एमाले विवाद समाधानका लागि गठित कार्यदलले विषयकेन्द्रित छलफल थालेको छ । सिंहदरबारमा सोमबार भएको कार्यदलको बैठकमा विषयमा प्रवेश गरेर छलफल गरेको एमाले उपाध्यक्ष एवं माधकुमार नेपाल पक्षबाट कार्यदल संयोजक भीम रावलले जानकारी दिए ।
एमाले पुनर्जीवित भइरहेको अवस्थामा उत्पन्न समस्या कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको उनले बताए ।
कार्यदल सदस्य एवं सचिव गोकर्ण विष्टले पनि विषयकेन्द्रित छलफल भएको बताए । उनले भने, ‘विषयपस्तुमाथि केन्द्रित भएर छलफल भएको छ । सबै नेताले आ–आफ्नोतर्फबाट रायसुझाब राख्नुभएको छ । हिजोभन्दा आज प्रगति भएको छ । छलफल जारी छ, फेरि बसेर अगाडि बढ्छौँ ।’
कार्यदलका अर्का सदस्य रघुजी पन्तले पनि विषयवस्तुकेन्द्रित छलफल सकारात्मक रहेको बताए । उनले भने, ‘छलफल सकारात्मक छ, सबैले सुझाब राख्नुभएको छ ।’
अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले जारी गर्ने भनिएको संयुक्त वक्तव्यको विषयमा भने प्रवेश नै नभएको पन्तले जानकारी दिए ।
२ जेठ ०७५ बाट पार्टीलाई अगाडि बढाउने, सर्वोच्चमा दायर रिट र फैसलापछि पार्टीलाई अगाडि बढाउने विषयमा केन्द्रित भएर छलफल भइरहेको छ । बुधबार पनि छलफल हुने पन्तले बताए ।