माओवादी केन्द्रको दर्ता खारेज गर्न निर्वाचन आयोगमा निवेदन

बुधबार, २३ असार, २०७८
डिजिटल संस्करण

एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनीहरूले माओवादी केन्द्रको महाधिवेशन ०६९ पछि हुन नसकेको र यसैका कारण पार्टी अवैधानिक भएको भन्दै दल दर्ता खारेज गर्न निवेदन दिएका हुन् । 

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरणलाई खारेज गरिदिएपछि एमालेतर्फ लागेका पूर्वमाओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, मणि थापालगायतलाई माओवादी केन्द्रले कारबाही गरेको थियो ।  कारबाही अवैधानिक भएको र माओवादी केन्द्रलाई निर्वाचित जनप्रतिनिधिलाई कारबाही गर्ने अधिकार पनि नभएको उनीहरूको दाबी छ । 

निवेदन लिएर पूर्वमाओवादी केन्द्रका नेताहरू लिलबहादुर थापा, रामचन्द्र मण्डल र अधिवक्ता सरोज बुढाथोकी बुधबार निर्वाचन आयोग पुगेका थिए । निर्वाचन आयोगमा निवेदन दर्तापछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता लिलबहादुर थापाले आफूहरू महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई अवैधानिक ढंगले कारबाहीको डण्डा चलाइएको बताए । 

माओवादी केन्द्रले संविधानअनुरूप आफ्नो गतिविधि सञ्चालन नगरी अवैधानिक रूपमा सञ्चालन गरिएकाले दल दर्ता खारेजीको निवेदन दिएको उनले बताए । उनले भने, ‘नेकपा माओवादी केन्द्रको तर्फबाट चारजना संघीय सांसद, नाैजना प्रदेश सांसद र स्थानीय निकायमा निर्वाचित भएका सयौँ प्रतिनिधिमाथि कारबाहीको डण्डा चलाइयो र त्यो कारबाही अवैधानिक छ । पार्टी नै अवैधानिक छ । पार्टी नै संस्थागत भएको छैन । विधिसम्मत छैन । ०६९ माघ २० देखि २६ गते महाधिवेशन भयो । त्यसपछि पार्टीको महाधिवेशन भएको छैन । नाै वर्षसम्म पार्टी महाधिवेशन भएन । निर्वाचन आयोगमा ०७३ सम्म हामी महाधिवेशन गर्छौँ भनियो, तर महाधिवेशन हुन सकेन । ०७३ सालमा के गरियो ? निर्वाचन आयोगमा दर्ता नै नभएका पार्टीहरूलाई कानुनले चिन्दैन, दशवटा पार्टीका बीचमा एकीकरण गरियो भन्ने घोषणा गरियो माओवादी केन्द्रको तर्फबाट । बाबुराम, विप्लव, वैद्यजीहरू अलग हुनुभयो । अलग भएका साथीहरूसमेत जाँदा खासै माओवादीमा रहने तत्व मूलभूत रूपमा त्यहाँभित्र रहेन । फेरि उहाँहरू को–को आउनुभयो ? को–को जानुभयो ? हामी वैधानिक महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हौँ । ती आएका साथीहरूलाई समेत लिएर अवैधानिक ढंगले कारबाहीको डण्डा चलाइयो । त्यसकारणले पार्टीहरू वैधानिक हुनुपर्छ । वैधानिक पार्टीले चलाएको कारबाही मान्नुपर्छ । सबै पार्टी वैधानिक बनोस् भन्ने आजको आवश्यकता हो । आज पार्टीहरू वैधानिक ढंगले चलेनन् । पारदर्शी भएनन् । समावेशिताको आधारलाई कायम गरेनन् ।’

पूर्वमाओवादी नेता रामचन्द्र मण्डलले माओवादी केन्द्रको वैधता समाप्त भएको बताए । पार्टी र पार्टी अध्यक्ष नै अवैधानिक भएकाले निर्वाचित सांसदलाई हटाउन नसक्ने उनले दाबी गरे । 

अधिवक्ता सरोज बुढाथोकीले नेपालको संविधानअनुसार दल दर्तासम्बन्धी कागजात निर्धारित समयमा निर्वाचन आयोगमा बुझाउन नसकेका कारण दल दर्ता कायम नरहने अवस्था रहेको बताए । 

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले माओवादी केन्द्र दल दर्ता खारेजीको माग गर्दै आयोगमा निवेदन आएको पुष्टि गर्दै निवेदनको व्यहोरा सचिवालयमा अध्ययन हुने र अध्ययनपश्चात् आयोगमा पेस गरी आवश्यक निर्णय गर्ने बताए । उनले भने, ‘नेकपा (माओवादी केन्द्र)को नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार हैसियत गुमिसकेको कारणले गर्दा दल दर्ता खारेजी गरिपाऊँ भन्ने निवेदन आयोगमा दर्ता भएको छ । निवेदनमा पेस भएको व्यहोराको सम्बन्धमा सचिवालयमा अध्ययन हुन्छ । अध्ययन भइसकेपछि व्यहोरासहित आयोगमा पेस हुन्छ । र, आयोगले त्यस सन्दर्भमा केही निर्णय गर्छ ।’

सुझावित समाचार