ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगरपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउनका लागि सम्झौता भएको छ । बैंक तथा नगरपालिकाको अगुवाइमा हेफर इन्टरनेसनल नेपाल एवं ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदान कर्जासम्बन्धी सम्झौता भएको हो ।
सम्झौतामा बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका उपप्रमुख जोगलाल भुसाल र तानसेन शाखाका शाखा प्रबन्धक वीरबहादुर सारू तथा नगरपालिकाका मेयर अशोककुमार शाहीले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
सम्झौताअनुसार बैंकले तानसेन नगरपालिकाका विभिन्न ठाउँहरूमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा विभिन्न फलफूलहरूको उत्पादन गर्ने कृषकहरूलाई नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने जनाइएको छ ।
त्यस्तै, उद्यमशील कृषकहरूलाई तानसेन नगरपालिकाको समन्वय तथा ग्रामीण आर्थिक विकास संघको सहजीकरणमा हेफर इन्टरनेसनल नेपालले तालिम तथा प्राविधिक सहयोग प्रदान गर्ने उल्लेख गरिएको छ ।
बैंकले ७६ जिल्लामा २ सय ७३ शाखा, २ सय ४८ एटिएम, २ सय ५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।