बिहीबारको इजलासमा पनि राष्ट्रपतिमाथि नै प्रश्न

बिहिबार, १० असार, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुरु भएको बहसका क्रममा  बिहीबार पनि कानुन  व्यवसायीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन् ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानको धारा ७६ (५)  अनुसार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गरी अधिवेशन आह्वान गर्न माग गरे ।  

५० मिनेट बहस गरेका श्रेष्ठले भने, ‘७६  (५) भनेको ब्रह्मास्त्र हो । सबै विकल्प सकिएपछि यो उपधारा चल्छ, प्रयोग हुन्छ । दलको ह्विप नलाग्ने अवस्था हो यो । अहिलेजस्तै जसपा १५–२० जना एकातिर छन्, बाँकी अर्कोतिर छन् । यस्तै वेलामा सरकार बनाउन राखिएको धारा हो । यो विशेष व्यवस्था हो, अरूभन्दा फरक हो ।’

राष्ट्रपतिको लिखित जवाफ पढ्दै उनले भने, ‘राष्ट्रपतिले गरेको धारा ७६ को कुरामा कतै मुद्दा लाग्दैन रे । बडो गजबको उहाँको जवाफ छ । हामीले  श्री ५ भन्दा ठूलो श्री ७ बनाउन खोजेका हौँ ?  जो वंशज राजा थिए, उसलाई प्रश्न गर्न सकिने भनेर राख्यौँ, अहिले राष्ट्रपतिलाई प्रश्न गर्न नमिल्ने ? दफा ७६ को ५ संविधान को बेसिक स्टक्चर हो । जनताले बनाएको संविधान असफल भयो भने ? उहाँ दलभित्र पनि पस्ने, एउटा दलको एउटा गुटको मान्छे बोलाउने  उहाँ एउटा गुटको राष्ट्रपति हो ? त्यसैले  ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गरी, अधिवेशन आह्वानको आदेश गरिपाउँ ।’

त्यसपछि बोलेका वरिष्ठ अधिवक्ता हरिहर दाहालले पनि  राष्ट्रपतिको भूमिकामाथि  प्रश्न उठाउँदै यसअघि दुरासयमा निर्णय नदिइएकाले यसपालि दिनुपर्नेमा जोड दिए । 

उनले ५ बजेपछिको कुरा बालुवाटारले कसरी थाहा  पायो ?  फेरि महतो र ठाकुरले कसरी थाहा पाउनुभो ? ओलीको दाबी कहिले, कसरी, कुन माध्यमबाट दर्ता भयो ? भनेर प्रश्न गरे । 


इजलासमा राष्ट्रपतिमाथि प्रश्नैप्रश्न

सुझावित समाचार