एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सचिवालयले अध्यक्ष केपी ओलीसँग भेट्ने समय तय नभएको स्पष्ट पारेको छ । नेपालका स्वकीय सचिव मोहन गौतमले नेपाल र ओलीबीच भेट नभएको र भेट्ने समयसमेत तय नभएको स्पष्ट पारेका छन् ।
एमाले केन्द्रीय कमिटी बैठकले पार्टी एकताको जिम्मा अध्यक्ष ओलीलाई दिएपछि शीर्ष नेताहरूबीच भेट हुन लागेको चर्चा चलेको थियो । केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष सहभागी भएको थिएन ।
ओलीले बुधबार आयोजित एक कार्यक्रममा नेपाल समूहलाई आममाफी दिने घोषणा गरेका थिए । केन्द्रीय कमिटी बैठकमा पनि ओलीले एकताका लागि हरप्रयास कोसिस गर्ने बताएका थिए ।
विघटित कार्यदलका सदस्यहरू एकताको प्रयासमा निरन्तर लागिरहेका छन् । तर, ओली र नेपालबीच दूरी घट्न सकेको छैन ।