भलिबलमा कुमारको क्रान्ति

शनिबार, २८ चैत, २०७७
डिजिटल संस्करण

कलंकी चोकदेखि दुई किलोमिटर भित्र छिरेपछि पुगिन्छ, न्यु डायमन्ड एकेडेमी । न्यु डायमन्डको प्रांगण पुग्नेहरूलाई लाग्दैन त्यहाँ भलिबलको प्रशिक्षण हुन्छ ।धुलैधुलोले भरिएको खुला मैदानमा भलिबल कोर्टको निसानीसम्म देखिँदैन । हावा चल्दा आँखै नदेखिने गरी धुलो उड्ने यही मैदानबाट पछिल्लो झन्डै १४ वर्षमा आधा दर्जन बढी राष्ट्रिय खेलाडी जन्मिएका छन् । त्योभन्दा महत्वपूर्ण कुरा यही धुलेमैदानबाट सुरु भएको एउटा अभियानले महिला भलिबलप्रति ठूला आशा जगाएको छ । 

अझ महत्वपूर्ण कुरा त्यो अभियानले घरेलु खेलकुदमा महिला भलिबलको व्यापक ‘क्रेज’ बढाएको छ । त्यसको मुख्य अभियानकर्ता हुन्, कुमार राई । १४ वर्षअघि (२०६४ जेठमा) त्यही धुलेमैदानबाट उनले सुरु गरेको यो अभियानले अहिले नेपाली महिला भलिबलमा क्रान्ति नै गरेको छ । 

महिनैपिच्छे तलब पाउने तथा दैनिक प्रशिक्षणमा बिताउने विभागीय टोलीहरूको दबदबा रहने नेपाली खेलकुदमा विद्यालय पढ्ने साना नानीहरूलाई सिकाएर कुमार ठूला प्रतियोगिता नै जितिदिन्छन् । कुमारको टोली न्यु डायमन्ड कोर्टमा उत्रँदाको दृश्य नै फरक हुने गर्दछ । 

अनुभवी र ठूला कदका खेलाडीविरुद्ध कोर्टको अर्काेपट्टि न्यु डायमन्डका कद र उमेरमै पनि साना नानीहरू हुन्छन् । त्यही साना नानीहरूको प्रदर्शन हेरेपछि थाहा हुन्छ, कुमारको भलिबल क्रान्ति । बिहीबार सम्पन्न राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) नेपाल भलिबल संघ (एनभिए) राष्ट्रिय महिला तथा पुरुष लिग भलिबलको उपाधि जितेर कुमार राई र उनको टोलीले त्यही क्रान्तिलाई निरन्तरता दिएका छन् । त्यसपछि यी ‘जिनियस’को चर्चा त आवश्यक हुने नै भयो । 

महिनैपिच्छे तलब पाउने तथा दैनिक प्रशिक्षणमा बिताउने विभागीय टोलीहरूको दबदबा रहने नेपाली खेलकुदमा विद्यालय पढ्ने साना नानीहरूलाई सिकाएर कुमार ठूला प्रतियोगिता नै जितिदिन्छन्

शब्द अप्रिय हुन सक्छ, तर कुमार भलिबलप्रति पागल मान्छे हुन् । जीवनमा उनले जानेको खेल नै भलिबल हो । अझ भनौँ, भलिवल त उनले आफ्नो जीवनसँग साटेको प्रिय कला हो ।

भलिबलका लागि कुमारले के मात्रै गरेनन् । जागिर छाडिदिए । आफ्नो जीवनको सुखसुविधा त्यागिदिए । ‘मैले भलिबलमा लागेर ६०–६५ लाख सकेँ,’ उनी हिसाब सुनाइहाल्छन् ।

उनी भलिबलप्रति यतिको पागल हुन्थेनन् त जमानामै यो खेल त्यागिसकेका हुन्थे । न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपलसमेत रहेका उनी भन्छन्, ‘भलिबलमा यसरी नलागेको भए सायद मेरो अहिले आफ्नै घर हुन्थ्यो । स्कुटरको सट्टा आफ्नै गाडीमा चढ्न सक्ने हैसियत हुन्थ्यो ।’

तर, कुमार यस्तो नभइदिएको भए नेपाली भलिबलले प्रतिभा मालीजस्ता खेलाडी कहाँ पाउँथ्यो ? कुनै समयका चर्चित स्पाइकर रमिला तण्डुकारदेखि वर्तमान राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य रेश्मा भण्डारी, सलिना श्रेष्ठ, कृपा अधिकारीजस्ता खेलाडी कहाँ जन्मिन्थे ? 

