स्विट्जरल्यान्डलाई जित काफी भएन

सोमबार, ७ असार, २०७८
डिजिटल संस्करण

युरोकप २०२० च्याम्पियनसिपमा आइतबार टर्कीमाथि ३–१ को प्रभावशाली जित निकाले पनि स्विट्जरल्यान्ड समूह एबाट सीधै नकआउट चरणमा पुग्न असफल भएको छ । यसै समूहमा रहेको इटालीले वेल्सलाई हराएको छ । वेल्स र स्विट्जरल्यान्डको समान चार अंक रहेको र गोलअन्तरमा स्विट्जरल्यान्ड तेस्रो स्थानमा रहेको छ । स्विट्जरल्यान्डको तुलनामा वेल्सले विपक्षी पोस्टमा एक गोल बढी गरेको छ । 

यस समूहबाट उपविजेता हुँदै अन्तिम १६ पुग्ने लक्ष्य बनाएको स्विट्जरल्यान्डले त्यही भावनाअनुरूप नै टर्कीविरुद्ध प्रदर्शन गरेको थियो । स्विट्जरल्यान्डले आफ्नो अन्तिम खेलमा रणनीति सफलसमेत बनायो । समूहमा तेस्रो भए पनि अंकगणितीय आधारमा स्विट्जरल्यान्डको अझै पनि प्रिक्वार्टरफाइनलमा पुग्ने सम्भावना बाँकी नै छ । प्रतियोगिताको नियमअनुसार उत्कृष्ट तेस्रो स्थानमा रहने टोली अन्तिम १६ पुग्ने प्रावधान छ । 

तर, यसका लागि स्विट्जरल्यान्डले समूह चरणका सबै खेलको अन्तिम नतिजा कुर्नुपर्छ । टर्की लगातार तीन खेलमा हारको सामना गरी प्रतियोगिताबाट बाहिरिएको छ । अजरबैजानको बाकु रंगशालामा स्विट्जरल्यान्डलाई सानदार जित दिलाउँदा जेर्डान साक्विरी, ह्यारिस सेफेरोभिक र स्टेभन जुवेरले प्रेरणादायी प्रदर्शन गरेका थिए । जेर्डानले दुई तथा सेपेरोभिकले एक गोल गरेका थिए । यी दुवै खेलाडीले जुवेरको उत्कृष्ट पासमा गोल गरेका हुन् ।

स्विट्जरल्यान्डका तीनवटै गोल उत्कृष्ट थिए । खेलको छैटौँ मिनेटमै सेरोभिकले स्विट्जरल्यान्डलाई १–० को अग्रता दिलाए । जुवेरको सटिक पासमा सेफेरोभिकले डिबक्समा आकर्षक गोल गरे । खेलमा पूर्ण रूपमा नियन्त्रण राखेको स्विट्जरल्यान्डले २६औँ मिनेटमा दोस्रो गोलको अग्रता लियो । यसपटक जेर्डानले स्विट्जरल्यान्डलाई अगाडि राखे । उनले डिबक्सभित्र निकै कठिन कोणबाट गोल गरेका हुन् । जेर्डानको शक्तिशाली प्रहार छेक्न टर्कीका गोलरक्षकसमक्ष कुनै समय रहेन । 

मध्यान्तरपछि टर्कीले खेलमा सुधार गर्यो । पहिलो हाफमा बल पोसेसनमा कमजोर देखिएको टर्कीले मध्यान्तरपछि यस क्षेत्रमा सुधार गर्यो । प्रतियोगितामा टिकिरहन टर्कीलाई पनि जितको आवश्यकता थियो । खेलको ६२औँ मिनेटमा काहभेचीले गोल गर्दै टर्कीलाई २–१ को गोलअन्तरमा ल्याए । काहभेचीको गोलसँगै टर्किस समर्थकको आशा जागेको थियो । काहभेचीले डिबक्सभन्दा केही बाहिरबाट उत्कृष्ट गोल गरे । 

तर, खेलको ६८औँ मिनेटमा जर्डानले व्यक्तिगत दोस्रो गोल थप्दा स्विट्जरल्यान्ड ३–१ ले अगाडि बढ्यो । त्यसपछि टर्की खेलमा फर्कन सकेन । टर्कीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेका कारण नै बल पोसेसनमा ५० प्रतिशत बनाएको थियो । स्विट्जरल्यान्डले पनि खेलमा ५० प्रतिशत नै बल पोसेसन कायम राखेको थियो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा टर्कीले १९ र स्विट्जरल्यान्डले २३ पटक गोल प्रयासका लागि पोस्ट चार्ज गरेको थियो । स्विट्जरल्यान्डले टर्कीको पोस्टमा १० पटक सट्स अर्न टार्गेट गर्यो । यस पक्षमा टर्कीले ६ पटकमात्र प्रयास गरेको थियो । खेलमा टर्कीले २० तथा स्विट्जरल्यान्डका खेलाडीले १४ पटक फल गरे । 

सुझावित समाचार