एउटा बन्द घर, एउटा बन्द प्रतिवेदन

बुधबार, ४ चैत, २०७७
डिजिटल संस्करण
एउटा बन्द घर, एउटा बन्द प्रतिवेदन

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

तीन वर्षअघि त्रिभुवन विमानस्थलबाट बानेश्वर लैजाने क्रममा हराएको भनिएको साढे ३३ किलो सुन अझै फेला परेन, सुन तस्करीसम्बन्धी अनुसन्धान प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्कियो

डिल्लीबजारको कालिकास्थानस्थित अध्यागमन विभागसँगै रहेको एक घर विगत तीन वर्षदेखि बन्द छ । भव्य देखिने घरको गेटवरिपरि फोहोर भरिएको छ । यो बन्द घरको कहानी देशकै ठूलो तस्करी प्रकरणसँग जोडिन्छ । घरका मालिक मोहनकुमार अग्रवाल हुन् । 

तीन वर्षअघि घर छाडेर रातारात भागेका उनी नेपाल मात्र होइन, विश्वकै जुनसुकै देशमा पनि पक्राउ पर्न सक्छन् । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले उनीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत पाँच वर्षसम्म करिब ३८ सय केजी सुन तस्करी गरेको अभियोग अग्रवालमाथि छ  । तीन वर्षअघिको बहुचर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्तमध्ये एक हुन् अग्रवाल ।

‘एमके मामा’ उपनामले चिनिने उनी प्रहरीले अनुसन्धान थालेयता परिवारसहित घर छाडेर भागेका थिए । उनी भागेलगत्तै गृह मन्त्रालयको विशेष अनुसन्धान टोलीले उनको घरमा छापा मारेर सुन जोख्ने तथा पैसा गन्ने मेसिनसमेत बरामद गरेको थियो । अग्रवालको घर बिक्रीमा रोक्का राखेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन गरिरहेको छ । तीन वर्ष बित्दा पनि अग्रवाल भेटिएका छैनन् । प्रारम्भिक छानबिनमा उनी भारत भागेको खुलेको थियो । तर, उनलाई भारतबाट नेपाल ल्याउनेतर्फ प्रहरीले चासो दिएको छैन । यससम्बन्धी थप छानबिन प्रहरीका कुनै निकायबाट भएको छैन । 

७७ विरुद्ध मुद्दा दायर, २४ अझै फरार 
मोहन अग्रवाल मात्र होइन, गिरोहका अन्य नाइकेसमेत फरार छन् । हालसम्म ७७ जनाविरुद्ध मुद्दा दायर भएकोमा २४ जना अझै फरार रहेको जिल्ला अदालत मोरङको तथ्यांक छ । गृह मन्त्रालयले गठन गरेको विशेष छानबिन टोलीको अनुसन्धानमा मुख्य नाइके मोहन अग्रवालसहित सुनील अग्रवाल, कालु/किसन/काले भनिने किसनगोपाल अग्रवाल, रमेश उप्रेती, प्रमोदकुमार श्रेष्ठ, मणिराज चौलागाई, कमल कार्की, शिवकुमार गुभाजु, अर्जुन खरेल, रोशन भुसाल भनिने गुप्तलाल भुसालको तस्करीमा मुख्य लगानी रहेको निष्कर्ष निकालेको थियो । त्यस्तै, प्रयास पराजुली, सञ्जय अधिकारी, समीर अधिकारी, भोजराज भण्डारी, रोहित आचार्य, माधव आचार्य, ओमप्रकाश नेवार, सन्दीप खड्का, सुरेन्द्र गौतम, उस्तम मियाँ, टुकबहादुर मगर, भविन तामाङ, आरबी भनिने रक्षा भण्डारीको पनि संलग्नता देखिएको थियो । तर, अझैसम्म उनीहरू पक्राउ परेका छैनन् । 

इन्टरपोलले मोहन अग्रवाल, भोजराज भण्डारी, रोहित आचार्य, टुकबहादुर मगर, कृष्ण बस्नेत, मोहम्मद उस्ताम मियाँविरुद्ध ‘रेड नोटिस’ जारी गरेको छ । ‘रेड नोटिस’मै भएका गोरेका भाइ रमेश उप्रेतीलाई युएई प्रहरीले डेढ वर्षअघि नै पक्राउ गरेको थियो । तर, अहिलेसम्म उनलाई नेपाल ल्याउन सकेको छैन । तारेखमा रहेका उनले अहिले पनि दुबईमा व्यवसाय गरिरहेका छन् । 

