सरकारले शिक्षकलाई विभेद गरेको गुनासो गरेका छन् । नेपाल शिक्षक महासंघले बिहीबार भर्चुअल पत्रकार सम्मेलनमा कार्यबाहक अध्यक्ष पूर्णप्रसाद दवाडीले निजामती कर्मचारीलाई दुर्घटना बिमा, १० दिनको काजसहितको भ्रमणलगायतका सुविधा दिने घोषणा गरे पनि शिक्षकलाई अन्याय गरेको गुनासो गरे ।
जनशक्ति उत्पादन गर्ने शिक्षकलाई राज्यले विभेद गर्न दुर्भाग्यपूर्ण रहेको शिक्षकको भनाइ छ । कार्यक्रममा कार्यबाहक अध्यक्ष दवाडीले सरकारले पञ्चायतकालीन शिक्षा ऐनलाई संशोधन गर्दै काम चलाउँदै गरेको र नयाँ शिक्षा ऐन नआउँदा शिक्षकका समस्या समाधान नभएको, सरकारले विगतमा शिक्षकसँग गरेका ३०बुँदे सहमति कार्यान्वयन नभएको गुनासो गरे ।
अहिले नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई ३४ बुँदे माग प्रस्तुत गरी ‘डिजिटल’ आन्दोलन गर्दै आएको उनले बताए । शिक्षकको वृत्ति विकास गर्नुपर्ने, विगतमा सम्झौताहरू कार्यान्वयन गर्नुपर्नेलगायतमा माग छन् । अहिले देशमा १८ थरी शिक्षक रहेको र स्थायी सेवाबाट मात्र प्रवेश गराएर एकैथरी शिक्षक बनाउन महासंघले सरकारको ध्यानाकर्षण गरेको छ । महासंघले निजामती, प्रहरीलगायतका अस्पताल रहेको र शिक्षक अस्पताल पनि स्थापना गर्नुपर्ने माग राखेका छन् ।
सरकारले यसअघि शिक्षक अस्पताल बनाउने सम्झौता गरेको उनीहरूको भनाइ छ । शिक्षकका माग पूरा नगरी अन्याय जारी राखे सामान्य अवस्था भएपछि विद्यालय बन्द गरेर आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।
शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले कोभिड संक्रमणबाट झन्डै दुई सय शिक्षकको मृत्यु भएको र शिक्षकलाई प्राथमिकतामा राखेर खोप नदिएसम्म विद्यालयमा उपस्थित भएर नपढाउने बताए ।