छिमेकी चीनको कम्युनिस्ट पार्टी (सिपिसी)ले बिहीबार सयौँ स्थापना दिवस मनाउँदै छ । सिपिसीका महासचिव एवं चीनका राष्ट्रपतिले बिहीबार आयोजना हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्दै छन् । एक शताब्दीको वर्षगाँठका अवसरमा चिनियाँ समाचार एजेन्सी सिन्ह्वाको थिंकट्यांक न्यु चाइना रिसर्चद्वारा ८४ पृष्ठको संक्षिप्त प्रतिवेदनमा राष्ट्रपति सीले भनेका छन्, ‘इतिहासले पर्याप्त प्रमाण उपलब्ध गराइदिएको छ कि राज्य जनता हुन् र जनता नै राज्य हो । जनताको समर्थन लिने वा गुमाउने भन्नेले नै पार्टीको अस्तित्व वा समाप्तिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । जनताको विश्वास र समर्थनबाट नै पार्टीले सबै चुनौतीबाट विजय हासिल गर्दछ र पार्टी अजेय हुन्छ ।’ प्रतिवेदनले राजनीतिक दलहरूको करिब तीन सय वर्षको विश्वइतिहासमा सिपिसीले बेग्लै छाप छाडेको दाबी गरेको छ ।
सन् १९२१ मा सांघाईमा विधिवत् स्थापना भएको पार्टीले २८औँ वर्षमा चीनमा क्रान्ति सम्पन्न गरेर सत्ता सञ्चालन आरम्भ गरेको थियो । सन् १९९१ मा सोभियत संघ ढल्दा सिपिसीले चीनमा शासन सम्हालेको ४२ वर्ष हुँदै थियो । त्यसवेलासम्म सिपिसी भने ७० वर्षमा टेकेको थियो । सिपिसी स्थापनाको चार वर्षपछि मात्रै भियतनाम र क्युबामा १९२५ मा कम्युनिस्ट पार्टी स्थापना भए । ‘सिपिसीको २८ वर्षे क्रान्तिका दौरानमा ३७ लाख पार्टी कार्यकर्ताले शहादत प्राप्त गरेका छन्,’ सिपिसीको प्रतिवेदनमा भनिएको छ । गरिबीको दुस्चक्रमा फसेको चीनले ७२ वर्षमा सिपिसीको नेतृत्वमा विश्वको शक्तिशाली मुलुकका रूपमा उभ्याएको छ ।
सुरुमा माक्र्सवाद, लेनिनवाद, रुसको अक्टोबर आन्दोलन तथा कम्युनिस्ट आन्दोलनबाट प्रभावित भएका करिब ५० जनाको समूहले पार्टी स्थापना गरेको थियो । अहिले नौ करोड १० लाख पार्टी सदस्य छन् जहाँ महिलाको संख्या मात्रै अढाई करोड छ । पार्टीका सातजना स्थायी समिति सदस्यले एक अर्ब ४० करोड जनसंख्यामाथि शासन सञ्चालन गर्ने गरेका छन् । सिपिसीमा महासचिवसहित सातजना स्थायी समिति सदस्य छन् । उनीहरू २५ जना पोलिटब्युरो सदस्यबाट चुनिन्छन् । जम्मा तीन सय ८० जना केन्द्रीय सदस्य छन्, उनीहरूले पोलिटब्युरो सदस्य छनोट गर्छन् । सिपिसीको २३ सय सदस्यीय राष्ट्रिय पार्टी भेलाबाट केन्द्रीय सदस्य छानिन्छन् । चिनियाँ राष्ट्रपतिको मातहतमा पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (राष्ट्रिय सभाजस्तो) तथा नेसनल पिपुल्स कंग्रेस (प्रतिनिधिसभाजस्तो) स्थापित छन् । तल्लो सदनअन्तर्गत सर्वोच्च जनअदालत, राष्ट्रिय सैन्य आयोग, स्टेट काउन्सिललगायतका निकाय छन् ।
