प्रधानमन्त्रीलाई विश्वासको मत नदिने एमालेको निर्णय, अन्य दलका सांसदलाई पनि विपक्षमा उभिन आह्वान

आइतबार, ३ साउन, २०७८
डिजिटल संस्करण

एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले विश्वासको मत दिने सांसदहरू पार्टीमा नरहने बताए । 

एमालेलाई विभाजन गर्न हतारहतारमा संसद् अधिवेशन सुरु भएकै दिन प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेको एमालेको ठहर छ । ‘संसद् बोलाइएको पहिलो दिनमै विश्वासको मत लिने कार्य राखेकाले विभिन्न आशंका र प्रश्नहरू जन्माएको निष्कर्ष बैठकले निकालेको छ,’ ज्ञवालीले भने । 

एमालेले विश्वासको मतको विपक्षमा उभिन अन्य पार्टीका सांसदलाई समेत आग्रह गरेको छ । 

कार्यदलका सदस्यले कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्दै पार्टी एकताको पक्षमा उभिन गरेको आग्रह वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेको पनि ज्ञवालीले बताए । नेपालले आफू एक्लै भए पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको ज्ञवालीले बताए । ज्ञवालीसहित विघटित कार्यदलका सदस्यहरूले आज बिहान नेपालसँग छलफल गरेका थिए ।

सुझावित समाचार