कोभिड–१९ को संकटबीच धुलिखेलमा हिमालय दृश्य रिसोर्ट सञ्चालनमा आएको छ । कोरोनाले सबैभन्दा बढी पर्यटन क्षेत्र थलिएका वेला धुलिखेलमा सञ्चालनमा आएको हिमालय दृश्यमा ४० करोड लगानी भएको अध्यक्ष सिबी थापाले बताए । रिसोर्टमा नेपाली कांग्रेसका सांसद एवं व्यवसायी उमेश श्रेष्ठ, पर्यटन व्यवसायी सिबी थापा, श्यामकाजी महत र अशोक श्रेष्ठको लगानी रहेको छ ।
कुल १८ रोपनी क्षेत्रफलमध्ये १३ रोपनीमा निर्माण भएको छ । बाँकी क्षेत्रमा बालबालिकाका लागि फनपार्कलगायत अन्य पूर्वाधार बनाउने तयारी भइरहेको थापाले बताए । गत दसैँमा सञ्चालनमा ल्याउने लक्ष्य राखेर निर्माण सुरु गरिएको रिसोर्ट कोभिड–१९ का कारण ढिलाइ भएको उनले बताए ।
४३ कोठा रहेको रिसोर्टमा दुईवटा सुइट रुम छन् । दुईवटा रेस्टुरेन्ट, साउना, ज्याकुजी, योगा, स्विमिङ पुललगायतका सुविधा रहेको उनले बताए । रिसोर्टमा ३ सय ५० देखि ३ सय ७५ जना अट्ने दुईवटा सेमिनार हल छन् । नेपाली कला र संस्कृति झल्किने गरी रिसोर्ट निर्माण गरिएको उनको भनाइ छ । थापाका अनुसार रिसोर्टमा प्रकृति झल्काउने चित्रकला, ढुंगेधारा, काष्ठकलालाई प्राथमिकता दिइएको छ ।
काठमाडौंदेखि ३० किलोमिटर दूरीमा रहेको रिसोर्टबाट अन्नपूर्ण, गणेश, लाङटाङ, गौरीशंकर, लोत्से हिमालसहित पाँचखाल उपत्यका दृश्यावलोकन गर्न सकिने थापाले बताए । रिसोर्टमा रहेका ४३ वटै कोठाबाट हिमालको दृश्यावलोकन गर्न सकिने उनको दाबी छ । अहिले विदेशी पर्यटक नआएकाले स्वदेशीलाई प्राथमिकतामा राखिएको छ । जसका लागि ५ हजार रुपैयाँमा दुईजनालाई प्याकेजका रूपमा कोठा बिक्री गरिएको छ ।
रिसोर्टका लागि अर्गानिक तरकारी उत्पादन गर्न थप पाँच रोपनी जग्गा खरिद गरिसकेको पनि उनले जानकारी दिए । ‘अहिलेका लागि आन्तरिक पर्यटक लक्षित छौँ । तर, बाह्य पर्यटक पनि लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याएका हौँ,’ थापाले भने । रिसोर्टमा कुल ३९ जनाले रोजगारी पाएका छन् ।