कोरोना भाइरसको संक्रमणले श्वासप्रश्वासमा समस्या देखिएपछि सर्केगार्ड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीलाई हेलिकाेप्टरबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ । बिहीबार बेलुकादेखि जिल्ला अस्पताल हुम्लामा राखिएका स्वास्थ्य संयोजक सन्तोष धामीलाई श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि हुम्लाबाट जुम्ला पठाइएको हो ।
धामीको अवस्था निकै संकटग्रस्त भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रिफर गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । सिम्रिक एयरको हेलिकाेप्टरबाट जुम्ला पठाइएको छ । हेलिकप्टरको भाडा सर्केगार्ड गाउँपालिका र सम्बन्धित व्यक्तिले तिर्ने कुरा रहेको जनस्वास्थ्य प्रमुख सिंहको भनाइ छ ।
गाउँगाउँमा कोरोना भाइरसको संक्रमण बढ्दै गए पनि जिल्लास्थित सम्बन्धित निकायहरू मौन देखिनु दुःखद भएको स्थानीयको गुनासो छ ।