न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने रिट दर्ताबारेको सुनुवाइ राउतको इजलासमा

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण

न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने भन्दै परेको रिट दर्ताबारेको निवेदन न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्चले यसअघि दर्ता गर्न नमिल्ने भन्दै दरपीठ भएको रिट दर्ता हुने–नहुनेबारे न्यायाधीश राउतको इजलास तोकेको हो ।

अधिवक्ता प्रवेश केसीले सार्वजनिक सरोकारको मुद्दाअन्तर्गत सर्वोच्चमा यसबारेको रिट दर्ताका लागि १७ साउनमा निवेदन दिएका थिए । रिटमा ‘न्याय परिषद् ऐन, २०७३ को दफा २९ को उपदफा ३ उपदफा १ र २ मा न्यायाधीशको सम्पत्ति गोप्य राखिनेछ भन्ने प्रावधानले नेपालको संविधानको धारा २७ ले दिएका अधिकार अनुचित रूपले बन्देज लगाएकाले साे प्रावधानलाई बदर गर्न माग गरिएको थियो ।

तर, सर्वोच्चले यो विषय ऐन र कानुनमा नै भएको व्यवस्था भएकाले दर्ता गर्न नमिल्ने भन्दै मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले दरपीठ आदेश दिएका थिए । दरपीठ आदेशविरुद्ध अधिवक्ता केसीले निवेदन दिएपछि एकल इजलासमार्फत टुंगो लाग्ने भएको हो ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार दरपीठविरुद्ध निवेदन परेपछि एकल इजलासमा पेस हुने व्यवस्था छ । इजलासले कैफियत प्रतिवेदन मागेको अवस्थामा दर्ता प्रक्रिया अगाडि बढ्ने र नमागेमा दरपीठ आदेश सदर हुने उनको भनाइ छ । 
 

See More On

सुझावित समाचार