प्रतिभा, रमिला, रेश्मा, सलिना र कृपालगायतका खेलाडी उनै कुमारले भलिबलको कखरा सिकाएका खेलाडी हुन् । यी खेलाडी उनले आफ्नो सबै त्यागेर सुरु गरेको अभियानको मीठो फल हो । उनको एकेडेमीमा यस्ता अरू धेरै खेलाडी छन्, जसले भविष्यमा नेपाली महिला भलिबलका लागि महत्वपूर्ण योगदान पुर्‍याउन सक्नेछन् ।

भलिबल सपना पछ्याइरहेका यी भुइँमान्छेको खेलप्रतिको बुझाइ नै फरक छ । त्यही फरक बुझाइले उनको अभियानमा सफलता जोड्ने काम गरेको छ । चीनबाट भलिबल प्रशिक्षणसम्बन्धी लेभल वान र भारतबाट लेभल टु कोर्स गरेका कुमारलाई नेपाली भलिबलको विकासका लागि अरूले दिएको ज्ञानले मात्रै पुग्दैन भन्ने लाग्यो । किन? उनी भन्छन्, ‘विदेशी प्रशिक्षकले अग्ला खेलाडीलाई भलिबल कसरी सिकाउने भन्नेबारे सिकाउँछ । किनभने उनीहरूले होचा खेलाडी त देखेकै हुँदैनन् । मैले उनीहरूले सिकाएको ज्ञानमा थप आफ्नै अनुभव थपेर हाम्रोजस्तो होचा खेलाडीलाई पनि प्रशिक्षण दिन सिकाएँ । त्यसअनुसार प्रशिक्षण शैली अपनाए ।’

सम्भवत उनका लागि त्यही शैलीले काम गरेको छ । नेपाल भलिबल संघले आयोजना गर्ने राष्ट्रिय च्याम्पियनसिपदेखि धेरै प्रतियोगिता न्यु डायमन्डका साना (कद र उमेरमा) खेलाडीले नै जितेका छन् । 

बढ्दो सफलता, बढ्दो अपेक्षा
न्यु डायमन्डले पाँच जेठ २०६४ को दिन भलिबल प्रशिक्षण सुरु गरेको थियो । त्यो दिनलाई उनीहरू अहिले पनि आफ्नो भलिबल दिवसका रूपमा मनाउँछन् । रमिला, रेश्मालगायत खेलाडी त्यही दिनबाट भलिबल खेल्न सिकेका न्यु डायमन्ड एकेडेमीको पहिलो ब्याचका खेलाडी हुन् । 

तर, त्यसवेला न्यु डायमन्डले खेलाडी उत्पादन गरौँ वा भलिबललाई योगदान पुर्‍याऔँ भनेर प्रशिक्षण सुरु गरेको थिएन । कुमार भन्छन्, ‘हाम्रो बुझाइ थियो कि विद्यार्थी शारीरिक रूपमा सक्रिय भयो भने मात्रै मानसिक रूपमा पनि राम्रो हुन्छन् । त्यसका लागि मात्रै हामीले भलिबल प्रशिक्षण सुरु गरेका थियौँ ।’

जब प्रशिक्षण सुरु भयो, टोलीले विद्यालय स्तरका प्रायः प्रतियोगिता जित्न थाल्यो । टोलीको बढ्दो सफलतासँगै न्यु डायमन्डको योजनामै परिवर्तन आयो । यी सफलतापछि खेलाडी उत्पादन र भलिबलको विकासका लागि योगदान गर्नुपर्छ भन्ने निर्णय गर्‍यौँ । 

त्यसपछि टोलीले देशैभरि आयोजना हुने अरू ठूला प्रतियोगितामा पनि सहभागिता जनाउन सुरु गर्‍यो । ती प्रतियोगितामा पनि सफलता मिल्यो । न्यु डायमन्ड अब विद्यालयको टोलीबाट क्लबका रूपमा परिणत भएको छ । गत वर्ष जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी न्यु डायमन्ड क्लब बनेको छ । 

क्लबले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न मिल्ने आफ्नै छुट्टै कभर्ड हलको निर्माणदेखि आफ्ना खेलाडीको भविष्य सुनिश्चित गर्ने विभिन्न कार्यक्रम तय गरेको छ । तर, त्यसका लागि कुमार एउटा सशक्त खालको सहयोगी टोलीको खोजीमा छन् । 

