नेप्सेका सिइओ साउद आफ्नै कम्पनीमार्फत अवैधानिक सेयर कारोबारमा

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण

पत्नी सुशीलाका नाममा सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर

साउदपत्नी सुशीला कम्पनीको सञ्चालक छिन्, कम्पनीको आव ०७४/७५ को अडिट रिपोर्टमा उनको हस्ताक्षर छ

नेप्सेका सिइओ साउदमाथि बुक बिल्डिङमार्फत सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्ट्सको सेयर अगाडि नै लिएर प्रक्रियालाई प्रभावित पारेको आरोप पनि छ । उनले पत्नी सुशीलाको नाममा सर्वोत्तमको १० हजार कित्ता सेयर लिएको देखिन्छ, जुन बोनससमेत थपिएर ११ हजार ९१२ कित्ता पुगेको छ ।

...                                      ...

सेयर बजारको ‘फ्रन्टलाइन’ नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउद आफैँ गैरकानुनी रूपमा सेयर खरिद–बिक्रीमा संलग्न छन् । नियमविपरीत उनको कम्पनीले सेयरको दोस्रो बजारमा लगानी गर्दै आएको छ । 

नेपाल स्टक एक्सचेन्ज कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावली, २०७५ ले नेप्सेका कुनै पनि तहका कर्मचारी वा कर्मचारीको परिवारको नामबाट दोस्रो बजारमा सेयर खरिद गर्न नपाइने व्यवस्था गरेको छ । तर, बजार सञ्चालक नेप्सेको उच्च पदमा आसीन रहेका साउद र उनकी पत्नी सुशीलाकुमारी बोहराको समेत लगानी रहेको चार्टर्ड क्यापिटल एन्ड इन्भेष्टमेन्ट लिमिटेडले प्राथमिक र दोस्रो बजारमा निर्वाध सेयर खरिद–बिक्री गरिरहेको छ । 

नेप्सेका सिइओसमेतको लगानी भएको र पत्नी नै बोर्ड सदस्य रहेको कम्पनीले धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नु गैरकानुनी भएको अधिवक्ता दामोदर तिम्सिनाले बताए । ‘नेप्सेका कर्मचारी वा परिवारका नामबाट दोस्रो बजारमा सेयर खरिद गर्न नपाइने भन्नु उसले लगानी गरेको र आफू सञ्चालक नै रहेको कम्पनीले चाहिँ पाउँछ भन्ने होइन, सोही नियम कम्पनीको हकमा पनि लाग्छ,’ उनले भने । 

चार्टर्ड क्यापिटल एन्ड इन्भेष्टमेन्ट लिमिटेडमा साउदको नाममा ६५,७०० थान सेयर छ, जहाँ उनी नेप्सेमा नियुक्त हुनुअघि अध्यक्ष थिए

साउद २९ असोज ०७४ मा नेप्सेको सिइओ भएका थिए । नेप्सेमा नियुक्ति खानुभन्दा केही समयअघि मात्रै उनले त्यस कम्पनीमा लगानी गरेको कम्पनीका दस्ताबेजहरूले देखाउँछन् । कम्पनी रजिस्ट्रारको कार्यालयमा पेस गरिएको सेयरधनी दर्ता किताबअनुसार साउदले ९ भदौ ०७४ मा चार्टर्ड क्यापिटल एन्ड इन्भेष्टमेन्ट लिमिटेडको ६५ हजार सात सय कित्ता अर्थात् ६५ लाख सात हजार रुपैयाँबराबरको सेयर स्वामित्व लिएका थिए । 

०७४ भदौसम्म साउद नै कम्पनीका अध्यक्ष थिए । नेप्सेमा नियुक्तिसँगै उनी अध्यक्षबाट हटे । त्यसपछि अर्का लगानीकर्ता कमल खरेल अध्यक्ष बने । तर, साउदले पत्नी सुशीलालाई पनि बोर्ड सदस्य बनाए । कम्पनी रजिस्ट्रार कार्यालयमा भएको दस्ताबेजअनुसार चार्टर्ड क्यापिटल एन्ड इन्भेष्टमेन्ट लिमिटेडमा साउद र उनकी श्रीमती दुवैको लगानी कायमै छ । ‘साउदले आफ्नो लगानी बिक्री गरेको वा स्वामित्व परिवर्तन भएको भए कम्पनी रजिस्ट्रारको कार्यालयमा पेस लगत खातामा पनि सेयरधनीको नाम फेरिन्थ्यो,’ उपलब्ध कागजात अध्ययन गरेका अधिवक्ता तिम्सिनाले भने । 

सिइओ साउदको आफ्नो लगानी र पत्नी बोर्ड सदस्य भएको कम्पनीले दोस्रो बजारमा सेयर कारोबार गर्र्नु कम्पनी ऐन, २०६३ को दफा ९२ को पनि विपरीत हुने अधिवक्ता तिम्सिनाको भनाइ छ । दफा ९२ ले कुनै पनि कम्पनीको सञ्चालकले आफू सञ्चालकको पदमा बहाल भएको सात दिनभित्र कम्पनीलाई विभिन्न जानकारी दिनुपर्ने उल्लेख छ । यही दफाको उपदफा ‘ग’ले अन्य कुनै कम्पनीको सञ्चालक रहेका नयाँ बहाल भएको कम्पनीमा सात दिनभित्र जानकारी गराउनुपर्ने उल्लेख छ । कम्पनीले त्यो विवरण कम्पनी रजिस्ट्रारको कार्यालयलाई जानकारी गराउनुपर्छ । तर, साउदले त्यस्तो जानकारी नेप्सेमा गराएका छैनन् । त्यस्तै, केही समयको अन्तरालमा कम्पनीमा श्रीमतीलाई सञ्चालक बनाएर आफ्नो प्रत्यक्ष संलग्नता नदेखिने गरी बाहिरिएको देखिन्छ ।

सिइओ साउदले भने यो विषय पुरानो भएको र अहिले कम्पनीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । उनले भने, ‘पहिलो कुरा त्यो कम्पनीले सेयर मात्रै खरिद गर्दैन,’ उनले भने, ‘त्यसमाथि मैले धेरै अघि त्यो कम्पनी छाडिसकेको छु ।’ तर, कम्पनी रजिस्ट्रार कार्यालयमा पेस कागजात तथा लेखापरीक्षण प्रतिवेदनहरूले साउद र उनकी पत्नी सुशीलाको लगानी रहेको देखाउँछन् । साउद नेप्सेको सिइओमा नियुक्त भएको एक वर्षपछि अर्थात् ०७५ असोजमा कम्पनीको लेखापरीक्षण प्रतिवेदनमा सुशीलाले सञ्चालकको हैसियतमा हस्तक्षर गरेकी छिन् ।

नेप्सेका सिइओले आफू र श्रीमतीले लगानी गरेको कम्पनीमार्फत सेयर कारोबार गर्नु गैरकानुनी भएको वित्त विश्लेषक मुक्ति अर्यालले बताए । ‘हाम्रो मुलुकमा अहिलेसम्म यसरी व्यक्तिगत रूपमा वा संस्थागत रूपमा अथवा नातेदारमार्फत सेयर खरिद गर्न नपाइने व्यवस्था छ,’ उनले भने, ‘त्यसैले यसरी गरिने कारोबारलाई स्वार्थ बाझिने कारोबारका रूपमा बुझिन्छ ।’ नियमले वर्जित हुँदाहुँदै कारोबार गर्ने प्रवृत्तिले सोझा लगानीकर्तालाई मूल्य पासोमा पार्ने, भित्री सूचनाको आधारमा पहुँचवालाहरूले बजारबाट लाभ उठाउने अवस्था बन्ने अर्यालको भनाइ छ । 

