स्विडेनको नकआउट चरण सम्भावना बलियो

शनिबार, ५ असार, २०७८
डिजिटल संस्करण

पहिलो खेलमा तीनपटकको विजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेको स्विडेनले शुक्रबार स्लोभाकियालाई १–० ले हराउँदै समूह इबाट नकआउटको चरणको सम्भावना बलियो बनाएको छ, यस समूहमा स्विडेन चार अंकका साथ शीर्ष स्थानमा छ

इमिल फोर्सबर्गले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको एक गोलको मद्दतमा स्विडेनले युरोकप २०२० अन्तर्गत आफ्नो दोस्रो खेलमा महत्वपूर्ण जित हात पारेको छ । शुक्रबार साँझ रुसको सेन्ट पिटरबर्गमा भएको खेलमा स्विडेनले स्लोभाकियालाई १–० गोलले पराजित गर्‍यो । यो जितसँगै स्विडेनले प्रतियोगिताको प्रिक्वार्टरफाइनल चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ । 

दुई खेलबाट चार अंक जोडेको स्विडेन समूह ईको शीर्ष स्थानमा उक्लिएको छ । स्विडेनसँगको पराजयपछि स्लोभाकियाले भने दोस्रो खेलबाटै नकआउट चरणको यात्रा निश्चित गर्ने अवसर खेर फालेको छ । आफ्नो पहिलो खेलमा पोल्यान्डलाई पराजित गरेको स्लोभाकिया तीन अंकका साथ दोस्रो स्थानमा छ । स्विडेनले आफ्नो पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो ।

स्विडेनका लागि खेलको निर्धारित समय सकिन मात्रै १३ मिनेटअघि जर्मन क्लब आरबी लेइपजिगका खेलाडी फोर्सबर्गले पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए । परिवर्तित खेलाडी रोविन क्वाइसनलाई स्लोभाकियाका गोलरक्षक मार्टिन दुब्राभ्काले लडाएपछि स्विडेनले पेनाल्टी अवसर पाएको थियो । त्यही अवसर फोर्सबर्गले सदुपयोग गरेका हुन् । युरोकप इतिहासमा स्विडेनले पछिल्लो तीन सय ६५ मिनेटपछि पहिलो गोल गरेको हो । सन् २०१६ को युरोकपको आफ्नो पहिलो खेलमा गोल गरेदेखि स्विडेनले युरोकपको खेलमा गोलसम्म गर्न सकेको थिएन ।

स्लोभाकियाले अब समूह चरणको अन्तिम खेलमा स्पेनको सामना गर्नेछ । नकआउट चरण प्रवेशको सम्भावना जीवितै राख्न स्लोभाकियाले स्पेनलाई हराउनुपर्नेछ । स्विडेन र स्लोभाकियाबीच पहिलोपटक मेजर फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गरेको हो । स्विडेनले पहिलो हाफमा स्लोभाकियाको पोस्टमा पाँचपटक आक्रमण गरेको थियो । पहिलो हाफमा स्विडेनका कप्तान सेवास्टियन लारोसनको प्रहार पेनाल्टी क्षेत्रमा स्लोभाकियाका डिफेन्डरको खुट्टामा लागेर डिफलेक्ट भएको थियो । जसका कारण स्विडेनले पहिलो हाफमै नजिकको दूरीबाट अग्रता लिने अवसर चुकायो । जाने एन्डेसनको प्रशिक्षणमा रहेको स्विडेनले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन ग¥यो । स्विडेनले स्पेनको तुलनामा स्लोकियाविरुद्ध बढी बल पोसेसन बनायो ।

स्लोभाकियाविरुद्धको खेलमा स्विडेनका २१ वर्षीय युवा खेलाडी इस्काकले प्रेरणादायी प्रदर्शन गरेका थिए । यसै सिजनमा सम्पन्न भएको स्पेनिस ला लिगामा उनी युवा खेलाडी वर्ष घोषित भएका थिए । उनले ला लिगामा ३४ खेलमा १७ गोल गरेका थिए । स्लोभाकियाको लगातार ६ खेलको अविजित यात्रा समाप्त भएको छ । खेलमा स्विडेनले ४२ तथा स्लोभाकियाले ५८ प्रतिशत बल पोसेन बनाएको थियो । स्विडेनले १३ पटक पोस्ट चार्ज गर्दा स्लोभाकियाले १० पटक पोस्टमा आक्रमण गरेको थियो । 

सुझावित समाचार