नबिल बैंकको ‘नबिल दिगो बैंकिङ’ योजना

बुधबार, १६ असार, २०७८
डिजिटल संस्करण

नबिल बैंकले दिगो बैंकिङको माध्यमबाट अहिलेसम्म बैंकिङ नगरेकाहरूलाई वित्तीय पहुँच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यले नबिल दिगो बैंकिङ योजना ल्याउने भएको छ । बैंकले मंगलबार भर्चुअल कार्यक्रममार्फत योजना घोषणा गरेको हो । 

संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिकस्तरसम्म गएर सुदृढ नेपालका लागि स्थायी लघुउद्यम सिर्जना गर्नका निमित्त सुविधाहरू प्रदान गर्ने सोच लिएको बैंकले जनाएको छ । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले यो कार्यक्रम लाखौँको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभावहरू ल्याउन सक्षम हुने बताए ।

उनले भने, ‘अर्थ व्यवस्थाको आकार, व्यक्तिको जीवन र व्यवसायको प्रगति भएको छ । हामीले मानिस, वातावरण, समुदाय, राष्ट्रिय अर्थ व्यवस्था र पूरै देशको जीवनमा पार्ने प्रभावहरूबारे सचेत रहन आवश्यक छ ।’ त्यसैले नबिल बैंकले दिगो बैंकिङ विभाग स्थापना गरेको उनको भनाइ थियो । बैंक नाफा बढाउनेमा मात्र केन्द्रित नरही अधिकतम एकीकृत मूल्यमा ध्यान दिएको पौड्यालले बताए । यसले वित्तीय, सामाजिक र आर्थिक मूल्यलाई जोड्ने उनको भनाइ थियो । यसका साथै लगानी गर्ने कम्पनीहरूमा पर्ने असर, समाज र समग्र इकोसिस्टममा विचार गर्ने पौड्यालले बताए । 

ग्रामीण क्षेत्र र वित्तीय पहुँच न्यून भएका वर्गहरूका लागि उद्यमशीलताको विकास र कृषि क्षेत्रको व्यवसायीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक दुईवटा उत्पादन ल्याएको जनाएको छ । यी उत्पादनहरू देशव्यापी रूपमा सबै शाखाहरूमा ल्याइए तापनि बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखाहरूमा ग्रामीण नेपालमा दीर्घकालीन प्रभाव पार्न दिगो क्रियाकलापअन्तर्गत केन्द्रित रहने जनाएको छ ।

आफ्ना दिगो प्राथमिकतातर्फ कार्य गर्दै, बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सिटिइभिटी) का साथ समझौतापत्रमा पनि हस्ताक्षर गरेको जनाएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र सिटिइभिटीका सदस्यसचिव जीवनारायण काफ्लेले हस्ताक्षर गरेका थिए । 
 

सुझावित समाचार