बोर्डले जारी गरेका ५१ कम्पनीमा ३ कम्पनीबाहेक सबै कम्पनीका लगानीकर्तामा छायो निराशा
नेपाल धितोपत्र बोर्डको विज्ञप्तिका कारण सेयर बजारमा एकाएक उच्च अंकको पहिरो गएको छ । बोर्डले ५१ वटा कम्पनीलाई जोखिममा रहेको उल्लेख गर्दै मंगलबार कम्पनीको नामसहित सार्वजनिक गरेको थियो ।
कम्पनीको नाम सार्वजनिक भएपछि बुधबारको सेयर बजारमा त्यसको नकारात्मक प्रभाव परेको हो । बोर्डले जुनजुन कम्पनीको सेयर मूल्यमा चलखेल भएको हुनसक्ने भनेर सार्वजनिक गरेको थियो, ती कम्पनीमध्ये तीनवटाको मात्र सेयर मूल्य सकारात्मक रहन पुगेका छन् भने बाँकी कम्पनीको सेयर मूल्य उल्लेख्य रूपमा घटेको छ ।
केही लगानीकर्ता भने उच्च अंकले यसअघि बढेको हुँदा करेक्सनको रूपमा लिनुपर्ने बताउँछन् । बोर्डको केही प्रभाव भए पनि करेक्सन पनि हुन सक्छ, जसको आधार कारोबार रकम भएका ती लगानीकर्ताको भनाइ छ । कारोबार रकममा पनि गिरावट आएको भए बोर्डको ठूलो प्रभाव मान्न सकिन्थ्यो, सेयर कारोबार उत्साहजनक हुुँदा आत्तिहाल्नुपर्ने अवस्था नभएको ती लगानीकर्ताको भनाइ छ ।
कारोबारमा आएका १३ समूहको सूचकमा माइक्रोफाइनान्स समूह मात्र हरियो भएको छ भने बाँकी रहेका सबै सूचक नकारात्मक बनेको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन समूह, जीवन बिमा, निर्जीवन बिमा, फाइनान्स, विकास बैंक, जलविद्युत्लगायतका समूहका लगानीकर्तामा निराशा छाएको छ । बोर्डले जारी गरेको कम्पनीमा पनि विशेष गरी हाइड्रोपावर कम्पनी, फाइनान्स, अन्यलगायतका कम्पनीहरू रहेका छन् ।
सबैभन्दा धेरै घट्ने कम्पनीहरूमा गोर्खा फाइनान्स, जोशी हाइड्रोपावर, नेसनल हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । गोर्खा फाइनान्स कम्पनीको सेयर मूल्य १ सय ४३ रुपैयाँले घटेर प्रतिसेयर १ हजार २ सय ८९ रुपैयाँ कायम भएको छ ।
सिइडिबी हाइड्रोपावर, करिब १० प्रतिशतले सर्किट मूल्यमा कारोबार भएको छ भने सामुदायिक लघुवित्त, समता घरेलु लघुवित्त, वमी माइक्रोफाइनान्स, कम्पनीका लगानीकर्ताहरू भने केही उत्साहित भएका छन् ।
नेप्से परिसूचक ५२ दशमलव ४१ अंकले घटेर २ हजार ९ सय ६९ दशमलव ६९ बिन्दुमा पुुगेको छ । यसअघि ३ हजार २५ बिन्दुसम्म पुगेको थियो । त्यस्तै, ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स ८ दशमलव ५६ अंकले घटेर ५ सय ४१ दशमलव ७० बिन्दुमा पुगेको छ ।
बुधबार धितोपत्र र ऋणपत्र गरी कारोबार आएका २ सय १९ कम्पनीको २ करोड ८२ लाख कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ४८ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल रिइन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको ६० करोड ९० लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रोमा हिमालयन डिस्टिलरीको ५५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, नेसनल हाइड्रोपावर कम्पनीको ४६ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।