सत्तारुढ एमालेको संसदीय दलको विधान संशोधनसहित पारित भएको छ । बालुवाटारमा शनिबार बसेको संसदीय दलको बैठकले विधान पारित गरेको हो ।
शनिबारको बैठकमा एकता अभियान सञ्चालन गरिरहेका वामदेव गौतम पनि सहभागी भएका थिए । अदालतले एमाले ब्युँत्याएपछि पहिलोपटक दलको बैठकमा उपस्थित गौतमले राजनीतिक र विधानका विषयमा धारणा राखेका थिए ।
गौतमसहित बैठकमा खिमलाल भट्टराई, विन्दा पाण्डे, राजेन्द्र गौतम, कृष्ण दाहाल, मना केसी, विमला विक, गोपाल बम, भानुभक्त ढकाल, शान्ति पाख्रिन, कृष्णभक्त पोखरेलले धारणा राखेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
‘मानवीय सांसदहरूले दिएको सुझाबका आधारमा विधानलाई विधिवत् रूपमा आज हामीले पास गरेका छौँ’ भट्टराईले भने ।संशोधित विधानमा २९ सदस्यीय संसदीय बोर्ड हुने र एकतिहाइ महिला अनिवार्य हुनुपर्ने, संसदीय दलको उपनेतालाई दलको नेताले मनोनयन गर्ने तथा प्रतिनिधि सभाबाट मात्रै दलको नेता चयन गर्ने व्यवस्था गरिएको भट्टराईले जानकारी दिए ।
बैठकप्रति वरिष्ठ नेताद्वय माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका ३८ सांसदले पाँचबुँदे लिखित असहमति राखेका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा जम्मा भएका नेपाल–खनाल पक्षका सांसदको पाँचबुँदे असहमति बालुवाटारमा भएको बैठकमा पेस भएको छ ।