बजारमा धमाधम भित्रिँदै नयाँ गाडी

शनिबार, ९ साउन, २०७८
डिजिटल संस्करण

अघिल्लो सरकारले विद्युतीय गाडीमा अन्त:शुल्क खारेज गर्दै भन्सार महसुल घटाएपछि निषेधाज्ञा खुकुलो हुनेबित्तिकै विभिन्न ब्रान्डका विद्युतीय गाडी भित्रिन सुरु

कोभिड–१९ को दोस्रो भेरियन्ट फैलिन नदिन गरिएको निषेधाज्ञा खुकुलो भएसँगै अटो बजारमा धमाधम नयाँ गाडी भित्रिन थालेका छन् । बिस्तारै बजार खुल्न थालेपछि अटो व्यवसायीले नयाँ गाडी भित्र्याउन थालेका हुन् । नयाँ वर्षमा सार्वजनिक गर्ने भनिएका कतिपय गाडीहरू कोभिड फैलिन थालेपछि रोकिन पुगेका थिए । कोभिडले रोकिएका र पाइपलाइनमा रहेका गाडीहरू अहिले धमाधम भित्रिरहेका छन् । 

यसपटक विद्युतीय गाडी बढी भित्रिँदै छन् । अघिल्लो सरकारले विद्युतीय गाडीमा अन्तःशुल्क खारेज गर्दै भन्सार महसुल घटाएपछि निषेधाज्ञा खुकुलो हुनेबित्तिकै विभिन्न ब्रान्डका विद्युतीय गाडी पनि भित्रिन थालेका छन् । जापानिज कम्पनी निसानको विद्युतीय कार ‘लिफ’ सार्वजनिक भइसकेको छ । यहीबीचमा स्कोडा कुसाक पनि सार्वजनिक भइसकेको छ । चिनियाँ कम्पनी ग्रेटवाल मोटर्सका तीनवटा मोडल नेपाली बजारमा सार्वजनिक गरिएको छ । यस्तै, चीनकै बिवाइडी कम्पनीले विद्युतीय कार इ–सिक्सको नयाँ संस्करण भित्र्याएको छ । सिप्रदी ट्रेडिङले निकट भविष्यमै टाटाको बहुप्रतीक्षित नेक्सन इभी पनि बिक्री सुरु गर्दै छ, जसको अहिले नेपाली सडकमा कुदाएर परीक्षण गर्ने काम भइरहेको बताइन्छ । 

जिपको ‘न्यू कम्पास’

अमेरिकन जिपको नेपाली विक्रेता एमएडब्लू लाइफले कम्पासको नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । नयाँ कम्पासमा आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र नयाँ फिचरको लामो सूची रहेको छ । कम्पनीका अनुसार नयाँ भेरियन्ट एसयुभी स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडल एस गरी चार ट्रिम र आठ भेरियन्टमा उपलब्ध छ, जसको मूल्य ८४ लाख ९० हजारदेखि १ करोड ३६ लाख ९० हजारसम्म तोकिएको छ । 

- गाडी : न्यु कम्पास 
- भेरियन्ट : एसयुभी 
- इन्जिन क्षमता : १.४ लिटर र २.० लिटर 
- मूल्य : ८४ लाख ९० हजारदेखि १ करोड ३६ लाख ९० हजार रुपैयाँसम्म

नयाँ कम्पासमा रिभेम्प गरिएको ड्यासबोर्ड, नयाँ एसी भेन्ट, एचभिएसी कन्ट्रोल र बीचमा नयाँ १०.१ इन्चको टचस्क्रिन रहेको छ । सुरक्षाका लागि फ्रिक्वेन्सी ड्याम्पिन सस्पेन्सन, ६ एयरब्याग, एन्टिरोल मिटिगेसन, ट्र्याक्सन कन्ट्रोल, इएससी, हिल स्टार्ट असिस्ट, इबिडीसहितको एबिएस, रेन ब्रेक असिस्ट, पार्किङ सेन्स र आइसोफिक्स चाइल्ड सिड माउन्टलगायत फिचरहरू छन् । 

यो दुईवटा पावर ट्रेनमा उपलब्ध छ । १.४ लिटरको मल्टिएयर टर्बो इन्जिनले अधिकतम १६० एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्नेछ । यो ६ स्पिड म्यानुअल ट्रान्समिसन र ७ स्पिड डिसिटी अटोमेटिक अप्सनमा उपलब्ध हुनेछ ।

यस्तै, २.० लिटर मल्टिजेट टू इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यो ६ स्पिड म्यानुअल ट्रान्समिसन र ९ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । फोरह्विल ड्राइभ डिजेल भेरियन्टमा उपलब्ध हुनेछ, जसमा अटो, स्नो, स्यान्ड र मड गरी चारवटा मोडल उपलब्ध छन् ।