बेलायतका समाजशास्त्री मार्टिन एल्ब्रोले भनेका छन्, ‘सय वर्षमा सिपिसीको उपलब्धिले चीनको विशाल रूपान्तरणको मुडलाई प्रतिनिधत्व गर्दछ ।’ सिपिसीले अविच्छिन्न सत्ता सञ्चालन गरेको ७२ वर्ष भएको छ । पार्टी तथा सत्ता सञ्चालनको ७२ वर्षमा (सिपिसी)ले एक सय ६० देशका पाँच सय ६० राजनीतिक दलसँग नियमित सम्पर्क–सम्बन्ध स्थापित गरेको छ । सिपिसी अन्तर्राष्ट्रिय विभागका उपप्रमुख गुओ येझोउका अनुसार पार्टी स्थापनाका अवसरमा विश्वका सरकार एवं विभिन्न निकायबाट हालसम्म कम्तीमा १३ सय बधाई सन्देशसहित औपचारिक पत्र पुगेको छ ।

उपप्रमुख गुओले भनेका छन्, ‘यसबीचमा सिपिसीले विश्वभरि मित्र बनाएको छ,’ सिपिसीको नेतृत्वमा चीन ७२ वर्षमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ भने यतिवेला मुख्य विश्वशक्तिका रूपमा चीन उदाएको छ । सिपिसीले सत्तारोहण गरेको सयौँ वर्षगाँठ २०४९ मा पुग्ने वेलामा चीनलाई आधुनिक समाजवादी मुलुकमा रूपान्तरण गर्ने आधारशिला बनाइरहेको छ ।
चिनियाँ मान्यता छ– हरेक संकटमा सिपिसीका कार्यकर्ता उभिन्छन् र पार लगाउँछन् । चिनियाँ पार्टीका केही रोचक विशेषता छन्– अनुशासन उल्लंघन गरेमा पाँच प्रकारको कारबाही भोग्नुपर्छ । पार्टी सदस्यलाई कम्युनिज्मभन्दा बाहेक धर्म अपनाउने छुट छैन । पार्टी सदस्यता शुल्क ६ महिनाभित्र अनिवार्य रूपमा बुझाउनुपर्नेछ । हरेक तहमा पार्टीको नेतृत्वले सरकारमाथि अनुगमन गर्ने प्रणाली छ । पार्टी कमिटीको निर्णय सरकारले कार्यान्वयन गर्नुपर्छ । पार्टीमा १८ वर्ष पुगेपछि मात्रै प्रवेश गर्नुुपर्छ र पार्टी सदस्यको अठोट जनताको सेवा हुनुपर्नेछ ।
सन् १९९९ को वसन्तमा नेटोको सैन्य जहाज तत्कालीन युगोस्लाभियाको राजधानी बेलग्रेड पुगेर भारी हवाई हमला गरेको तथा १० हजार सर्वसाधारणलाई अनाहकमा मारेर फर्केको सन्दर्भ न्यु चाइना रिसर्चको प्रतिवेदनमा छ । प्रतिवेदनमा यो पनि उल्लेख छ, ‘त्यसको २२ वर्षपछि त्यही सहर (हाल सर्बियाको राजधानी)मा कोभिड– १९ विरुद्धको खोप लिएर चिनियाँ जहाज पुगे जहाँ सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले विमानस्थलमा भव्य स्वागत गरे ।
चीनले निर्माण गरेको तान्जानिया–जाम्बिया जोड्ने रेलमार्ग निर्माण सन् १९७६ देखि सञ्चालनमा आयो । यसलाई मित्रताको मार्ग वा स्वतन्त्रताको सडक भनियो । २१औँ शताब्दीमा चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ प्रस्ताव गरेको छ र एक सय ६० मुलुकले सहकार्यको हात अघि बढाएका छन् । विश्व बैंकको एक प्रतिवेदनका अनुसार सन् २०३० सम्म बिआरआई प्रयासअन्तर्गत विश्वका ७६ लाख जनता अति गरिबीबाट माथि उठ्नेछन् भने औसत गरिबीबाट तीन करोड २० लाख मानिस माथि उठ्नेछन् ।
