देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालनका लागि डिजिटल वालेट सेवा प्रदायक आइएमई पे र मिडिया इन्टरनेसनलबीच सम्झौता भएको छ । मिडिया इन्टरनेसनलको आयोजनामा देशका ७७ वटै जिल्लामा सञ्चालन हुने फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी कार्यक्रमको मुख्य प्रायोजन आइएमई पेले गर्ने सम्झौता भएको हो ।
सम्झौतामा आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मिडिया इन्टरनेसनलका प्रबन्ध निर्देशक माधव निर्दोषले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत नाहाटाले यो कार्यक्रम देशका सबै क्षेत्रमा वित्तीय साक्षरता पुर्याउन सफल हुने विश्वास व्यक्त गरे । प्रबन्ध निर्देशक माधव निर्दोषले आइएमईसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
आइएमई ग्रुपका प्रवक्ता राजु पौडेलले नेपाल सरकारले अघि सारेको ‘डिजिटल नेपाल’ अभियानलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कार्यक्रममा सहभागी भएको बताए । भर्चुअल माध्यमबाट सञ्चालन हुने यस्ता कार्यक्रममा प्रशिक्षण प्रदान गर्नका लागि आइएमईले तालिम तथा प्रशिक्षण विभागका प्रमुख माधव कटुवाललाई जिम्मेवारी दिएको जनाएको छ ।