दार्चुला घटना : सात दिनपछि घटनास्थल पुग्यो सरकारी टोली

शुक्रबार, २२ साउन, २०७८
डिजिटल संस्करण

एसएसबीकै सुरक्षामा घटनास्थल पुग्यो सरकारी टोली

भारतपट्टि तुइन बाँधिएको रुखको अवलोकन गर्दै छानबिन टोली

तुइन तर्दै गर्दा एसएसबीका जवानले डोरी फुकालेर नेपाली युवा बेपत्ता भएको घटना छानबिन गर्न काठमाडौंबाट आएको टोली एसएसबीकै सुरक्षामा बिहीबार भारतपट्टिको घटनास्थल पुगेको छ । सात दिनपछि टोली घटनास्थल पुगेको हो । 

गत १५ साउनमा सदरमुकाम खलंगा आउन तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकालिदिएपछि व्याँस गाउँपालिका– २ मालगाउँका जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए । घटना छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठन गरेको टोली मंगलबार साँझ दार्चुला पुगेको थियो । बिहीबार बिहान टोली सीमावर्ती भारतीय बजार धार्चुला हुँदै घटनास्थल गस्कु–मालघाट पुगेको हो । 

छानबिन टोलीलाई धार्चुलाबाटै एसएसबीले सुरक्षा दिएको थियो । एसएसबीको ११ नम्बर बाहिनी डिडीहाटका सिओ महेन्द्रप्रताप सिंह नेतृत्वको टोली उनीहरूसँगै थियो । दार्चुलाबाट सशस्त्र प्रहरीका एसपी नरेन्द्र बम र नेपाल प्रहरीका डिएसपी मनोहरप्रसाद भट्ट पनि टोलीसँगै घटनास्थल गएका थिए । 

टोलीले तुइन बाँधिएको रूखको नापजाँच लिएको छ । यसअघि जिल्लाबाट खटिएको अनुसन्धान टोलीले दिएको विवरणअनुसार घटनास्थलको निरीक्षण गरिएको टोली सदस्य तथा दार्चुलाका सहायक सिडिओ ज्योत्सना भट्ट जोशीले बताइन् । 

पारि नेपालपट्टि स्थानीय बासिन्दा र विप्लव माओवादीको नाराबाजी

नेपालपट्टि आएर छानबिन गर्नुपर्ने भन्दै प्रदर्शनमा गरिरहेका स्थानीय

छानबिन टोली घटनास्थल पुग्दा पारि नेपालपट्टि भने स्थानीय बासिन्दा र विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले नाराबाजी गरेका थिए । ‘अपराधमा संलग्न एसएसबीसँगै गएर अनुसन्धान गर्नुको औचित्य नभएको’ भन्दै उनीहरूले तुइन लगाइएको ठाउँमै आएर प्रदर्शन गरेका थिए । पारिपट्टिबाट राष्ट्रिय झन्डा देखाउँदै उनीहरूले नेपालतर्फ आएर पनि अनुसन्धान गर्न माग गरेका छन् ।

महाकाली तर्न नेपालतिर काठको खाँबो गाडिएको छ भने भारततर्फ टुडीको रूख छ । तर, अहिले दुवैतर्फ तार छैन । एसएसबीले रूखबाट तार फुकालेको हो वा काटेको हो भन्ने देखिने प्रमाण केही नभएको अधिकारीहरूको भनाइ छ । महाकाली नदी वारिपारि झन्डै ४५ मिटरको दूरी छ । 

दार्चुलाकी सहायक सिडिओ जोशीले छानबिन टोली घटनास्थल भएको ठाउँबाटै फर्किएको बताइन् । ‘भारतीय एसएसबीले सहजीकरण मात्रै गरिदिएको हो,’ उनले भनिन्, ‘त्योबाहेक अन्य विषयमा छलफल भएको छैन ।’ 

विप्लव नेतृत्वको नेकपाका जिल्ला सचिव सुवास मल्लले सरकारी टोलीले छानबिनको नाटक मात्रै गरेको आरोप लगाए । ‘एसएसबीले नै घटना गराउने अनि उनीहरूसँगै गएर अनुसन्धान गर्नुको कुनै औचित्य छैन,’ उनले भने, ‘आफ्नो भूमिमा पाइला नटेकेर एसएसबीकै इसारामा प्रतिवेदन बनाउन यो नाटक गरिएको हो । त्यसको जनताले नै विरोध गरेका हुन् ।’

