सरकारले अध्यादेशमार्फत सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा खेलकुदका पुरानै कार्यक्रममले निरन्तरता पाएका छन् । सरकारले खेलकुदतर्फ स्थानीय तहमा पूर्वाधार निर्माणलाई प्राथमिकत दिएको छ । पूर्वाधार निर्माणमा पनि क्रिकेट र फुटबललाई प्राथमिकता दिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले झापाको दमकमा अन्तर्राष्टियस्तरको मदन भण्डारी रंगशाला दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माण प्रारम्भ गरिने जनाए ।
यस्तै, मोरङको बैजनाथपुर, काठमाडौंको मूलपानी, रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालगञ्ज र कञ्चनपुरको महेन्द्रनगरमा निर्माणाधीन क्रिकेट मैदान सम्पन्न गर्न आवश्यक रकम विनियोजन गरिएको उनले जनाए ।
पोखरा रंगशाला निर्माण अर्को वर्ष सम्पन्न गरिने उनले जनाए । सक्रिय खेलजीवनबाट सन्न्यास लिएका खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियतमा कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले जनाए ।
धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जनकपुरधाम र इटहरीमा प्रादेशिक रंगशाला निर्माण गरिने भएको छ ।
सबै स्थानीय तहमा खेल पूर्वाधार निर्माण गरिने योजनाअनुसार आगामी आर्थिक वर्षमा एक सय ६८ स्थानीय तहमा खेलग्रामको निर्माण गर्न रकम विनियोजन गरिएको उनले जनाए । यस्तै, सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाई अल्टिच्युट स्पोट्स ट्रेनिङ सेन्टर निर्माण गर्न रकम विनियोजन गरिएको पनि अर्थमन्त्री पौडेलले जनाए । युवासहित खेलकुदका यी सबै कार्यक्रमका लागि सरकारले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत दुई अर्ब ७४ करोड रकम विनियोजन गरेको जनाएको छ ।