एनएसएल विजेतालाई ३५ लाख

शनिबार, ११ बैशाख, २०७८
डिजिटल संस्करण

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पाउने भएका छन् । आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसएल) ले शुक्रबार दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा विजेता र उपविजेताले पाउने धनराशि जानकारी गराएको हो । यसैबीच आयोजनाले प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । दशरथ रंगशालामा शनिबार साँझ ५ः३० बजे उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबलले ललितपुर सिटी एफसीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

नेपालको पहिलोपटक फ्रेन्चाइज बेसमा सञ्चालन हुन लागेको एनएसएलमा सात टोली सहभागी छन् । ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, विराटनगर सिटी एफसी, पोखरा थन्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी एफसीको सहभागी रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा २५ खेल हुनेछ । एनएसएल लिगका म्यान अफ दी म्याचले २५ हजार रुपैयाँ पाउनेछन् । यसैगरी इकर्जिन प्लेयर अफ दी म्याच खेलाडीले १० हजार रुपैयाँ पाउने आयोजकको भनाइ छ । 

यसैगरी लिगमा उत्कृष्ट प्रदर्शन गर्ने स्ट्राइकर, गोलरक्षक, मिडफिल्डर र डिफेन्डरले जनही एक लाख रुपयाँ प्राप्त गर्नेछन् । लिगका उत्कृष्ट प्रशिक्षकलाई समेत नगद पुरस्कारको व्यवस्था छ । प्रतियोगिता अवधिभर सहभागी टोलीका कुनै एक खेलाडी कोरोना संक्रमित वा घाइते भए यसअघि अक्सनमा अनसोल्ड खेलाडीले मौका पाउने आयोजकले जनाएको छ । आयोजित पत्रकार सम्मेलनमा सबै फ्रेन्चाइज टोलीका कप्तान तथा प्रशिक्षकले आफ्नो तयारी पूरा भएको बताएका छन् ।

कप्तान तथा प्रशिक्षकले आफ्नो टोलीले नै उपाधि उचाल्ने दाबी गरेका छन् । कोरोना भाइरस महामारीका रूपमा फैलिएको जनाउँदै प्रतियोगिता दर्शकरहित हुनेछ । धनगढीका प्रशिक्षक युगलकिशोर राईले छोटो समयको तयारी पनि राम्रो रहेको जनाएका छन् । यो अवधिमा मोफसलमा आयोजना भएका प्रतियोगिताले केही असर पुर्याएको बताए । यसैगरी विराटनगरका प्रशिक्षक यान लले नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज लिगमा खेलाडीहरूले राम्रो तयारी गरेको बताएका छन् । 

यद्यपि थोरै समयको तयारी भए पनि आफ्नो टोलीले उपाधि उचाल्ने उनले जनाए । चितवनका प्रशिक्षक मेघराज केसीले तयारी समय अपुग भएको जनाए । टोलीमा राम्रा घरेलु तथा विदेशी खेलाडी रहेको उनको भनाइ छ । काठमाडौं रेन्जर्सका प्रशिक्षक बालगोपाल महर्जनले सबै टोलीमा तयारी समस्या भएको जनाएका छन् । उनले आफूहरूको तयारी जस्तो भए पनि प्रतियोगितामा उपाधि जित्नकै लागि प्रतिस्पर्धा गर्ने बताए । बुटबलका प्रशिक्षक सनोज श्रेष्ठले टोलीको तयारी शतप्रतिशत भएको बताए । उनका अनुसार बुटबलका सबै खेलाडी फिट छन् । यसैगरी ललितपुरका प्रशिक्षक प्रदीप हुमागाईले तयारी राम्रो रहेको बताए । 

See More On

सुझावित समाचार