फरार अभियुक्तद्वय प्रयास पराजुली र सन्दीप खड्काविरुद्ध भने ‘डिफ्युजन’ नोटिस जारी भएको छ । सन्दीप खड्का दुबईमै कान्तिपुर ट्राभल चलाउँदै आएका छन् । उनीहरूलाई प्रहरीले खोजेको पनि छैन । रेड नोटिसमा भएकालाई दुबईबाट नेपाल ल्याउन प्रहरीले पहल गरे पनि अन्य फरारको हकमा प्रहरीबाट थप अनुसन्धान हुन सकेको छैन । सरकारबाट थप छानबिनमा निर्देशन नआएको उच्च प्रहरी स्रोत बताउँछ । 

एसएसपीसहित ३३ थुनामा, १९ जना धरौटीमा छुटे
यो प्रकरणमा ३३ जना अझै थुनामा छन् । जसमा चारजना प्रहरी अधिकृत मात्र छन् । तस्करीमा संलग्नलाई विमानस्थलमा सघाएको अभियोगमा पक्राउ परेका तत्कालीन एसएसपी श्याम खत्री, डिएसपी सञ्जयसिंह राउत, हवल्दार विष्णुबहादुर खड्का र जवान अम्बरबहादुर थापा मगर पुर्पक्षका लागि कारागारमा छन् । पूर्वडिआइजी गोविन्द निरौलालगायतका प्रहरी भने उच्च अदालतबाट साधारण तारेखमा छुटेका थिए । थाई एयरलाइन्सका कर्मचारीको मिलेमतोमा भर्याङ नै मोडिफाई गरेर संगठित रूपमा सुन तस्करी हुँदै आएको र त्यसमा विमानस्थलका केही प्रहरीले साथ रहेको खुलेको थियो । 

कारोबारमा संलग्न अन्य २९ जना पनि थुनामै छन् । गोरे भन्ने चूडामणि उप्रेती, टेकबहादुर मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, कृष्ण भन्ने नरेन्द्र कार्की, राजन कुमार, भुजुङ गुरुङ, डा. डेबिट भनिने छिरिङ वाङ्देल घले, वेनु श्रेष्ठ, हरिशरण खड्का, एलबी मगर भन्ने लालबहादुर मगर, चन्दन भन्ने वीरेन्द्रमान श्रेष्ठ, सम्बिरप्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ कारागारमा छन् । दोराम खत्री, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, तक्ले भन्ने पुण्यप्रसाद लामा, हेमन्त गौतम, राजु महर्जन, रामहरि कार्की, राजन थापा, अमरमान डंगोल, तुलाराम थारू, विष्णुबहादुर खड्का, अम्बरबहादुर थापा मगर, सञ्जयबहादुर राउत, श्याम खत्री, फाल्दुङ भनिने लक्ष्यबहादुर गुरुङलाई पनि अदालतले थुनामै राख्ने आदेश दिएको थियो । 

केही ठूला कारोबारी धरौटीमा छुटेका थिए । जसमा विमल पोद्दार, सञ्जय खेतान भन्ने प्रभात अग्रवाल, आरडी भनिने राजकुमार दारुका, डब्बु भन्ने इस्तियाज उद्दीन, अबु सलमान भनिने सैयद अकबर शाह, बाला दाइ भन्ने बालकृष्ण खड्का, ठाकुरप्रसाद ढुंगाना, चेतन भनिने चेतनाथ भण्डारी, रेवन्तकुमार आचार्य, विनोद अधिकारी, मोतीराम श्रेष्ठ, मदन सिलवाल, रामकुमार तिवारी, मदनकुमार घिमिरे, राजेन्द्रकुमार शाक्य, महावीर प्रसाद गोल्यान अग्रवाल, सुनील श्रेष्ठ, गीता श्रेष्ठ, निरु भन्ने नर्वदा खरेल उप्रेती छन् । 

सुन अझै भेटिएन, प्रतिवेदन गोप्य राखियो 

त्रिभुवन विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि यो प्रकरण बाहिर आएको थियो । ९ माघ २०७४ मा सो सुन त्रिभुवन विमानस्थलबाट बानेश्वर लैजाने क्रममा हराएको थियो । तस्करीमा संलग्न गिरोहकै कसैले सुन लुकाएको वा लुटेका थिए । सो सुन थाई एयरका कर्मचारी सानु वनले बानेश्वर लगेका थिए । उनको विमानस्थलभित्रै इन्धन ट्यांकरको ठक्करबाट मृत्यु भएपछि घटना रहस्यमय बन्दै गएको थियो । त्यही सुन पत्ता लगाउने क्रममा गिरोहका नाइकेमध्ये एक गोरे उपनामले चिनिने चूडामणि उप्रेतीले सनम शाक्यलाई अपहरण गरी धरानमा लगेर यातना दिएका थिए ।