चीनको प्रयासमा स्थापित एसियन पूर्वाधार विकास बैंक (एआइआइबी)मा ५७ वटा संस्थापक मुलुक छन् भने ६ महादेशका एक सय तीन मुलुक सदस्य छन् ।
चीनले कोरोना महामारीको बीचमा सयभन्दा बढी मुलुकमा कोभिडविरुद्धको खोप पु¥याइसकेको छ । ४० करोड मध्यम वर्ग रहेको चीनले विभिन्न मुलुकलाई वार्षिक रूपमा दिने वैदेशिक अनुदान करिब चार खर्ब युयान पुगेको छ । विश्वका करिब पाँच हजार परियोजनामा चीनको लगानी रहेकोमा तीन हजार परियोजना सम्पन्न भइसकेका छन् । विकासशील मुलुकका दुई लाख ६० हजार विभिन्न जनशक्तिलाई उसले तालिम दिइसकेको छ ।
चीनले ७२ वर्षमा विकासमा चमत्कार गरेको छ । सन् १९४९ मा २१ हजार आठ सय किलोमिटर रेलवे लाइन भएको चीनमा अहिले एक लाख ४६ हजार किलोमिटर लामो रेलवे लाइन बनिसकेको छ । ३८ हजार किलोमिटर लामो हाइस्पिड रेलवे लाइन पनि निर्माण भइसकेको छ ।
पछिल्लोपटक राष्ट्रपति सीको नेतृत्वमा एक लाख २८ हजार गाउँ तथा आठ सय ३२ काउन्टी (जिल्लाजस्तो इकाइ)का जनता गरिबीबाट मुक्त भएको चिनियाँ कम्युनिस्ट पार्टीले उल्लेख गरेको छ । जम्मा नौ करोड ८९ लाख ९० हजार जनता गरिबीबाट मुक्त भएको सिपिसीले यही महिना प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।
सिपिसीको नेपाल साइनो
नेपालका कम्युनिस्ट पार्टीसँग मात्र होइन, नेपाली कांग्रेस र राजसंस्थासँग सुरुदेखि चिनियाँ कम्युनिस्ट पार्टीले सम्बन्ध राख्दै आएको छ । कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव केशरजंग रायमाझीदेखि मनमोहन अधिकारीसम्म, माधवकुमार नेपाल, केपी ओली, पुष्पकमल दाहाल मात्र होइन, चिनियाँ कम्युनिस्ट पार्टी मोहन वैद्य, नारायणमान बिजुक्छे र सिपी मैनालीहरूसँग पनि सम्पर्कमा छ । नेपालका सबै पार्टी र पक्षसँग चिनियाँ कम्युनिस्ट पार्टी तथा चीन सरकारले सम्बन्ध राख्दै आएका छन् ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना हुनुअघि नै नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन नेता गौरीभक्त प्रधान सन् १९५३ मा चिनियाँ गुरिल्ला तालिम लिन बेइजिङ गएका थिए । प्रधानको निधन भइसकेको छ । नेकपाका संस्थापक नेता पुष्पलाल, नरबहादुर कर्माचार्य, तत्कालीन महासचिव मनमोहन अधिकारी, माले महासचिव सिपी मैनाली, एमाले नेताहरू जीवराज आश्रित, माधवकुमार नेपाल, ईश्वर पोखरेल, अमृतकुमार बोहरा पञ्चायतकालीन समयमा चीन भ्रमण गरेर सिपिसी नेताहरूसँग छलफल गरेका थिए । एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी, मालेका तत्कालीन महासचिव झलनाथ खनाल, माओवादी अध्यक्ष प्रचण्डलगायतले पनि सिपिसीको निमन्त्रणामा चीन गएर राजनीतिक छलफल गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीभन्दा नेपालका कम्युनिस्ट र कांग्रेस कम्तीमा पनि २५ वर्ष कान्छा हुन् ।
