चेक रिपब्लिकको दुई गोलले नेदरल्यान्ड स्तब्ध

सोमबार, १३ असार, २०७८
डिजिटल संस्करण

चेक रिपब्लिक युरोकप २०२० च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति बुडापेस्टमा सम्पन्न खेलमा चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई २–० को अन्तरले स्तब्ध पार्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । अब चेक रिपब्लिकले सेमिफाइनल प्रवेशका लागि शनिबार डेनमार्कको सामना गर्नेछ । डेनमार्कले शनिबार राति वेल्सलाई ४–० ले हराएको थियो । 

सात वर्षपछि मेजर फुटबल प्रतियोगितामा फर्किएको नेदरल्यान्डले समूह चरणमा उत्कृष्ट खेल प्रस्तुत गरेको थियो । प्रिक्वार्टरफाइनलमा एक रातो कार्ड खाएर १० खेलाडीमा सीमित हुनुअघिसम्म पनि नेदरल्यान्ड्सले चेक रिपब्लिकमाथि दबाब राखेको थियो । खेलको ५५औँ मिनेटमा नेदरल्यान्ड्स १० खेलाडीमा सीमित हुनु निकै घातकसिद्ध भयो । मध्यान्तरपछि चेक रिपब्लिकले खेलमा पकड लिँदा समूह चरणमा उत्कृष्ट खेल प्रदर्शन गरेको नेदरल्यान्ड्सको केही सीप लागेन । 

चेक रिपब्लिकलाई अन्तिम आठमा पु¥याउने क्रममा टोमास होलेस तथा प्याट्रिक सिकले एक–एक गोल गरेका थिए । चेक रिपब्लिकले १० खेलाडीमा रहेको नेदरल्यान्डविरुद्ध दोस्रो हाफमै उत्कृष्ट खेल प्रदर्शन ग¥यो । यसअघि पहिलो हाफमा नेदरल्यान्ड्स नै हाबी थियो । खेलमा होलेसले गोल गर्नुअघिसम्म पनि नेदरल्यान्डले चेक रिपब्लिकमाथि दबाब राखेको थियो ।

खेलको ६८औँ मिनेटमा ६ यार्ड डिबक्स अनमार्कमा रहेका होलेसले हेडिङ गोल गर्दै चेक रिपब्लिकलाई १–० अग्रता दिलाउन सफल भए । टोमास कालासको सटिक हेडिङबाट प्राप्त पासमा होलेसले पहिलो बारमै हेडिङ गोल गरेका हुन् । उनको हेडिङ बल छेक्न डचको गोलपोस्ट लाइनमा तीनजना डिफेन्डर थिए । तर, होलेसको हेडिङ यति शक्तिशाली थियो, तीनजना डिफेन्डरबीचबाटै बल गोलपोस्टभित्र छि¥यो । 

अप्रत्याशित रूपमा चेक रिपब्लिकले खेलमा अग्रता लिएपछि नेदरल्यान्ड्सका खेलाडी त्यसपछि आत्तिएका देखिन्थे । अर्कोतिर अग्रता गोल गरेपछि चेक रिपब्लिक निकै आक्रामक रूपमा प्रस्तुत भएको थियो । चेक रिपब्लिकका खेलाडीले निरन्तर रूपमा नेदरल्यान्ड्सको पोस्टमा आक्रमण जारी नै राख्यो । पूर्ण रूपमै नियन्त्रणमा राखेको चेक रिपब्लिकले खेलको ८०औँ मिनेटमा थप एक गोल गर्दा नेदरल्यान्ड्सको केही सीप लागेन् । 

यसपटक चेक रिपब्लिकलाई फर्ममा रहेका स्ट्राइकर प्याट्रिकले २–० को अग्रता दिलाएका हुन् । टोमास भाक्लिकको लामो प्रहारमा होलेसले बललाई नियन्त्रणमा लिएका थिए । होलेसले लगभग ४० यार्डदेखि उत्कृष्ट ड्रिब्लिङ गर्दै नेदरल्यान्ड्सको डिबक्सभित्र सिकलाई ब्याक पास दिए । 

सिकले कुनै पनि गल्ती नगरी चेक रिपब्लिकलाई अग्रता दिलाउन सफल भए । चालू युरोकपमा सिकले आफ्नो गोल संख्या चार पु¥याएका छन् । उनले पहिलोपटक पोस्टभन्दा आठ यार्ड टाढाबाट गोल गरेका हुन् । 

नेदरल्यान्ड्स टोलीका मुख्य डिफेन्डर म्याथिस डी लिग्टले हातले बल रोकेका थिए । भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहयोगमा रेफ्री सर्गेय कारासेभले डी लिग्टलाई सीधै रातो कार्ड दिएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र विपक्षी खेलाडीको खुट्टासम्म बल पुग्न नदिन हातले बल रोकेका थिए । मुख्य डिफेन्डरले रातो कार्ड खाएपछि नेदरल्यान्ड त्यसपछि कमजार देखिएको हो । बाँकी समयमा नेदरल्यान्ड्सको टोलीमा डिफेन्डर लिग्टको अभाव स्पष्ट देखियो ।

दोस्रो हाफमा नेदरल्यान्ड्सले पनि दुई गोलको अवसर चुकाएको थियो । डिबक्सभित्र अनमार्कमा रहेका मालेनले डम्फ्राइजको क्रस भेट्टाउन सकेनन् । यसैगरी मालेनले चेक रिपब्लिकका गोलरक्षकसँगको वान भर्सेज वानको फाइदा लिन सकेनन् । 

यसअघि पहिलो हाफको पहिलो मिनेटदेखि नै नेदरल्यान्ड्सले आक्रामक रणनीति लिएको थियो । खेलको आठौँ मिनेटमा डी लिग्टको हेडिङ पोस्टनजिक हुँदै बाहिरिँदा नेदरल्यान्ड्सले खेलकै पहिलो गोल गर्ने अवसर गुमाएको हो । खेलको १६औँ मिनेटमा डोनी मालेनको प्रहारलाई चेक रिपब्लिकका गोलरक्षक टोमस भाच्लिकले विफल पारे । 

पहिलो हाफमा चेक रिपब्लिकले काउन्टर एट्याक्टमा नेदरल्यान्ड्सका डिफेन्डरलाई चुनौती दिएको थियो । खेलमा चेक रिपब्लिकले १२ पटक तथा नेदरल्यान्ड्सले ६ पटक गोलका लागि सट्स प्रहार गरेको थियो । नेदरल्यान्ड्सले ५२ र चेक रिपब्लिकले ४८ प्रतिशत बल पोसेसन बनाएको थियो । 

सुझावित समाचार