अन्तर्राष्ट्रिय बजारमा बजार सञ्चालक तथा नियामकहरूले सेयर खरिद गर्न पाउने व्यवस्था रहे पनि त्यसरी खरिद गरिएको सेयर निश्चित समयसम्म बिक्री गर्न नपाइने, लगानी रहेका कम्पनीहरूको निर्णय प्रक्रियामा प्रभाव पर्ने अवस्थामा निश्चित समयसम्म जिम्मेवारी नदिइनेलगायतका प्रावधान रहेको अर्यालले बताए । 

सेयर विश्लेषक तथा लगानीकर्ता रवीन्द्र भट्टराईले पनि साउदको लगानी भएको कम्पनीले कुनै सेयर किन्नु वा बेच्नुअघि धितोपत्र बोर्ड र नेप्सेलाई जानकारी नदिए गैरकानुनी हुने बताए । ‘त्यसरी सेयर किनबेच गरेको जानकारी ब्रोकरलाई पनि गराउनुपर्छ, उसले नेप्से र सेबोनमा रिपोर्टिङ गर्छ,’ उनले भने । तर, नेप्से र धितोपत्र बोर्डका अधिकारीहरूले साउद संलग्न कम्पनीले सेयर खरिद–बिक्रीको सूचना दिएको विषयमा जानकारी नभएको बताए । 

पत्नीका नाममा सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर
नेप्सेका सिइओ साउदमाथि बुक बिल्डिङमार्फत सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टस्को सेयर अगाडि नै लिएर प्रक्रियालाई प्रभावित पारेको आरोप पनि छ । उनले पत्नी सुशीलाको नाममा सर्वोत्तमको १० हजार कित्ता सेयर लिएको देखिन्छ, जुन बोनससमेत थपिएर ११ हजार नौ सय १२ कित्ता पुगेको छ । 

बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणलाई महँगोमा सेयर बेच्न लागेको सर्वोत्तम सिमेन्टमा साउदले पत्नीको नाममा सेयर खरिद गर्नुलाई पनि भित्री कारोबारकै रूपमा लिनुपर्ने विश्लेषक भट्टराईले बताए । ‘अहिले ओभर दी काउन्टर (ओटिसी)बाट सर्वोत्तमको सेयर खरिद गरेकाले स्वार्थ नबाझिने तर्क नेप्से र धितोपत्र बोर्डका अधिकारीहरूले दाबी गर्न थालेका छन्,’ उनले भने, ‘तर, हाम्रोमा नेप्सेले नै ओटिसी बजार पनि सञ्चालन गर्ने हुनाले सीधा स्वार्थ बाझिन्छ ।’ 

नेप्सेको सिइओ भइसकेपछि पनि साउदको कम्पनीबाट निरन्तर कारोबार

नेप्सेका सिइओ साउद लगानीकर्ता रहेको चार्टर्ड क्यापिटल एन्ड इन्भेस्टमेन्टको प्रतिवेदनअनुसार आव ०७३/७४ मा ३९ लाख ९८ हजार रुपैयाँको सेयर बिक्री गरेको कम्पनीसँग त्यस वर्ष ३६ वटा कम्पनी तथा सामूहिक लगानी कोषको नौ करोड ३४ लाखबराबरको सेयर थियो । त्यस वर्ष सिटिजन्स, नेपाल बंगलादेश, लक्ष्मी र सानिमा बैंकको सेयर खरिद गर्न कम्पनीले २१ लाख अग्रिम संकलन गरेको थियो । 