सहायक सिडिओ जोशीले भने नेपालतिरबाट पनि प्रमाण संकलनको काम भइरहेको बताइन् । ‘समितिका संयोजकज्यूले नेपालपट्टि पनि जानुपर्छ भन्नुभएको छ, तर बाटोको अवस्था राम्रो छैन । हेलिकोप्टरको व्यवस्थापन गरेर भए पनि पुग्नुपर्छ भन्ने आशय छ, तर टुंगो लागिसकेको छैन । जाने–नजाने संयोजकज्यूको निर्णयअनुसार हुने हो,’ उनले भनिन् । 

गृह मन्त्रालयका सहसचिव गौतम नेतृत्वको छानबिन समितिमा सुदूरपश्चिम प्रदेशका एआइजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक सिडिओ जोशी सदस्य छन् । दार्चुलाबाट टोलीसँगै सशस्त्र प्रहरी ४४ नम्बर गणका गणपति नरेन्द्र बम र नेपाल प्रहरीका डिएसपी मनोहरप्रसाद भट्ट पनि घटनास्थल पुगेका थिए । 

घटनास्थलमा क्यामेरा लैजान रोक
समाचार संकलनका लागि गएका पत्रकारलाई एसएसबीले घटनास्थलमा क्यामेरा लैजान रोक लगाएको छ । सुरुमा घटनास्थल जानै रोकिरहेको एसएसबीले अन्तिममा नेपाल–भारत जोड्ने झोलुंगेपुलबाट क्यामेरा नलगीकन मात्रै जान दियो । 

बिहान ९ बजे छानबिन टोली घटनास्थलतर्फ हिँडेपछि दार्चुलाबाट मानव अधिकारकर्मी र पत्रकारको टोली पनि छुट्टै गाडी लिएर गएको थियो । तर, धार्चुलाबाट ६ किलोमिटर माथि दोबाट भन्ने ठाउँमा एसएसबीले उनीहरूलाई घटनास्थल जान नमिल्ने भन्दै फर्काएको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष कृष्णसिंह धामीले बताए । 

पछि नेपाली सुरक्षाकर्मीसँगको समन्वयमा दिउँसो मात्रै पत्रकारहरूलाई घटनास्थल जान दिइयो, तर क्यामेरा लग्न दिइएन । विनाक्यामेरा गएका पत्रकारलाई पनि एसएसबीले तिगरमा फेरि केही समय रोकेको थियो । 

प्रत्यक्षदर्शीलाई प्रहरी सुरक्षामा गाउँ पठाइयो
स्थानीय प्रशासनले बयानका लागि सदरमुकाम झिकाइएका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रंकोली र अनिता धामीलाई बिहीबार गाउँ फिर्ता पठाएको छ । प्रहरी सुरक्षामा नेपालकै बाटो भएर उनीहरूलाई गाउँ पठाइएको हो ।

गत १८ साउनमा सोधपुछका लागि भन्दै उनीहरूलाई दुईजना प्रहरीको निगरानीमा सदरमुकाम ल्याइएको थियो । गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीले बुधबार दिनभरि उनीहरूसँग बयान लिएर राति अबेर आफन्तको जिम्मामा लगाएको थियो ।

तीनैजनालाई बिहीबार बिहान ५ बजे खलंगाबाट गाउँ हिँडाइएको थियो । दस्तखत गर्न छुटेको भन्दै प्रहरीले उनीहरूलाई तिमुरपाटामा रोकाएर दस्तखत गराएको थियो । खलंगामा रहँदा उनीहरूलाई पत्रकार र मानव अधिकारकर्मीसँग भेट्न रोक लगाइएको थियो ।

प्रहरीले उनीहरूलाई गाउँ लैजाँदा एक–दुई अन्य स्थानीय पनि सँगै थिए, तर उनीहरूसँग सम्पर्क गर्न दिइएन । प्रत्यक्षदर्शी र स्थानीयलाई छुट्टाछुट्टै हिँड्न लगाइएको सँगै गएका एक स्थानीयले बताए ।

सुझावित समाचार