बिपी स्मृति दिवसमा कोइराला निवासमा बलेन दियो

बिहिबार, ७ साउन, २०७८
डिजिटल संस्करण
बिपी स्मृति दिवसमा कोइराला निवासमा बलेन दियो

स्मृति दिवसमा पनि सुनसान कोइरालानिवास

कांग्रेसका संस्थापक बिपी कोइरालाप्रति समग्र कांग्रेस कार्यकर्ताले श्रद्धा गर्छन् । कतिपय कार्यकर्ताले त उनको जन्मघर सिन्धुलीको दुम्जा पुगेर माटोसमेत लिएर जाने गर्छन् । कोइरालाको विराटनगरस्थित निवासको गेटमा पुग्नेहरू पनि श्रद्धाले शिर झुकाउने गर्छन् । 

अघिल्लो वर्षसम्म यहाँ बिपी स्मृति दिवस र जन्मजयन्तीमा बिपीका आदर्शलाई सम्झँदै श्रद्धाञ्जली व्यक्त गरिन्थ्यो । तर, यसपटक मूलढोका बन्द मात्रै रहेन कोठाभित्र रहेको बिपीको तस्बिरमा माला चढाउनेसमेत कोही भएनन् । न त उनलाई सम्झेर कसैले दियो नै बालिदियो ।

तर बिपीको ३९औँ स्मृति दिवस (६ साउन)का दिन भने विराटनगरस्थित कोइराला निवास सुनसान रह्यो । न त यहाँ स्मृति सभा आयोजना भयो न त कुनै कार्यकर्ता नै पुगे । अघिल्लो वर्षसम्म यहाँ बिपी स्मृति दिवस र जन्मजयन्तीमा बिपीका आदर्शलाई सम्झँदै श्रद्धाञ्जली व्यक्त गरिन्थ्यो । तर, यसपटक मूलढोका बन्द मात्रै रहेन कोठाभित्र रहेको बिपीको तस्बिरमा न त माला चढाउनेसमेत कोही भएनन् । न त उनलाई सम्झेर कसैले दियो नै बालिदियो । 

निवासमा बस्दै आएका बिपीका भाइका छोरा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला एक महिनादेखि काठमाडौंमा छन् । उनी हुँदा स्मृति दिवसमा मात्र नभएर जन्मजयन्तीमा पनि सभा र भेटभाट हुने गथ्र्यो । यसपटक परिवारका सदस्य कोही नभएकाले कार्यक्रम नभएको कोइराला निवासकी हेरालु लक्ष्मी सुवेदीले बताइन् । 

कोइरालानिवास बिपीका बाबु कृष्णप्रसाद कोइरालाले निर्माण गरेका हुन् । यो निवासलाई कांग्रेसमा आस्था राख्नेहरूले श्रद्धापूर्वक तीर्थका रूपमा मान्दै आएका छन् । स्व. गिरिजाप्रसाद कोइरालाको रजगज हुँदासम्म विराटनगरस्थित कोइराला निवासमा चहलपहल हुन्थ्यो । उनको मृत्युसँगै क्षीण हुन पुगेको शक्तिको अवसानले कोइरालानिवास सुनसान बन्न पुगेको स्थानीयको भनाइ छ । 

कांग्रेस मोरङले सुनवर्षी नगरपालिकाको डायनियास्थित बिपी सेवा केन्द्रमा बिपी स्मृति दिवस मनाएको छ । सेवा केन्द्र परिसरमा वृक्षरोपण गर्नुका साथै बिपीले देखाएको लोकतान्त्रिक समाजवादको बाटोको विषयमा छलफल गरिएको थियो ।  पार्टीका जिल्ला सभापति डिकबहादुर लिम्बूलगायतले कांग्रेसको १४औँ महाधिवेशन नजिकिएको सन्दर्भमा बिपी विचारको महत्व अझ बढेको चर्चा गरेका थिए ।

सुझावित समाचार