यातनाकै क्रममा उनको मृत्यु भयो । सो घटनाको सूचना सुरुमा महानगरीय अपराध महाशाखाले पायो । सोहीअनुसार महाशाखा धरान पुगेर शव बरामद गरी केही आरोपीलाई पक्राउ गर्यो । तर, गाडीमा राखेर शव मोरङ पुर्याएर प्रहरीलाई बुझाएको खुलेपछि त्यसमा छानबिन हुँदा संगठित रूपमा भइरहेको सुन तस्करीको रहस्य खुलेको थियो । 

सुरुमा प्रहरीले एआइजीको नेतृत्वमा छानबिन समिति गठन गरेकोमा पछि यसमा ठूलै गिरोह देखिएपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष छानबिन टोली बनाएको थियो । सोही टोलीले गोरेलगायत केही नाइकेलाई समेत पक्राउ गर्यो । तर, पूरा अनुसन्धान हुन पाएन । हराएको भनिएको साढे ३३ किलो सुन अहिलेसम्म बरामद हुन सकेको छैन । अनुसन्धानको प्रतिवेदन पनि प्रधानमन्त्री कार्यालयमै भएकाले थप छानबिनसमेत हुन सकेको छैन । जसले सुन तस्करी प्रकरणका कतिपय पाटाहरू तीन वर्षपछिसम्म पनि अनुत्तरित नै छन् । यसबाट गिरोहका आबद्ध थप व्यक्तिलाई फाइदा भएको छ ।

१६ साउन २०७५ मा समितिले प्रधानमन्त्री केपी ओलीलाई प्रतिवेदन बुझाएको थियो । ओलीले प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे पनि अहिलेसम्म थप छानबिन र कार्यान्वयन हुन सकेको छैन । प्रतिवेदनमा थप अनुसन्धान गर्नुपर्ने दुई सयभन्दा धेरै व्यक्तिको नाम रहेको एक प्रहरी अधिकारी बताउँछन् । जसमा सुन मात्र नभई नेपालबाट अर्बौंको हुन्डीको कारोबार गर्ने नाइकेहरूबारे समेत महत्वपूर्ण सूचना थियो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा सो प्रतिवेदनको अवस्थाबारे आफूलाई यकिन जानकारी नभएको बताउँछन् । स्रोतका अनुसार गृहमा अर्काे एक निकायबाट त्यसबारे जानकारी माग भएपछि गृहले यसबारे प्रहरी प्रधान कार्यालयसँग गत महिना सोधेको थियो । प्रहरीले जिल्ला प्रहरी कार्यालयबाट तीन वर्षअघि भएको अनुसन्धानबाहेक थप अनुसन्धान नभएको जानकारी गराएको थियो । गृह र प्रहरी प्रधान कार्यालयबीचको पत्रको आदानप्रदानले नै यो विषयमा गृह र प्रहरी दुवैले चासो नदेखाएको प्रस्ट हुन्छ । प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवर सुरुमा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनपछि सो प्रकरणमा थप विस्तृत अनुसन्धान नभएको स्विकार्छन् । 

पक्राउ परेका व्यक्तिउपर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा फाइल पठाएको थियो । विभागले पनि छानबिनलाई तीव्रता दिन सकेको छैन । तस्करी गिरोहका अधिकांश व्यक्तिगत विगतमा कामदारका रूपमा दुबई पुगेर सुन र हुन्डीको कारोबार गरी करोडौँ कमाएको प्रहरीको प्रारम्भिक छानबिनमा खुलेको थियो । छानबिनका क्रममा केही भारतीय र केही अरबी नागरिकहरूको समेत संलग्नता खुलेको थियो । भारतको केरलाका सलिम खानको गोरे समूहसँग सम्बन्ध खुलेको थियो । यसतर्फ पनि अनुसन्धान हुन नसकेको छानबिन टोलीका एक सदस्य बताउँछन् ।

अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन)ले तयार पारेका गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आइसिआइजे)ले गरेको थप खोजमा पनि नेपालमा दुबईबाट हुने सुन तस्करीबारे थप तथ्यबाट फेला परेको थियो । 

सुझावित समाचार