‘सधैँभरि भलिबलका लागि गोजीको पैसा सकाएर मात्रै पनि भएन । अब भलिबलमा लागेका खेलाडीको भविष्य सुनिश्चित पनि गर्न सक्नुपर्छ,’ उनी भन्छन्, ‘हामीले धेरै योजना अघि सारेका छौँ । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न मिल्ने आफ्नै कभर्ड हल निर्माण गर्ने, खेलाडीलाई मासिक तलब दिने । त्यसका लागि आवश्यक स्रोत तय गर्नेलगायतका कार्यक्रम तय गरेका छौँ । केही सहयोगी व्यक्ति र संस्थाबाट आश्वासन पनि आएको छ । मात्रै यो कामका लागि सहयोाग गर्न सक्ने स्वयंसेवीहरूको खोजीमा छु । त्यसपछि यो काम अघि बढ्नेछ ।’

उनका अनुसार जग्गा निश्चित भएपछि त्यस क्षेत्रका सांसद एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले कभर्ड हल बनाइदिने वचन दिएका छन् । अरू धेरै संस्थाले पनि आवश्यक सहयोग गर्ने वचन दिएको उनी सुनाउँछन् । नेपाली महिला भलिबलमा ठूलो परिवर्तन ल्याउने उनको यो योजना सफल हुनेनहुने तिनै वचनदाताको बोलीमा अड्किएको छ ।

उमेरले पाँच दशक पुगिसकेका उनले यो अभियानलाई कहिलेसम्म अघि बढाउलान् ? उनको योजना स्पष्ट छ, ‘हुन त उमेरको भर हुँदैन, तर मैले नानीहरूलाई ८० वर्षअघि कर्ममा र त्यसपछि धर्ममा हुनेछु भनेर भनिसकेको छु । ८० वर्षपछि अवकाशप्राप्त जिन्दगी बिताउनेछु ।’ 

उनले सक्रिय जीवनबाट सन्न्यास लिनुअघिको आफ्नो दुई योजना पनि सुनाएका छन्, ‘प्रतिभाजस्तो उत्कृष्ट खेलाडी आइसकेकी छिन् । अब उनीभन्दा राम्रो खेलाडी जन्माउने र एकपटक न्यु डायमन्ड एकेडेमीलाई अन्तर्राष्ट्रिय एरिनामा उतार्ने योजना छ ।’

‘प्रतिभाको त्याग’

आफूले धेरै अभाव र पीडा सहेर हुर्काएको खेलाडीले क्लब छाड्दाको पीडा कुमारले धेरै भोगेका छन् । ‘एक समय रमिलाले क्लब छाड्दा म चार–पाँच दिन सुत्न सकेको थिइनँ,’ कुमार पुरानो कुरा कोट्याउँछन् ।

त्यसरी खेलाडीले क्लब छाड्दा उनको वर्षाैंदेखिको योजनामा धक्का पुग्ने गर्दछ । धेरै मिहिनेत गरेर तयार पारेको टोलीको एउटा पक्ष कमजोर बन्न जान्छ । प्रतिभाको ब्याच हुर्किएपछि भने कुमारले त्यो पीडा व्यहोर्नुपरेको छैन । नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टमा नाम निकालेपछि सेटर कृपा अघिकारीले क्लब छाडिन् । त्यसबाहेक अन्य खेलाडी उनीसँगै छन् । 

प्रतिभा र अन्य खेलाडीको साथ पाएरै कुमारले क्लबको अवधारणासहित अरु कार्यक्रम अघि सारेका हुन् । आफ्नो गुरुको त्याग र लगन देखेकी प्रतिभाले आफ्नो सम्पूर्ण खेलजीवन नै न्यु डायमन्डका लागि सुम्पिएकी छिन् । ‘मैले गुरुको त्याग देखेको छु । सुरुवातमा केही दिदीहरूले क्लब छाड्दाको पीडा हामीले पनि व्यहोरेका थियौँ,’ प्रतिभा भन्छिन्, ‘त्यसैले पनि मैले जति भलिबल खेल्छु, यहीँबाट खेल्ने निर्णय गरेकी छु ।’

कुमारले प्रतिभाका लागि जति त्याग गरेका छन्, उनले पनि गुरुका लागि उत्तिकै त्याग देखाएका छन् । प्रतिभाले इच्छा गर्ने हो भने कुनै पनि टोली उनलाई लिन तयार छन् । तुलनात्मक रूपमा उनको भविष्य पनि राम्रो बन्न सक्यो । तर, प्रतिभा आफ्नो गुरुलाई यो हालतमा छाड्न तयार छैनन् । बरु, गुरुको योजनामा सहयोग गर्न तयार भएकी छिन् । गोल्डेन गेट कलेजमा ब्यालचर पढ्दै गरेकी प्रतिभा अहिले पनि नियमित अभ्यासका लागि न्यु डायमन्ड पुग्छिन् । गुरु कुमारसँगै प्रशिक्षण लिन्छिन् र प्रतियोगिता पनि न्यु डायमन्डबाटै खेल्छिन् । 

सुझावित समाचार