नेपाल ओलम्पिक कमिटी र दराजबीच सम्झौता

सोमबार, १४ असार, २०७८
डिजिटल संस्करण

नेपालको अनलाइन सपिङ प्लेटफर्म दराजले नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग ‘टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूको प्रवद्र्धनका लागि सम्झौता गरेको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिंगले बुधबार सातदोबाटोस्थित एनओसीको कार्यालयमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

दराज अलिबाबा समूहको एक हिस्सा हो भने अलिबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समितिको विश्वव्यापी पार्टनर हो । यस साझेदारीले दराज र एनओसीबीच टोकियो ओलम्पिक नजिकिँदै गर्दा सहकार्य मजबुत बनाउने लक्ष्य राखेको छ । ‘टोकियो २०२० ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीको प्रवद्र्धनका लागि दराजसँग सहकार्य गर्न पाउँदा खुसी छौँ । सहभागी २ सय ७ देशमध्ये नेपाली खेलाडीले आफ्नो पूरा मिहिनेत, जोस र सपना पूरा गर्ने लक्ष्यसहित प्रदर्शन गर्ने आशा राखेको छु,’ एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले भने, ‘दराजले पनि ओलम्पिक खेलको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।’

‘ओलम्पिकले आफ्नो बेग्लै परम्परागत पहिचानसहित विश्वभरका मानिसलाई एकसाथ बाँध्ने काम गरेको छ, हामीले टोकियोमा हुने ओलम्पिक खेलका लागि सहकार्यमा साथ दिन पाउँदा गौरव महसुस गरेका छौँ,’ दराजका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने, ‘उत्कृष्टता, सम्मान र मित्रता ओलम्पिकका मानक हुन् र हामी दराज पनि यसैमा अडिग छौँ, हामी युवाहरूको जुझारु समूह दक्षिण एसियामा उत्कृष्टता हासिल गर्न लागिरहेका छौँ, हामी जे पनि सम्भव छ भन्ने सोचका साथ अघि बढेका छौँ, दराजको तर्फबाट नेपाली खेलाडीलाई आउँदो ओलम्पिकमा सफलताको शुभकामना व्यक्त गर्छु ।’

टोकियो २०२० समर ओलम्पिक २३ जुलाईदेखि सुरु हुँदै छ । २ सयभन्दा बढी देशको सहभागिता रहने यस महोत्सवमा १२ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यो साझेदारीको मुख्य लक्ष्य ओलम्पिकको गर्विलो इतिहासको नेपालमा सकेसम्म बढी प्रवद्र्धन होस् भन्ने नै रहेको छ । 

सुझावित समाचार