कृषिप्रधान देशमा करिब तीन खर्बको कृषिजन्य वस्तुको आयात

खाद्यान्न, तरकारी, फलफूल, माछामासुलगायत कृषिजन्य वस्तुमा नेपालको परनिर्भरता झन् झन् बढ्दै, कृषि वस्तुको आयात गत वर्षको भन्दा ७० अर्बले बढ्यो

बिहिबार, १० असार, २०७८
डिजिटल संस्करण

कृषिप्रधान देश नेपालमा कृषिजन्य वस्तुको आयात झन् झन् बढ्दै गइरहेको छ । कृषिजन्य तथा कृषिबाट उत्पादित वस्तुमा आत्मनिर्भर हुँदै जाने सरकारको नीतिविपरीत त्यस्ता वस्तुको आयात भने अझ बढ्दै गएको तथ्यांकले देखाउँछ ।

चालू आर्थिक वर्षको जेठ महिनासम्ममा सरकारले कुल २ खर्ब ९१ अर्ब ८३ रुपैयाँबराबरको कृषिजन्य वस्तुको आयात भएको भन्सार विभागको तथ्यांक छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ६९ अर्ब ८६ करोडले बढी हो ।

अघिल्लो आर्थिक वर्षको जेठ महिनासम्ममा नेपालले कुल २ खर्ब २१ अर्ब ९७ करोड रुपैयाँबराबरको कृषिजन्य वस्तुको आयात भएको भन्सार विभागको तथ्यांक छ । यसरी आयात हुने वस्तुमा खाद्यान्न, तरकारी, फलफूल, जिउँदा पशुपक्षी, माछामासु, कृषिका प्रशाेधित उत्पादन पर्दछन् । 

कृषि वस्तुमा नेपाललाई सवा २ खर्ब घाटा
उपभोगको तुलनामा उत्पादन वृद्धि नहुँदा कृषि वस्तुको आयात झन् झन् बढ्दै गएको तथ्यांकले देखाउँछ । नेपालबाट हुने कृषि वस्तुको निर्यात तोब्बरले बढेको देखिन्छ, तैपनि यस्ता वस्तुको अन्तर्राष्ट्रिय व्यापारमा नेपालको घाटा झन् बढेको छ । चालू आवको ११ महिनामा सरकारले ७० अर्ब ७१ करोडको कृषि वस्तु निर्यात गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २७ अर्ब ७१ करोडले बढी हो । यद्यपि, नेपाललाई कृषिजन्य वस्तुको व्यापारमा २ खर्ब २१ अर्ब ६५ करोड रुपैयाँ घाटा भएको छ । 

आयातसँगै व्यापार घाटा उच्चदरमा बढ्यो
चालू आवको ११ महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार उच्चदरमा बढेको छ । अन्तर्राष्ट्रिय व्यापारका सबै सूचकहरूमा उच्चदरको वृद्धि भएको भन्सार विभागको तथ्यांक छ । जेठसम्ममा कुल वैदेशिक व्यापार २६.५६ प्रतिशतले बढेर १५ खर्ब ४ अर्ब ६१ करोडबराबर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार ११ खर्ब ८८ अर्ब ८१ करोडबराबर पुगेको थियो ।

विभागका अनुसार आयात २५.६७ प्रतिशतले बढेर १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँबराबर पुगेको छ । गत वर्षको सोही अवधिमा नेपालमा ११ खर्ब ८१ करोडको आयात भएको थियो । त्यस्तै, निर्यात ३७.७८ प्रतिशतले बढेर १ खर्ब २१ अर्ब २५ करोडको निर्यात पुगेको छ । गत आवको जेठसम्ममा नेपालले ८८ अर्ब ३३ लाखको निर्यात गर्न सकेको थियो । आयातसँगै व्यापार घाटासमेत उच्चदरमा बढेको छ । यस अवधिमा व्यापार घाटा २४.६१ प्रतिशतले बढेर १२ खर्ब ६२ अर्ब ११ करोड पुगेको विभागको तथ्यांक छ । 

कुल व्यापारमा निर्यातको हिस्सा ८.०६ प्रतिशत पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८.८६ प्रतिशतले बढी हो । आयातको हिस ९१.९४ प्रतिशत हो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ०.७१ प्रतिशतले कमी हो । 

सुझावित समाचार