हुन्डाई प्यालिसेड

हुन्डाईको नयाँ एसयुभी प्यालिसेड नेपाल भित्रिएको छ । यो सेभेन सिटर प्रिमियम एसयुभी गाडी हो । हुन्डाई गाडीको नेपाली विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका अनुसार प्यालिसेड कोरियामा उत्पादन भएर नेपाल आएको हो ।

- गाडी : प्यालिसेड
- भेरियन्ट : एसयुभी    
- इन्जिन क्षमता : २.२ लिटर
- मूल्य : २ करोड रुपैयाँ (सुरुवाती)

नेपाली बजारमा प्यालिसेड २.२ लिटरको डिजेल इन्जिनमा उपलब्ध हुनेछ, जसले २ सय पिएस पावर तथा १७५०–२७५० आरपिएम टर्क उत्पादन गर्नेछ । यो एसयुभी ८ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको छ । नेपाली बजारमा यसको सुरुवाती मूल्य २ करोड रुपैयाँ पर्ने कम्पनीको अनुमान छ । 

रेनो काइगर

नेपाली बजारमा रेनोको द अल–न्यू काइगर भित्रिएको छ । रेनो नेपालले काइगरको मूल्य न्यूनतम २८ लाख ४९ हजार रुपैयाँ र अधिकतम ३७ लाख ६९ हजार रुपैयाँ तोकेर बुकिङ खुला गरेको छ । विभिन्न ६ रङमा उपलब्ध रेनो काइगरले आफँैलाई एक स्टनिङ, स्मार्ट र स्पोर्टी बि–एसयुभीका रूपमा स्थापित गरेको कम्पनीको दाबी छ ।

- गाडी : द अल न्यू रेनो काइगर 
- भेरियन्ट : ह्याचब्याक 
- इन्जिन क्षमता : १.० लिटर
- मूल्य : २८ लाख ४९ हजारदेखि ३७ लाख ६९ हजार रुपैयाँसम्म

स्टनिङ डिजाइन स्पोर्टी र मस्कुलर एलिमेन्टहरूका कारण यो गाडी एक सही एसयुभीका रूपमा खडा गरेको बताइएको छ । ग्राहकले चारवटा मोडलहरू आरएक्सआई, आरएक्सएल, आरएक्सटी र आरएक्सजेडबाट आफूलाई मनपर्ने मोडल छनोट गर्न सक्नेछन् ।

यसमा दुईवटा साइड एयरब्यागसँगै ड्राइभर र फ्रन्ट सिट यात्रीका लागि दुईवटा एयरब्याग राखिएका छन् । काइगर पाँच–स्पिड म्यानुअल वा इजी–आर पाँच–स्पिड रोबोटाइज्ड गियरबक्स एएमटीको साथ छ, जसले किफायती मूल्य निर्धारणमा क्लचलेस ड्राइभिङको सुविधा प्रदान गर्छ ।

टाटा नेक्सन इभी

टाटा मोटर्सको नेपाली विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले बहुप्रतीक्षित इलेक्ट्रिक कार टाटा नेक्सन नेपाल भित्र्याएको छ । अहिले नेक्सन इभी सहरी क्षेत्र र राजमार्गमा कुदाएर परीक्षण गर्ने काम भइरहेको छ । कम्तीमा ५ हजार किलोमिटर परीक्षण गरेपछि नेपालमा नेक्सन इभी सार्वजनिक गर्ने कम्पनीको तयारीमा छ ।

अहिले नेपाली बजारमा पेट्रोलियम भेरियन्टको नेक्सन लोकप्रिय छ । सिप्रदीले विद्युतीय कारका लागि आवश्यक चार्जिङ स्टेसन, सर्भिस सेन्टर, दक्ष जनशक्तिलगायतको तयारी पूरा गरेपछि बिक्री सुरु गर्ने योजना बनाएको छ । कम्पनीले पहिलो वर्ष नै देशका विभिन्न ठाउँमा एक दर्जन हाराहारी चार्जिङ स्टेसन बनाउनेछ ।

- गाडी : टाटा नेक्सन इभी   
- भेरियन्ट : एसयुभी    
- ब्याट्री क्षमता : ३०.२ किलोवाट
- माइलेज : ३१२ किलोमिटर
- मूल्य : भारतमा १३.९९ लाखदेखि १५.९९ लाख भारु

नेक्सन इभीमा ३०.२ किलोवाट आवरको लिथियम आयोजन ब्याट्री र ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ । एआरएआईका अनुसार नेक्सन इभी फुल ब्याट्री चार्जमा ३ सय १२ किलोमिटरसम्म कुदाउन सकिने प्रमाणित गरिएको छ ।

