४० वर्षदेखि कसुर कारण भारतीय जेलमा कैदी भएर बसेका इलामका दुर्गाप्रसाद तिम्सिना शनिबार छुट्ने भएका छन् । शुक्रबार सबै अदालती प्रक्रिया सकिएको र भोलि उनलाई छाडिने दुर्गाप्रसादका वकिल हिरक सिन्हाले जानकारी दिए ।
दीपक जैशीका नामले भारतीय जेलमा चिनिएका तिम्सिनालाई लिन उनका भाइ प्रकाशचन्द्र तिम्सिना र विश्व सेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेतलगायत कोलकाता पुगेका छन् । शुक्रबार कोलकातास्थित उच्च अदालतमा उनका भाइ प्रकाशचन्द्रले दुर्गाप्रसादलाई बुझ्ने सम्झौतामा हस्ताक्षर गरे । इलाम माई नगरपालिका– १० का दुर्गाप्रसाद १९८० मा दार्जिलिङबाट पक्राउ परेका हुन् ।
उनी कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल हो’मा छन् । यद्यपि उनको मुद्दा भने किनारा लागेको छैन । दुर्गाप्रसादको दिमागी अवस्था ठीक नभएको भन्दै अदालतले छाड्ने आदेश मात्र दिएको हो । जसअनुसार उनलाई भाइ प्रकाशचन्द्रले जिम्मा लिनेछन् ।
तर, प्रत्येक ६–६ महिनामा उनको अवस्थाबारे जानकारी गराउनुपर्ने भाइ प्रकाशचन्द्रले बताए । ‘कोलकातास्थित नेपाली महावाणिज्य दूतावासमार्फत ६–६ महिनामा दाइको अवस्थाबारे जानकारी दिनु भनिएको छ,’ उनले भने, ‘४० वर्ष बस्दा पनि किनारा लागेको छैन । के कारणले जेल बस्नुपर्याे भन्ने पनि पत्तो छैन । हत्याको अभियोग लगाइएको छ । तर, यसको कुनै प्रमाण फेला परेको छैन ।’