घरायसी विद्युतीय सामग्रीको मूल्य घट्ने

आइतबार, १६ जेठ, २०७८
डिजिटल संस्करण

प्रसारण लाइनमा परेका जग्गाधनीलाई प्राथमिक सेयर

सरकारले विद्युतीय चुलो, रेफ्रिजेरेटर, माइक्रोवेभ ओभन, वासिङ मेसिन, डिसवासलगायत बिजुलीबाट चल्ने घरायसी सामानको उपयोगलाई प्रोत्साहित गर्न भन्सार महसुल घटाएको छ । 

बजेटले गार्हस्थ्य विद्युत् मिटरको क्षमता बढाउँदा प्रयोग हुने सामग्रीको मूल्यबाहेक थप शुल्क नलिने व्यवस्था गरेको हो । निश्चित युनिटभन्दा बढी र माग कम हुने समयमा विद्युत् खपत गर्ने औद्योगिक ग्राहकलाई महसुलदरमा थप छुट दिने व्यवस्था गरिने भएको छ । 

सरकारले प्रसारण लाइनको ‘राइट अफ वे’ मा पर्ने जग्गाको स्वामित्व भएको व्यक्तिलाई सम्बन्धित उत्पादक कम्पनीले प्राथमिक सेयर निष्कासन प्रभावित क्षेत्रका व्यक्तिसरह अग्राधिकार दिने व्यवस्था गरेको छ । अहिलेसम्म यस्तो व्यवस्था थिएन । त्यस्तै, राइट अफ वेमा परेका जग्गाको निःशुल्क कित्ताकाट गर्ने व्यवस्था गरिएको छ । 

१६ सय २९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने
बजेटले आगामी आर्थिक वर्षमा सरकारी र निजी क्षेत्रको गरी १ हजार ६ सय २९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने घोषणा गरेको छ । सरकारीतर्फ तामाकोसी आयोजनाबाट २ सय २८, रसुवागढीबाट १ सय ११, सान्जेन र माथिल्लो सान्जेनबाट ५६, त्रिशूली ३ बीबाट ३७, राहुघाटबाट ४०, मध्यभोटेकोसीबाट १ सय २ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने घोषणा गरेको छ ।

बाँकी निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाहरूबाट पुर्याइनेछ । जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि बाँध र विद्युत्गृह छुट्टाछुट्टै प्रवद्र्धकबाट निर्माण गरी निजी क्षेत्रलाई आकर्षित गरिने भएको छ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको क्रेडिट रेटिङ गरिने भएको छ । 

तामाकोसी–५ र दूधकोसीको निर्माण थालिने 
सरकारले जलविद्युत् उत्पादनमा जनस्तरको स्वामित्व बढाउन नेपाल विद्युत् प्राधिकरण र नेपाली जनताको संयुक्त लगानीमा ९९ मेगावाट क्षमताको तामाकोसी–५ को निर्माण कार्य आगामी वर्ष सुरु गरिने भएको छ । त्यस्तै, ६ सय ३५ मेगावाट क्षमताको जलाशययुक्त दूधकोसी जलविद्युत् आयोजना निर्माण सुरु गरिने भएको छ । 

गौरवका सिँचाइ आयोजना
सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरबाट थप २ हजार हेक्टरमा र पूर्वी खण्डको शाखा नहरबाट ६ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याइनेछ । यस आयोजनाका लागि १ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, रानीजमरा–कुलरिया सिँचाइ आयोजनाका लागि २ अर्ब ३५ करोड र महाकाली सिँचाइका लागि १ अर्ब २५ करोड विनियोजन गरिएको छ । त्यस्तै, बबई सिँचाइका लागि पनि १ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

See More On

सुझावित समाचार