तर, गाडीमा भएका सबै इलेक्ट्रोनिक्स डिभाइसको प्रयोग गरेर फुल चार्जमा २ सय १६ किलोमिटर मात्र कुदाउन सकिने विभिन्न एजेन्सीको परीक्षणले देखाएको छ । नेक्सन इभी एक्सएम, नेक्सन इभी एक्सजेड प्लस र नेक्सन इभी एक्सजेड प्लस एलयुएक्स गरी तीन भेरियन्टमा यो गाडी उपलब्ध छ ।

भारतीय बजारमा यस गाडीको मूल्य क्रमशः १३ लाख ९९ हजार, १४ लाख ९९ हजार र १५ लाख ९९ हजार रुपैयाँ रहेको छ । नेपालमा भने अझै नेक्सन इभीको मूल्य सार्वजनिक गरिएको छैन ।

ग्रेटवालको ‘हाभेल एचसिक्स’

नेपालमा ग्रेटवालको तेस्रो जेनेरेसन एसयुभी हाभेल एचसिक्स भित्रिएको छ । आकर्षक डिजाइनमा रहेको यस गाडीमा २.० लिटको टर्बो पेट्रोल इन्जिन छ । गाडीमा उच्च ग्राउन्ड क्लियरेन्स हुनाले खाल्डाखुल्डी भएको सडकमा पनि आरामदायी यात्राको अनुभूति हुन्छ । यसको बाहिरी र भित्री सुन्दरता पनि उत्तिकै बेजोड छ ।

- गाडी : हाभेल एचसिक्स 
- भेरियन्ट : एसयुभी 
- इन्जिन क्षमता : २.० लिटर
- मूल्य : ९७ लाख

पानोरामिक सनरुफ, अटोमेटिक वाइपर, मल्टी फङ्सनल स्टेरिङ, ताररहित चार्जिङलगायत फिचरले गाडी सुसज्जित छ । गाडीमा ८ वटा एयरब्याग, ३६० डिग्री हेर्न मिल्ने क्यामरा, हिलहोल्ड कन्ट्रोललगायत सुरक्षा फिचर छन् । तीनवटा रङमा उपलब्ध यस गाडीको मूल्य ९७ लाख रुपैयाँ तोकिएको छ ।

विद्युतीय  कार ‘निसान लिफ’

निसान गाडीको नेपाली विक्रेता पायोनियर मोटोकर्पले विद्युतीय कार ‘निसान लिफ’ नेपालमा सार्वजनिक गरेर बुकिङ खुला गरेको छ । निसान लिफ विश्वमै सबैभन्दा बढी बिक्री हुने विद्युतीय कारमध्येमा पर्छ । कम्पनीले भर्चुअल माध्यमबाट सेकेन्ड जेनेरेसनको निसान लिफ सार्वजनिक गरेको हो ।

- गाडी : निसान लिफ  
- भेरियन्ट : ह्याचब्याक 
- ब्याट्री : ४० किलोवाट 
- माइलेज : ३११ किलोमिटर
- मूल्य : ५९ लाख ९९ हजार रुपैयाँ

यो कारमा ४० किलोवाट प्रतिघन्टा क्षमताको ब्याट्री जडान गरिएको छ, जसले फुल चार्जमा ३ सय ११ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसको अधिकतम गुड्ने क्षमता प्रतिघन्टा १ सय ४० किलोमिटर रहेको कम्पनीले जनाएको छ ।

यसलाई घरमा डेडिकेटेड वाल आउटलेटबाट १५ देखि १८ घन्टामा र निसानको चार्जिङ स्टेसनबाट ४० देखि ६० मिनेटमा फुल चार्ज गर्न सकिनेछ । यो गाडी विभिन्न चार ड्राइभिङ मोडमा चलाउन सकिन्छ । नेपालमा निसान लिफको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

स्कोडा कुसाक

नेपाली बजारमा स्कोडाको नयाँ एसयुभी कुसाक साउनभित्रै सार्वजनिक गर्ने तयारी छ । स्कोडा कुसाक फक्सवागन ग्रुपको चर्चित एमक्युबी–एओ प्लेटफर्ममा निर्माण गरिएको भारतकै पहिलो एसयुभी हो । यसमा १.० लिटरको टिएसआई रहेको छ, जसले ११५ पिएस पावर र १७५ एनएमको टर्क उत्पन्न गर्नेछ । यो गाडी ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । 

- गाडी : स्कोडा कुसाक 
- भेरियन्ट : एसयुभी    
- इन्जिन क्षमता : १.० लिटर
- मूल्य : ४९ लाख ९० हजारदेखि ६५ लाख ९० हजार रुपैयाँसम्म

गाडीमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ६ स्पिकर साउन्ड सिस्टम, एम्बियन्ट लाइटिङ, कनेक्टेड कार टेक, वायरलेस फोन चार्जर, भेन्टिलेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोलजस्ता फिचर रहेका छन् । सुरक्षाका लागि ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर भ्यू क्यामरासहितको पार्किङ सेन्सर, इबिडीसहितको एबिएस र हिलहोल्ड कन्ट्रोल रहनेछन् । कुसाक एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्ट तथा पाँच फरक कलरमा उपलब्ध हुनेछ ।

पोर पिकअप

ग्रेटवालको पोर पिकअप गाडी एलिट र पाइलट गरी दुई मोडलमा उपलब्ध छ । यसमा रहेको २.० लिटरको डिजेल इन्जिनले १२० किलोवाट शक्ति र ४ सय एनएम टर्क डिस्प्लेसमेन्ट प्रदान गर्ने कम्पनीले जनाएको छ । बढी ग्राउन्ड क्लियरेन्सले नेपाली सडकमा गाडी गुडाउन सहज हुनुका साथै ८४ प्रतिशत उच्च गुणस्तरको स्टिलको बडीले गाडीलाई अधिक भारवहन क्षमता, स्थिरता र मजबुती प्रदान गरेको कम्पनीको दाबी छ । 

- गाडी : पोर पिकअप 
- भेरियन्ट : एसयुभी 
- इन्जिन क्षमता : २.० लिटर
- मूल्य : ६५ लाख

कम्पनीका अनुसार पिकअपमा सनरुफ भएको यो पहिलो गाडी हो । यसमा साँचोरहित स्टार्ट गर्ने सुविधा, ६ तरिकाले मिलाउन सकिने ड्राइभर सिट, ८ वटा एयरब्याग, लेदर सिट, एबिएस, हिलहोल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोलजस्ता विशेषताहरू रहेको जनाइएको छ । यसको प्रारम्भिक मूल्य ६५ लाख रुपैयाँ तोकिएको छ ।

हाभेल जोलियन

ग्रेटवालको एसयुभी हाभेल जोलियन १.५ लिटरको टर्बो पेट्रोल इन्जिन भएको गाडी हो, जसको ११० किलोवाट पावर र २२० एनएम टर्क डिस्प्लेसमेन्टले अधिकतम आउटपुट दिन्छ ।

- गाडी : हाभेल जोलियन 
- भेरियन्ट : एसयुभी 
- इन्जिन क्षमता : १.५ लिटर
- मूल्य : ५५ लाख ५० हजार

चार किसिमको ड्राइभ मोड, इलेक्ट्रिक पार्किङ ब्रेकिङ र ७३ प्रतिशत गुणस्तरको स्टिलबाट बनेको यो गाडी मजबुत र सुरक्षादायी भएको कम्पनीको दाबी छ । यसमा पानोरामिक सनरुफ, अटोमेटिक वाइपर, मल्टी फङ्सनल स्टेरिङ, पैडल सिफ्टर, ६ तरिकाले मिलाउन सक्ने ड्राइभर सिट, ८ वटा एयरब्यागलगायत विलासी फिचर छन् । गाडीमा अगाडि एलइडी लाइट र पछाडि फग लाइट राखिएको छ । ५ कलरमा उपलब्ध यस गाडीको प्रारम्भिक मूल्य ५५ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

विद्युतीय कार ‘न्यू बिवाइडी इ सिक्स’

चिनियाँ विद्युतीय गाडी निर्माता कम्पनी बिवाइडीले सेकेन्ड जेनेरेसनको न्यू बिवाइडी इ सिक्स कार नेपालमा सार्वजनिक गरेको छ । यो गाडीमा ७१.७ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले फुल चार्जमा ५ सय २२ किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ ।

- गाडी : न्यू बिवाइडी इ सिक्स  
- भेरियन्ट : एसयुभी    
- ब्याट्री क्षमता : ७१.७ किलोवाट
- माइलेज : ५२२ किलोमिटर
- मूल्य : ६० लाखदेखि ६६ लाख रुपैयाँसम्म

नेपाल भित्रिएका विभिन्न ब्रान्डका विद्युतीय कारमध्ये न्यू बिवाइडी इ सिक्स सबैभन्दा बढी माइलेज दिने गाडी हुनेछ । सेकेन्ड जेनेरेसनको बिवाइडी इ सिक्स नयाँ डिजाइन, अत्याधुनिक इन्टेरियर, १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, न्यू ब्लेड ब्याट्री र ५८० लिटरको ठूलो बुट स्पेसमा हुनेछ ।

यो गाडी विभिन्न ४ कलरमा उपलब्ध हुनेछ । नेपाली बजारमा न्यू बिवाइडी इ सिक्स अनुमानित ६० लाखदेखि ६६ लाख रुपैयाँसम्म खरिद गर्न सकिने बताइएको छ ।

See More On

सुझावित समाचार