यो महामारी स्थायी हुन सक्छ

बिहिबार, १२ चैत, २०७७
डिजिटल संस्करण

भाइरसका नयाँ–नयाँ भेरियन्टले लगभग नयाँ भाइरसले जस्तै व्यवहार देखाइरहेकाले यसले महामारी स्थायी हुन सक्नेतर्फ संकेत गर्छ 

गत सालयता एउटा अवधारणले हामी सबैको विचारमा घर गरेको छ– कुनै बिन्दुमा यो महामारी समाप्त भएर जानेछ र हामी पुनः सामान्य अवस्थामा फर्किनेछौँ । यो आकलन गलत होला जस्तो छ । सार्स–कोभ–२ (कोभिड–१९) जति छलकारी र निरन्तर रूप बदलिरहन सक्षम छ, त्यसले यो फ्लुजस्तै तर त्यसभन्दा निकै खतरनाक स्थायी शत्रु हुन सक्ने सम्भावना देखाउँछ । यो बिलाउँदै गएछ नै भने पनि हाम्रो दिनचर्या त्यस बखतसम्म अपरिवर्तनीय रूपले परिवर्तन भइसक्नेछ । यसर्थ, पछाडि फर्किने विकल्प छैन । 

अधिकांश महामारी जनसंख्याले एकपटक हर्ड इम्युनिटी प्राप्त गरिसकेपछि हराएर जान्छन् । यसो हुँदा रोगका जीवाणुका निम्ति विस्तारका लागि थोरै मात्र उपयुक्त शरीर उपलब्ध हुन्छन् । हर्ड इम्युनिटी संक्रमणबाट निको भएका मानिसको प्राकृतिक इम्युनिटी र बाँकी जनसंख्याका हकमा खोपबाट प्राप्त हुन्छ । सार्स–कोभ–२ को पछिल्लो विकासक्रमले हामीले कहिल्यै पनि हर्ड इम्युनिटी प्राप्त गर्न नसक्ने पो देखाउँदै छ । अमेरिकामा खोप लगाउने मामलामा अन्य सबै मुलुकलाई उछिनिरहेको अमेरिकासमेत हर्ड इम्युनिटीमा पुग्न सक्ने नदेखिएको वासिंटन विश्वविद्यालयका क्रिस्टोफर मुरे र लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनका पिटर पिओटको निष्कर्ष छ ।

यसको मुख्य कारण उदय भइरहेका भाइरसका नयाँ–नयाँ भ्यरियन्टले लगभग नयाँ भाइरसले जस्तै व्यवहार देखाउनु हो । दक्षिण अफ्रिकामा गरिएको परीक्षणमा पहिले संक्रमण भइसकेका (प्लेसिबो गु्रप) मानिसमा भएको रोगप्रतिरोध क्षमताले उत्परिवर्तित भाइरसविरुद्ध काम नगरेको र पुनः संक्रमित भएको पाइयो । ब्राजिलको परीक्षणबाट पनि यस्तै नतिजा प्राप्त भएको छ । यसले खोपबाट मात्रै दिगो हर्ड इम्युनिटी प्राप्त हुन सक्ने देखाएको छ । साथै, अहिले जति खोप छन्, तीमध्ये पनि केही मात्रै नयाँ भेरियन्टविरुद्ध केही हदसम्म प्रभावकारी देखिएका छन् । तर, समयक्रममा ती पनि नयाँ भेरियन्टविरुद्ध निष्प्रभावी बन्दै जानेछन् । 

महामारीको इतिहासमा यो तुलनात्मक रूपले कमजोर महामारी हो । ठेउलाको महामारीले १० मध्ये नौ अमेरिकी आदिवासीलाई मारेको थियो । ब्ल्याक डेथ पहिलोपटक युरोप छिर्दा भूमध्यसागरीय भूभागका आधा जनसंख्या सखाप पारेको थियो ।

