर्शका आधारमा निष्कर्षतिर जाने गरी नयाँ धारणा बनाउनुहुनेछ ।’
उता, उपाध्यक्ष भीम रावलले संस्थापन पक्षले एकलौटी रूपमा विधान संशोधन प्रस्ताव अगाडि बढाएपछि मंगलबार सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्य र सांसदहरूसँग छलफल गरेका छन् । रावललाई अधिकांशले ओलीसँग अपमानजनक ढंगले एकता सम्भव नभएकाले धेरै अलमलमा पर्नुभन्दा एउटा नयाँ निष्कर्षमा पुग्न सुझाब दिएको उनीनिकट एक नेताले बताए ।
नयाँ पार्टी नबनेसम्म सरकारमा नजाने नीति
वरिष्ठ नेता नेपाल पक्ष नयाँ पार्टी गठनको विकल्प रोज्नुपर्ने अवस्थामा मात्र अहिलेको सरकारमा सहभागी हुने निष्कर्षमा छ । २२ साउनमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा पनि अधिकांश केन्द्रीय सदस्यले यस्तै धारणा राखेका थिए । ‘यदि हामीले विद्रोह गरेर नयाँ पार्टी बनाएर गयौँ भने मात्र हामी गठबन्धनमा रहन्छौँ र सरकारमा पनि जान्छौँ, पछिल्लो निष्कर्ष यही हो,’ केन्द्रीय सदस्य श्रेष्ठले भने, ‘एकता भयो भने प्रतिपक्षमा रहन्छौँ, अन्यथा धारा ७६ को उपधारा ५ अनुसार सरकार बनेको हुनाले संसद्को निरन्तरता र सरकारको संरक्षणका लागि प्रिभिलेन्ज प्रयोग गर्नैपर्ने स्थिति आयो भने मात्र कानुनी स्थितिलाई पनि ध्यानमा राखेर निर्णयमा पुग्छौँ ।’
एकता जोगाउन आचार्यको अपिल
एमाले सचिव भीम आचार्यले पार्टीमा विभाजनकारी प्रवृत्ति हाबी भएको र पार्टी विभाजनको डिलमा पुगिसकेको भन्दै एकता जोगाउन देशभित्र र बाहिर रहेका सबै कार्यकर्तापंक्तिलाई एकता बचाउने काममा लाग्न अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै आचार्यले एकता पक्षधरहरूमाथि आक्रमण गर्ने र निरुत्साहित गर्ने काम भइरहेको भन्दै एकताका लागि बल प्रदान गर्न सबैमा अपिल गरेका छन् ।
‘हाल पार्टी एकताको कुरा गर्नेहरूमाथि आक्रमण गर्ने, निरुत्साहित–हतोत्साहित गर्न खोज्ने, अनेक आरोप लगाएर बदनाम गर्ने प्रयास भइरहेका छन् । त्यसबाट एकता पक्षधरहरू हतोत्साहित हुनुहँुदैन,’ आचार्यले भनेका छन्, ‘टुटफुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देश–विदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछु ।’
केन्द्रीय कमिटीमा कति छ नेपालको शक्ति ?
१) झलनाथ खनाल– वरिष्ठ नेता
२) माधव नेपाल– वरिष्ठ नेता
३) युवराज ज्ञवाली– उपाध्यक्ष
४) अष्टलक्ष्मी शाक्य– उपाध्यक्ष
५) भीम रावल– उपाध्यक्ष
६) घनश्याम भुसाल– उपमहासचिव
७) भीम आचार्य– सचिव
८) गोकर्ण विष्ट– सचिव
९) योगेश भट्टराई– सचिव
१०) मुकुन्द न्यौपाने– स्थायी समिति सदस्य
११) सुरेन्द्र पाण्डे– स्थायी समिति सदस्य
१२) अमृत बोहरा– पदेन स्थायी समिति सदस्य
पोलिटब्युरो सदस्यहरू
१३) अरुण नेपाल
१४) गंगालाल तुलाधर
१५) नागेन्द्र चौधरी
१६) प्रदीप नेपाल (निष्क्रिय)
१७) प्रकाश ज्वाला
१८) परशुराम मेघी गुरुङ
१९) बेदुराम भुसाल
२०) रघुजी पन्त
२१) राजेन्द्रप्रसाद पाण्डे
२२) रामप्रीत पासवान
२३) डा. विजय पौडेल
२४) श्रीमाया थकाली
वैकल्पिक पोलिटब्युरो सदस्यहरू
२६) गौरा प्रसाईं कोइराला
२७) जगन्नाथ खतिवडा
२८) तुलबहादुर गुरुङ
२९) भागवत विश्वासी
३०) शत्रुधन महतो
केन्द्रीय कमिटी सदस्यहरू
३१) गरिमा शाह
३२) चूडामणि जंगली
३३) जयन्ती राई
३४) जीवन घिमिरे
३५) जीवनराम श्रेष्ठ
३६) टंक कार्की
३७) ठाकुर गैरे
३८) बलदेव चौधरी
३९) ममता गिरी
४०) यज्ञराज सुनुवार
४१) राजेन्द्रकुमार राई
४२) रामकुमारी झाँक्री
४३) लक्ष्मण पौडेल
४४) विजय गुरुङ
४५) विरोध खतिवडा
४६) विश्वनाथ प्याकुरेल
४७) सावित्रा भुसाल
४८) सीता गिरी ओली
४९) सोमप्रसाद पाण्डे
५०) श्रीप्रसाद शाह
१३ फागुन ०७१ मा मनोनीत केन्द्रीय सदस्यहरू
५१) केदार न्यौपाने
५२) कल्याणी खड्का
५३) घनेन्द्र बस्नेत
५४) प्रमेश हमाल
५५) रामकुमार ज्ञवाली
२० फागुन ०७३ मा मनोनीत केन्द्रीय सदस्यहरू
५६) धर्मनाथ साह
५७) यदुवंश झा
५८) रामचन्द्र यादव
५९) रवीन्द्र बैठा
६०) रामचन्द्र साह तेली
६१) रत्नेश्वर गोइत
६२) हरिनारायण महतो
केन्द्रीय कमिटीका वैकल्पिक सदस्यहरू
६३) कृष्ण खनाल
६४) दिनेश राई
६५) धर्मराज निरौला
६६) निरा जैरु
६७) प्रकाश शाह
६८) प्रतापलाल श्रेष्ठ
६९) प्रेमलकुमार खनाल
७०) माधव अर्याल
७१) मेटमणि चौधरी
७२) रचना खड्का
७३) रवीन कोइराला
७४) राजन राई
७५) राजबहादुर बुढा
७६) रामरतीदेवी राम
७७) शेरबहादुर केसी
७८) सुरेन्द्र मानन्धर
७९) हरिबहादुर राई
८०) हंसराज शाही
मनोनीत वैकल्पिक केन्द्रीय सदस्यहरू
८१) खगेन्द्र चुँडाल
८२) झपट रवल
८३) डा. देउमान सम्बाहाङ्फे
८४) देवशंकर पौडेल
८५) भाष्कर काफ्ले
२० फागुन ०७३ मा मनोनीत
८७) सुधीर शाह
८८) सरला यादव