प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन्। पुनर्स्थापित प्रतिनिधिसभाको आजको बैठकमा नै उनले विश्वासको मत लिन लागेका हुन्।
सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार देउवाले कानुन तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्।
संसद् बैठक आज ४ बजे बस्दै छ। देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। अहिले संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ।