संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधन भएको छ । विराटनगर महानगरपालिका– ८ निवासी ७८ वर्षीय नेता कोइरालाको बिहीबार बिहान उपचारका क्रममा निधन भएको हो ।
कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि कोइरालालाई विराटनगरको न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान १ बजे राति नेता कोइरालाको निधन भएको थियो ।
स्वर्गीय नेता अशोक कोइराला नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाका भाइ हुन् । ०४९ सालमा विराटनगर उपमहानगरको पहिलो मेयरमा निर्वाचित भएका कोइराला २० वर्षसम्म नेपाली कांग्रेस मोरङको सभापति थिए ।
विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा आबद्ध नेता कोइराला पञ्चायतकालमा पटकपटक पक्राउ परेर जेल बसेका थिए ।
स्वर्गीय नेता कोइरालाको आज दिउँसो १ बजेतिर शवयात्रासहित विराटनगरस्थित घाटमा अन्तिम दाहसंस्कार गर्ने तयारी छ ।
शवयात्रामा नेपाली कांग्रेसका नेताहरू शशांक कोइराला, शेखर कोइराला, मीनेन्द्र रिजाल, डिला संग्रौलालगायत सहभागी हुने बताइएको छ ।