नेपाल समूहको बैठक भोलि फेरि बस्ने, १०बुँदेबारे रावलको प्रस्टीकरण, केन्द्रीय सदस्यहरूद्वारा रिपोर्टिङ

बिहिबार, २१ साउन, २०७८
डिजिटल संस्करण

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा नेपालले समसामयिक विषयवस्तु प्रवेश गराएका छन् र उपाध्यक्ष भीम रावलले विषयवस्तुकेन्द्रित ब्रिफिङ गरेका छन् । बिहीबार राजधानीमा सुरु बैठकमा नेपालले अहिलेसम्मका छलफल, राजनीतिक घटनाक्रम र आफ्नो अडानबारे जानकारी गराएका हुन् । 

नेपालले विधि र पद्धति स्थपित गर्न आफू लागिपरेको भन्दै साथ दिने सबैलाई धन्यवाद दिएका छन् । नेपालले समसायिक राजनीतिक विषय बैठकमा प्रवेश गराएको केन्द्रीय सदस्य दिलु पन्तले जानकारी दिइन् । 

पन्तका अनुसार बैठकमा रावलले कार्यदलमा भएको छलफल र १०बुँदे सहमतिबारे जानकारी गराएका छन् । रावलले १०बुँदे सहमति आधारबिन्दु भएको भन्दै त्यसको आधारमा अघि बढ्न सकिने बताएका छन् । असहमति हुँदाहुँदै पनि सहमति गरेको उनले स्पष्ट पारेका छन् । 

बैठकमा केन्द्रीय सदस्यहरूले रिपोर्टिङ गरेका छन् । केन्द्रीय सदस्य निरज आचार्यका अनुसार मिल्नुको विकल्प नभएको औल्याउँदै नेताहरूले सम्मानजनक एकतामा जोड दिएको दिएका छन् ।

उनीहरूले अध्यक्ष केपी ओली पक्षले एकलौटी निर्णय गरेको भन्दै आफूहरूले पनि कमिटी निर्माण गरेर जानुपर्ने सुझाब दिएका छन् । 

तल्लो तहसम्म इमानदार कार्यकर्ताको साथ रहेको भन्दै उनीहरूले चुप लागेर बस्न नहुने र संगठनलाई विस्तार गर्दै अघि बढ्नुपर्ने सुझाब दिएका छन् । सहमतिको नाममा आत्मसमर्पण गर्ने गरी एकतामा जान नहुने उनीहरूको सुझाब छ । 

बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेछ । 
 

सुझावित समाचार