राष्ट्रपति सीलाई शीर्ष नेताको सन्देश
सिपिसीको सयौँ स्थापना दिवसका अवसरमा नेपालका शीर्ष नेताहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई शुभकामना पठाएका छन् । प्रधानमन्त्री ओलीले पठाएको सन्देशमा एकता, ऊर्जा र सिर्जनशीलतालाई प्रयोग गरेर चिनियाँ कम्युनिस्ट पार्टीले मुलुकको रूपान्तरण गर्न सफल भएको उल्लेख गरेका छन् । ओलीले माक्र्सवाद–लेनिनवाद, माओ विचारधारा, देङ सिद्धान्तदेखि ‘नयाँ युगका निम्ति चिनियाँ विशेषताको समाजवादसहित सी जिनपिङ विचारधारा’ अँगालेर सिपिसीले आपूmलाई रूपान्तरण गर्दै लगेको उल्लेख गरेका छन् ।
उनले निकट छिमेकीका रूपमा नेपाल चीनको आर्थिक विकासको प्रवाहमा मिलेर अघि बढ्न चाहेको पनि बताएका छन् । एमाले चीनको असल मित्र भएको पनि ओलीको भनाइ छ । पूर्वप्रधानमन्त्री एवं एमाले नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पनि राष्ट्रपति सीलाई सन्देश पठाएका छन् र उनीहरूले बिआरआईलगायत चीनको पछिल्लो प्रयासको प्रशंसा गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति सीलाई पठाएको सन्देशमा सिपिसीको नेतृत्वमा चीनले आर्थिक र प्राविधिक क्षेत्रमा गरेको रूपान्तरण आउने पुस्ताका लागि पनि अनुकरणीय हुने बताएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सिपिसी र कांग्रेसबीच परम्परागत सम्बन्धको चर्चा गर्दै कांग्रेस एक चीन नीतिप्रति प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गरेका छन् । नेपालमा चीनविरोधी गतिविधि गर्न नदिइने उनको प्रतिबद्धता छ । कांग्रेस महामन्त्री शशांक कोइराला, नेता डा. नारायण खड्का, नेतृ सुजाता कोइरालाले पनि सन्देश पठाएका छन् । कांग्रेस नेताहरूले सिपिसी नेतृत्वमा भएको प्रभावशाली आर्थिक प्रगति तथा सामाजिक परिवर्तनलाई उदाहरणीय भन्दै प्रशंसा गरेका छन् । आर्थिक समृद्धि, गरिबी निवारण, विज्ञान तथा प्रविधिको अन्वेषण एवं विकासमा चिनियाँ प्रगतिको सबैले सराहना गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध, नयाँ जनवादी क्रान्ति, गाउँबाट सहर घेराउजस्ता द्वन्द्वकालीन नीति चिनियाँ कम्युनिस्ट पार्टीबाटै अनुशरण गरेको उल्लेख गरेका छन् । प्रचण्डले द्वन्द्वको शान्तिपूर्ण समाधान, अरूको आन्तरिक मामिलामा अहस्तक्षेप, वैश्विक समानता र न्यायको चिनियाँ नीतिलाई नेपालसहित विकासशील मुलुकहरूले प्रशंसा गरेको पनि उल्लेख गरेका छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, राप्रपा अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी तथा केन्द्रीय सदस्य सोभित उप्रेती, नेकपा मालेका महासचिव सिपी मैनालीलगायतले पनि राष्ट्रपति सीलाई शुभकामना सन्देश पठाएका छन् ।