कोभिडका कारण एक वर्षदेखि एक्याप र टिम्सको कार्यालय बन्द

शनिबार, २५ बैशाख, २०७८
डिजिटल संस्करण
कोभिडका कारण एक वर्षदेखि एक्याप र टिम्सको कार्यालय बन्द

अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापअन्तर्गत मर्स्याङ्दी गाउँपालिकाको सिम्पानी बगैँचामा कोभिडका कारण बन्द रहेको पर्यटक चेकपोस्ट ।

कोभिडका कारण जिल्लाका विभिन्न स्थानमा पर्यटकका लागि स्थापना गरिएका पर्यटक जाँच केन्द्रको कार्यालयहरू बन्द भएका छन् । लमजुङमा एक्याप र टानले पर्यटकको आगमनमा कमी भएसँगै अघिल्लो वर्षदेखि नै आफ्ना कार्यालयहरू बन्द गराएका हुन् ।

लमजुङमा अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप र ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल टानले पर्यटनसम्बन्धी सेवा प्रवाह गर्दै आएका छन् । एक्यापले जिल्लाको मर्स्याङ्दी गाउँपालिका सिम्पानी र घलेगाउँको पर्यटक चेकपोस्ट कार्यालय बन्द गरेको छ । त्यस्तै, टानले सदरमुकाम बेँसीसहरमा स्थापना गरेको टिम्सको कार्यालय बन्द गरेको हो । बेँसीसहरमा सन् २००७ बाट टानले पर्यटक सूचना जाँच केन्द्र (टिम्स)को कार्यालय स्थापना गरेको टिम्स बेँसीसहरका कार्यालय प्रमुख नन्दराज भट्टले बताए । उनले भने, ‘०७७ चैत ११ गतेदेखि नै पर्यटक आगमन कमी भएसँगै बन्द भएको हो ।’

टिम्सको कार्यालय पर्यटकीय गतिविधि पुनः सञ्चालन नभएसम्म सञ्चालन गर्न नसकिने टान पश्चिमाञ्चल अध्यक्ष सुशीलराज पौडेलले बताए । जिल्लामा टानले टिम्समार्फत अन्नपूर्ण पदमार्ग र अन्य जिल्ला भित्रिएका र जिल्लाबाट बाहिरिने पदयात्री पर्यटकहरूको सूचना तथा तथ्यांक संकलन गर्दै आएको थियो ।

एक्यापले जिल्लाको दुईवटा कार्यालय बन्द गरी इलाका कार्यालय भुजुङ र सदरमुकाम बेँसीसहरमा मात्रै कार्यालय सञ्चालन गरेको छ भने टानले सञ्चालन गरेको टिम्सकोे एक मात्र कार्यालय पूर्ण रूपमा बन्द भएको छ । एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र प्रवेश गर्ने पर्यटकलाई अनुमति दिने र उनीहरूको तथ्यांक राख्ने गर्दै आएको थियो ।

टान र एक्याप दुवै संस्थाले प्रावधानबमोजिम पर्यटकहरूबाट शुल्क उठाएर सरकारलाई राजस्व बुझाउने गरेका छन् । सोही रकमको केही हिस्साबाट कार्यालय व्यवस्थापन हुँदै आएको थियो । कार्यालय विस्थापित भएसँगै कर्मचारीहरूको रोजगारीसमेत गुमेको पर्यटक सूचना जाँच केन्द्र (टिम्स) बेँसीसहरका कार्यालय प्रमुख नन्दराज भट्टले बताए । हाल एक्यापले सदरमुकाम बेँसीसहरको कार्यालयबाट साबिकजस्तै पर्यटकहरूलाई अनुमतिपत्र प्रदान गर्दै आएको छ ।

बेँसीसहरस्थित टिम्सको कार्यालय विस्थापित भएपछि अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा मात्रै पर्यटक जाँच हुने गरेको छ । वर्षमा दुई सिजन बाह्य पर्यटकहरूको चाप रहने लमजुङमा कोभिड प्रभावका कारण गत वर्षदेखि नै पर्यटन व्यवसाय सुनसान बनेको छ । पर्यटन व्यवसाय सुनसान बनेसँगै पर्यटन व्यवसायी र पर्यटन सेवाप्रदायक संस्थासमेत संकटमा परेका छन् ।

See More On

सुझावित समाचार