आव ०७४/७५ मा भने कम्पनीसँग ३८ कम्पनी तथा सामूहिक लगानी कोषको तीन करोड ८९ लाखको सेयर बाँकी रहेको देखिन्छ । कम्पनीले लगानी गरेको सेयरको मूल्य ६ करोड ५८ लाख भए पनि मूल्य घटेका कारण सेयर लगानी रकम कम भएको प्रतिवेदनमा उल्लेख छ । सो वर्ष कम्पनीले दुई करोडको जग्गा खरिद गर्न, नेपाल इन्स्योरेन्स, कुमारी बैंक र भार्गव विकास बैंकको सेयर किन्न लगानीकर्ताहरूसँग दुई करोड ४५ लाख अग्रिम उठाएको थियो । कम्पनीले त्यस वर्ष दुई करोड ४१ लाख रुपैयाँको सेयर बिक्रीसमेत गरेको थियो । यद्यपि, कम्पनी त्यो वर्ष चार करोड २८ लाख घाटामा रहेको कागजपत्रले देखाउँछ । 

साउद नेप्सेको सिइओ रहेकै अवधिमा चार्टर्ड क्यापिटल एन्ड इन्भेस्टमेन्टले १४ कम्पनीका १४ हजार ३७ कित्ता सेयर खरिद गरेको ०७५ असारको प्रतिवेदनले देखाउँछ । कम्पनीले ती सेयरका लागि ७० लाख ३६ हजार लगानी गरेको थियो । मेगा, सानिमा, सिद्धार्थ बैंक, नेपाल एसबिआईलगायतका बैंक र सानो परिमाणमा स्वरोजगार, मिर्मिरे, नेसनल, एनएमबी माइक्रोलगायतको सेयर खरिद गरेको देखिन्छ ।

कम्पनी ऐन र धितोपत्रसम्बन्धी ऐनको बर्खिलाप हुन्छ : दामोदर तिम्सिना अधिवक्ता

कम्पनी ऐनले समान उद्देश्य भएको आधारभूत (पाँच प्रतिशतभन्दा बढी स्वामित्व हुने) सेयरधनीले अन्य कम्पनीको लेखापरीक्षक, कर्मचारी वा सञ्चालकका रूपमा नियुक्त नै हुन नसक्ने व्यवस्था गरेको छ । विशेषगरी त्यस्ता व्यक्तिसँग कम्पनीसम्बन्धी भित्री जानकारी हुने भएकाले रोक लगाइएको हो ।

त्यस्तै, सञ्चालकको सम्बन्ध रहेको कम्पनीसँग कारोबार गर्न नपाइने व्यवस्था पनि गरिएको छ । यो विषयमा दुई कम्पनीबीच सेवा वा वस्तु, ठेक्कापट्टामा आफू वा आफ्नो नातेदारको संलग्नतामा कारोबार गर्न पाइँदैन भन्ने छ ।

आफू वा नातेदारको स्वार्थ बाझिने संस्थामा रहेको भए आफ्नो कम्पनीलाई त्यसको जानकारी १५ दिनभित्र दिन र सो कम्पनीले यो सूचना कम्पनी रजिस्ट्रारको कार्यालयलाई सात दिनभित्र दिनुपर्छ भनेर ऐनमा भनिएको छ । यस्तो गरे नैतिक रूपमा प्रश्न उठ्ने मात्र होइन, कानुनी रूपमा पनि दोषी मानिन्छ । 

त्यस्तै, धितोपत्रसम्बन्धी ऐनको दफा ९१ मा पनि ‘कुनै व्यक्तिले धितोपत्रको मूल्यमा असर पार्न सक्ने सार्वजनिक नभएका भित्री सूचना वा जानकारीका आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरूलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्यपालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ’ भनेर उल्लेख गरेको छ ।

धितोपत्रकै विषयमा पनि बजार सञ्चालकको प्रमुख अर्थात् सिइओसँग यस्तो भित्री सूचनामा पहुँच हुँदैन भन्न सकिँदैन । आफ्नो शक्ति प्रयोग गरेर पनि भित्री सूचना प्राप्त गर्न सक्छ । त्यसैले यसरी सूचनामा पहुँच हुने व्यक्तिले नै कुनै कम्पनीमार्फत कारोबार गरिरहेको छ भने यसले भित्री कारोबार भइरहेको मान्न सकिन्छ ।

See More On

सुझावित समाचार