केपी ओली पुनः प्रधानमन्त्री नियुक्त, शपथ आज २:३० बजे

बिहिबार, ३० बैशाख, २०७८
डिजिटल संस्करण

नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी 

ओलीको प्रधानमन्त्री यात्रा
- पहिलोपटक– २४ असोज ०७२  
- दोस्रोपटक– ३ फागुन ०७४ 
- तेस्रोपटक– ३० वैशाख ०७८ 

तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त केपी ओलीलाई शुक्रबार २:३० बजे शपथ गराउने राष्ट्रपति कार्यालयको तयारी छ । शुक्रबारै ओलीले अहिलेका आधाजति मन्त्रीलाई निरन्तरता दिने गरी मन्त्री नियुक्तिको तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार पहिलो चरणको मन्त्रिमण्डल विस्तारमै ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहलाई पनि समेट्ने तयारी गरेका छन् ।

‘वरिष्ठ नेतासँग प्रधानमन्त्रीले यसअघि पहिलो चरणमा मन्त्री बन्नुभएकालाई आवश्यकताअनुसार बिदा दिने र नयाँ मन्त्री नियुक्त गर्ने सहमति गर्नुभएको छ, त्यसअनुसार नै केही नयाँ अनुहारसमेत समेटेर मन्त्री नियुक्त हुनेछन्,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो ।

नेपाल समूहबाट ओलीकै टिममा मन्त्री भइसकेकाबाहेकलाई पहिलो चरणमा समेट्ने सम्भावना रहेको बताइएको छ । जसअनुसार पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसहित नेपाल समूहका केही नेता पहिलो चरणमा मन्त्री बनाइने बताइएको छ ।

सुझावित समाचार