अन्यत्रै हत्या गरेर शव ल्याएर गाडिएको हुन सक्ने प्रहरी अनुमान
एक महिनादेखि बेपत्ता महोत्तरी पिपरा गाउँपालिका– ५ सहोडबाका झादम्पतीको शव बिहीबार गाडिएको अवस्थामा फेला परेको छ । झादम्पतीको घरभन्दा झन्डै साढे तीन किलोमिटर दूरीमा शव फेला परेको हो ।
सहोडवाका मुसाफिर झा र उनकी पत्नी गीतादेवी झा गत १० फागुनको रातिदेखि बेपत्ता भएका थिए । पिपरा– २ अतरात टोल जाने बाटोछेउको खाल्डोमा गाडिएको अवस्थामा दुवैजनाको शव फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले बताए । ‘ठूलै खाल्डो खनेर शव पुरेको रहेछ,’ उनले नयाँ पत्रिकासँग भने, ‘दुवै शव सडेको अवस्थामा छ ।’

खाल्डो खनेर निकालिएको शवको झाका छोराबुहारीले सनाखत गरेका छन् । गीतादेवीले लगाएको कपडा, पोते र चुराले उनको पहिचान भएको छ भने मुसाफिरले लगाएको टिसर्टले उनको पहिचान भएको डिआइजी सिंहले बताए । यसअघि दम्पतीको अपहरण गरेको भन्दै प्रहरीले चारजनालाई पक्राउ गरेको थियो । पिपरा गाउँपालिका– ५ सहोडवाकै ५२ वर्षीय रामबाबु यादव, उनका छोराहरू २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव तथा पिपरा– ६ बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुरमाथि प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
झाको परिवारले उनीहरूले अपहरण गरी शरीर बन्धकसम्बन्धी मुद्दामा ५ चैतमा किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये रामबाबु यादवको घरको विभिन्न स्थानमा फेला परेको रगतको छिटा मानव रगत नै भेटिएको परीक्षणबाट पुष्टि भएको प्रहरीको भनाइ छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ । फरेन्सिक जाँचका लागि पनि पठाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए ।
यसरी भेटियो शव
बिहीबार बिहान अतरात टोल जाने बाटोछेउको खाल्डोमा स्थानीय केटाकेटी खेलिरहेका थिए । उनीहरूले मानव खप्पर र हात देखेपछि आफ्ना अभिभावकलाई बताए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । सिआइबी, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले शव गाडिएको क्षेत्र उत्खनन गरेको थियो । अन्तै हत्या गरेर शव ल्याएर गाडिएको हो वा त्यहीँ हत्या गरिएको हो भन्ने खुल्न बाँकी छ । एसपी आचार्यले दुवै सम्भावना रहेकाले अनुसन्धानपछि मात्र खुल्ने बताए । परिवारका सदस्यले शवको पहिचान गरे पनि फरेन्सिक जाँचपछि यकिन हुने उनले बताए ।

गत १० फागुन राति झादम्पतीको सुतेकै कोठाबाट अपहरण भएको थियो । भोलिपल्ट बिहानै घरमा सासू–ससुरा नदेखेपछि कान्छी बुहारीले प्रहरीलाई खबर गरेकी थिइन् । सुरुमा प्रहरीले अनुसन्धानमा खासै सक्रियता नदेखाएपछि आलोचना भएको थियो । प्रहरीले अनुसन्धानमा विलम्ब गरेपछि पीडित परिवार, स्थानीय र अधिकारवादी विभिन्न संघसंस्थाले झादम्पतीको ‘कि सास देऊ, कि लास देऊ’ भन्दै आन्दोलन गर्दै आएका थिए । पछि उच्च सुरक्षा अधिकारीहरू र सिआइबीको टोलीले अनुसन्धान गरिरहेको थियो । शव बरामद भए पनि हत्या अहिले प्रहरी नियन्त्रणमा रहेको चारजनाबाटै भएको हो–होइन भन्ने खुलाइएको छैन ।
प्रहरी अनुसन्धान भन्छ– आरोपितबाटै हत्या भएको हो
अनुसन्धानमा संलग्न प्रहरीले पक्राउ परेकाहरूबाटै झादम्पतीको हत्या भएको अनुसन्धानको निष्कर्ष रहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले संकलित विभिन्न प्रमाणले उनीहरूबाटै हत्या भएको निष्कर्षको नजिक पुगिएको बताए । घटनास्थल र त्यसको सामुन्ने घर भएका अभियुक्तहरूको घरमा भेटिएको रगतको परीक्षणले अहिले प्रहरी नियन्त्रणमै रहेकाहरूबाटै अपराध भएकोजस्तो देखिएको उनको भनाइ छ । अनुसन्धान प्रभावित हुने भएकाले कतिपय विवरण सार्वजनिक नगरिएको उनले बताए ।

अनुसन्धानका क्रममा प्रहरीले चारैजनाको पोलिग्राफ टेस्ट पनि गरेको थियो । टेस्टमा आरोपितहरूले झुटो बोलेको पाइएको थियो । आरोपितका घरको बरन्डा र कोठाभित्र रगत भेटिएको र घटनासँग सम्बन्धित अन्य प्रमाणले थप साथीहरूको सहयोगमा उनीहरूले नै हत्या गरेको देखिने एसपी आचार्यले बताए । सुरुदेखि नै प्रहरीले निरन्तर सर्च अप्रेसन गरेको, नेपालदेखि भारतका विभिन्न सम्भावित स्थान पुगेर अनुसन्धान गरेको भन्दै अनुसन्धान प्रभावित हुने भएकाले कैयौँ विवरण प्रहरीले सार्वजनिक गर्न नसकेको बताए ।
प्रहरीले बिहीबार शव भेटिएको स्थानमा एक–दुई दिनअघि मात्र शव ल्याएर गाडिएको आशंका गरेको छ । ‘अनुसन्धानका क्रममा त्यो स्थानमा हामीले पहिले नै खोजी गरिसकेका थियौँ । त्यहाँ दुई दिनअघि मात्र माटो हालिएको छ । त्यसको माथिल्लो भागमा शव भेटिएकाले पनि पहिलेदेखि नै त्यहाँ शव गाडिएको थियो भन्न सकिने अवस्था छैन । बरु, माटो हालिसकेपछि शव राखिएको हुन सक्छ,’ एसपी आचार्यले नयाँ पत्रिकासँग भने ।
हत्यामा अरूको पनि संलग्नता रहेको प्रहरीको अनुमान छ । ‘हत्यामा संलग्न भएका चारजना आरोपित हाम्रो नियन्त्रणमै रहेका वेला त्यहाँ शव गाडिएको पाइएकाले हत्यामा अरूको पनि संलग्नता रहेको आशंका बलियो भएको हो,’ एसपी आचार्यले भने । उनले अपहरणकै दिन दुवैको हत्या भएको हुन सक्ने बताए । ‘शव सड्न नदिन नुन हालेको देखिएको छ । तर, हालेको नुन पनि गलिसकेकाले अब शव जोगाइराख्न सकिँदैन भन्ने भएपछि त्यहाँ ल्याएर गाडेको हुन सक्ने सम्भावना छ,’ एसपी आचार्यले भने ।