खोप निर्माताहरू नयाँ भेयरियन्टविरुद्ध पनि काम गर्ने नयाँ खोपका लागि समेत प्रयत्नशील छन् । विशेषगरी, आमूल परिवर्तनकारी एमआरएनए प्रविधिमा आधारित खोपलाई इतिहासका कुनै पनि खोपभन्दा छिटो अद्यावधिक गर्न सकिने भएकाले यसैमा उनीहरूको ध्यान छ । तर, यसका लागि आवश्यक सिरम बनाउने, पठाउने र मानिसमा लगाउने समयसम्म ढिला हुन सक्छ । तर, यो प्रक्रियालाई पर्याप्त छिटो बनाउन पनि सकिँदैन । न त पूरै विश्वलाई पर्याप्त हुने गरी नै उत्पादन गर्न सकिनेछ । होला, कुनै क्षेत्रको जनसंख्यामा खोपद्वारा भाइरसविरुद्ध क्षेत्रीय जित हासिल गर्न सकिएला, तर भाइरसले जहाँ–जहाँ खोप नलगाएका उपयुक्त शरीर भेट्टाउँछ, आफ्नो आरएनएको क्रमिक विकास गर्न थालिहाल्छ, नयाँ भेरियन्ट बनाइहाल्ने छ ।

यो भाइरसले आफ्नो प्रतिलिपि उतार्दा कोडिङको गल्ती गरिरहन्छ र त्यसमध्येका केही त्रुटि अझै बढी शक्तिशाली रूपमा उत्परिवर्तित भएर आउँछन् । यी भाइरसका नयाँ अवतारहरू जहाँ–जहाँ प्रशस्त प्रसारण भइरहेका छन्, त्यहाँ पुनः अर्काे भेरियन्ट पनि उदय भैरहेको छ । हामीले बेलायती, दक्षिण अफ्रिकी र ब्राजिली भेरियन्ट निकै खतरनाक भएको देखिसकेकै छौँ  । क्यालिफोर्निया, ओरेगन र अन्य स्थानमा पनि यस भाइरसका भाइ, भतिजा, भान्जाभान्जी देखिइसकेका छन् । अरू स्थानका भाइरसको पनि सिक्वेन्स गरेर हेर्ने हो भने यसका अन्य नातागोता पक्कै पत्ता लाग्ने नै छन् । यसकारण हामीले के ठान्नुपर्छ भने उमेरदार जनसंख्यामा बढी संक्रमणका कारण स्थानीय प्रकोपको कडापन उजागर हुन नपाएको हो । त्यसैले खोप प्राप्त गर्न असफल गरिब मुलुकहरूमा समेत यो भाइरसले तीव्र रूपमा उत्परिवर्तन प्राप्त गरिरहेको हुनुपर्छ । यसैले, गत महिना युएनका महासचिव एन्टोनियो गुटेरेसले विश्वलाई सबै उत्पादित खोपको ७५ प्रतिशत केबल १० मुलुकले नै खपत गरिरहेको र १३० मुलुकले एक डोज खोप पनि पाउन नसकिरहेको तथ्य विश्वलाई याद दिलाएका हुन् । 

समयक्रमसँगै यी भाइरस थप संक्रामक तर कम विषालु होलान् भन्ने पनि छ । यसो भयो भने यो भाइरस एउटा अर्काे कमन कोल्ड (रुघाखोकी) भएर रहनेछ । तर, पछिल्ला रिपोर्टहरूले अर्कै संकेत गरिरहेका छन् । नयाँ भेरियन्ट थप संक्रामक तर कम हानिकारक देखिइरहेका छैनन् । महामारी विज्ञानको हिसाबमा यो नराम्रो समाचार हो । क्रमिक विकासबाट यो भाइरस थप विषालु तर कम संक्रामक हुने सम्भावना पनि छ । यसो हुँदा थप मृत्यु निम्तिए पनि त्यो रेखीय हुनेछ । तर, उत्परिवर्तित भाइरसको विषालुपनमा त परिवर्तन भएन संक्रामक चाहिँ बन्दै गयो भने यसले महामारी र मृत्यु दुवैलाई गुणात्मक बनाउनेछ । यसो भयो भने लन्डन स्कुल अफ हाइजिनका आदम कुर्चास्र्कीका अनुसार हामी प्रकोप, सामाजिक दुरी, लकडाउन र मत्थरको अन्तहीन चक्रमा पर्नेछाैँ । मैले यहाँ अँध्यारो देखाइरहेको होइन । महामारीको इतिहासमा यो तुलनात्मक रूपले कमजोर महामारी हो । ठेउलाको महामारीले १० मध्ये नौ अमेरिकी आदिवासीलाई मारेको थियो । ब्ल्याक डेथ पहिलोपटक युरोप छिर्दा भूमध्यसागरीय भूभागका आधा जनसंख्या सखाप पारेको थियो । अहिलेसम्म कोरोनाले त प्रति १० हजारमा केबल चारजनालाई न मारेको छ ।

(क्लथ ब्लुमवर्गका स्तम्भकार हुन्) 
ब्लुमवर्गबाट 

सुझावित समाचार