एक करोड २० लाख डोज खोप किन्ने प्रस्ताव मन्त्रिपरिषदमा

मंगलबार, ३१ जेठ, २०७८
डिजिटल संस्करण
एक करोड २० लाख डोज खोप किन्ने प्रस्ताव मन्त्रिपरिषदमा

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को नियमित बैठक । तस्बिर : प्रधानमन्त्रीकाे निजी सचिवालय

हालसम्म प्राप्त खोप : ४२ लाख ४८ हजार

कोभिसिल्ड : २४ लाख ४८ हजार
- भारतबाट अनुदान : १० लाख
- खरिद गरेको : १० लाख
- नेपाली सेनालाई सहयोग : एक लाख
- कोभ्याक्स सुविधा : तीन लाख ४८ हजार 

भेरोसेल : १८ लाख
- चीन सरकारको अनुदान : आठ लाख
- तिब्बत सरकारको सहयोग : दुई लाख
- चीन सरकारको थप सहयोग : आठ लाख 

प्रयोग भएको खोप

कोभिसिल्ड 
- पहिलो डोज : १८ लाख २३ हजार ६६३
- दोस्रो डोज : चार लाख ११ हजार ६ 
- बाँकी खोप : एक लाख ९९ हजार १३२
- खेर गएको : १४ हजार १९९

भेरोसेल
- पहिलो डोज : तीन लाख ७३ हजार ९९४
- दोस्रो डोज : दुई लाख ८० हजार ४८८
- प्रयोग गर्न बाँकी : ११ लाख ४५ हजार ५१८

...                                   ...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ । ६० लाख (२० प्रतिशत) नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप खरिदको अन्तिम निर्णय गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले खोप खरिदको निर्णय गर्दै त्यससम्बन्धी फाइल मन्त्रिपरिषद् लगेको स्रोतले जनाएको छ । मन्त्रालयको फाइल सिलबन्दी गरी १० स्थानमा लाहाछाप लगाएर स्वास्थ्य सचिव लक्ष्मण अर्याल र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले मन्त्रिपरिषद् लगेका हुन् । 

शुक्रबार स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, मुख्यसचिवलगायत उच्च अधिकारीहरूले चिनियाँ अधिकारीहरूसँग खोप खरिदबारे छलफल गरेका थिए । चीनले नेपाललाई आवश्यक परेको खोप दिने भन्दै त्यसका लागि प्रक्रिया अगाडि बढाउने आश्वासन दिएपछि आइतबार दिनभर स्वास्थ्य अधिकारीहरू आन्तरिक छलफलमा जुटेका थिए । आइतबार साँझ स्वास्थ्य सेवा विभागमा उच्च अधिकारीहरूबीच भएको छलफलमा तत्काल २० प्रतिशत नागरिकलाई खोप आवश्यक पर्ने निष्कर्ष निकालिएको थियो । 

सरकारले चिनियाँ भेरोसेल खोप खरिद गर्ने तयारी गरेको छ । अन्य देशमा उत्पादन भएको जोनसन एन्ड जोनसन, स्पुतनिक फाइभ, कोभिसिल्ड खोप उपलब्ध भएमा किन्ने सरकारको तयारी छ । चीनले हालै १० लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । त्यसभन्दा अगाडि आठ लाख डोज खोप दिएको थियो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार खोप खरिदको संख्या टुंगो लागे पनि त्यसको मूल्यका बारेमा खुलाइएको छैन । चीन सरकारले पटकपटकको वार्तामा खोप दिने, तर मूल्यका विषयमा सार्वजनिक गर्न नपाइने प्रस्ताव राखेको थियो । ‘मूल्य नखुलाउने प्रस्तावले खोप खरिदको निर्णय गर्न करिब १५ दिन ढिला भएको हो,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । चीनले भेरोसेल खोप प्रतिडोज १७ डलर तोकेको छ । तर, त्योभन्दा सस्तोमा नेपाललाई उपलब्ध गराउने भएकाले मूल्य उल्लेख नगर्न भनेको हुन सक्ने अधिकारीहरूको भनाइ छ ।

अघिल्लो वर्ष खोप खरिद गर्ने निर्णय विवादमा
अघिल्लो वर्ष पनि खोप खरिदमा विवाद भएपछि योपटक सबैसँग सल्लाह लिए पनि निर्णय गर्दा सीमित कर्मचारी बसेका छन् । कोभिड खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले आफूलाई खरिदको संख्याबारे यकिन जानकारी नभएको बताए । ‘हामीले दुई करोड १७ लाख नागरिकलाई खोप लगाउनुपर्छ भनेका हौँ,’ उनले भने, ‘२० लाख डोज कोभ्याक्स सुविधामार्फत आउँछ । २० लाख डोज खोप सरकारले चालू आर्थिक वर्षमा ल्याउन सके ठूलो राहत हुन्थ्यो ।’ हाल करिब १० प्रतिशत नागरिकले खोप लगाएका छन् । 

नेपालमा १८ वर्षभन्दा कम उमेरका करिब ८४ लाख बालबालिका छन् । उनीहरूलाई खोप लगाउन मिल्दैन । सरकारले आगामी आव ०७८/७९ मा ४० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने योजना बनाएको छ । स्वास्थ्य क्षेत्रका अधिकारीहरूले सरकारलाई एक करोड ११ लाख डोज खोप खरिद गर्न यसअगाडि नै सल्लाह दिएका थिए । 

एकपटकमा २० लाख डोज खोप ल्याइने स्वास्थ्यका अधिकारीहरूको भनाइ छ । देशभर २० लाख डोजभन्दा बढी भण्डारण क्षमता नभएकाले सबै खोप एकैपटक ल्याइने छैन । भारतबाट ल्याइएको कोभिसिल्ड खोप एक भायलले १० जनालाई पुग्ने भएकाले करिब ५० लाख डोजसम्म भण्डारण क्षमता थियो । तर, चिनियाँ खोप भेरोसेल एक भायल एकजनालाई दिनुपर्ने भएकाले धेरै ठाउँ ओगट्ने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा.झलक शर्मा गौतम बताउँछन् ।

हाल चीनले दिएको १० लाखमध्ये दुई लाख सिरिन्जमै सेट गरेको खोप छ । यसले झन्डै अरू २० लाख डोज खोप भण्डारण गर्न सक्ने भागलाई ओगटेको छ । दैनिक ६ देखि १० हजारका दरले खोप लगाइनेछ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब र खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेटमा छुट्याएको छ । 

See More On

सुझावित समाचार