नेपालमा कोरोनाको भेरियन्ट फेला परेको हो ? सरकारले बेलायतसँग माग्यो जानकारी, डब्लुएचओ भन्छ– अहिलेसम्म छैन

बिहिबार, २० जेठ, २०७८
डिजिटल संस्करण

बेलायतको डेली मेलले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको समाचार प्रकाशित गरेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि त्यसैलाई उद्धृत गर्दै समाचार दिइरहेका छन् । समाचार प्रकाशित भएलगत्तै विश्व स्वास्थ्य संगठनले नेपालमा नयाँ भेरियन्ट देखिएको पुष्टि नभएको स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयले बेलायतको सम्बन्धित निकायलाई पनि यसबारेमा प्रश्न उठाउँदै चिठी लेखेको छ । 

डेली मेलले नेपालमा देखिएको कोरोनाको नयाँ भेरिएन्टका कारण नेपालमा छुट्टी मनाउन जानु चुनौतीपूर्ण रहेको सनसनीपूर्ण समाचार दिएको छ । नेपाली अधिकारीले नेपालको बदनाम गराउने उद्देश्यले यस्ता गलत समाचार लेखाइएको आशंका गरेका छन् । समाचारमा नेपालमा खतरनाक नयाँ भेरियन्ट देखिएको, यात्राका लागि जोखिम भएको उल्लेख छ । 
समाचारमा लेखिएको छ, ‘नेपालको नयाँ भेरियन्ट युरोपमा पनि फैलिसकेको छ । यसले बेलायतको बिदालाई असर पारेको छ । यो भाइरसमा कोभिड खोपहरूले काम गर्न नसक्ने वैज्ञानिकहरूको आशंका रहेको समाचारमा लेखिएको छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले नेपालमा कुनै नयाँ भेरियन्ट नदेखिएको बताए । ‘अहिलेसम्म नेपालमा नयाँ भेरियन्ट देखिएको छैन,’ प्रवक्ता पौडेलले भने, ‘बुधबारसम्म बेलायतले हामीलाई उपलब्ध गराएको सूचनाअनुसार त्यस्तो केही छैन ।’ पौडेलका अनुसार नेपालबाट विदेश गएका नेपालीहरूको परीक्षण विभिन्न देशमा भइरहेको छ । तर, कुनै पनि देशमा नयाँ भेरिएन्ट देखिएको जानकारी आएको छैन ।’

विदेशी मिडियाले समाचार छापेपछि त्यसबारे नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न खोजी रहेको छ । ‘समाचार आएको देखेपछि त्यसलाई उद्धृत गर्दै युकेको रोग नियन्त्रण महाशाखालाई के–कसो हो भनेर सोधेको छु । त्यसबारे जवाफ आएपछि सार्वजनिक गछौँ,’ प्रवक्ता पौडेलले भने । 

विश्व स्वास्थ्य संगठन डब्लुएचओले पनि नेपालमा कुनै नयाँ भेरियन्ट हालसम्म पुष्टि नभएको बताएको छ । डब्लुएचओ नेपालस्थित कार्यालयले नेपालमा नयाँ भेरियअन्ट फेला परेको ‘अवगत नभएको’ स्पष्ट पारेको छ । 

विश्व स्वास्थ्य संगठन डब्लुएचओ नेपाल प्रमुख डा. राजेश साम्माजीराव पाण्डवले नयाँ पत्रिकासँग भने, ‘नेपालमा सार्स कोभिड— २ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरू अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन् । यी तीनमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा हो,’ प्रमुख पाण्डवले भने । 

नेपालले भारतस्थित प्रयोगशालामा गराएको जिन सिक्वन्सिङको पछिल्लो नतिजा जेठ ४ गते सार्वजनिक गरेको थियो । त्यसैबाट भारतमा देखिएका डेल्टा तथा कापा भेरिअन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । 
 

सुझावित समाचार