राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र इजरायलका राजदूत गोडेरबीच शिष्टाचार भेट

सोमबार, २ चैत, २०७७
डिजिटल संस्करण

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले शिष्टाचार भेटघाट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा दोस्रो कार्यकालका लागि हालै नियुक्त इजरायली राजदूत गोडेरले सोमबार भेट गरेका हुन् ।

भेटका क्रममा तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्षसम्म दुई देशबीच सुमधुर र मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका थिए । उनले दुई देशले संयुक्त राष्ट्रसंघजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा चासोका विषयहरूमा निकट रहेर सहकार्य गरिरहेको बताउँदै दुई देशका संसदबीच समेत सुमधुर सम्बन्ध रहेको जानकारी गराएका थिए।

तिमिल्सिनाले भने, ‘इजरायलको कृषि क्षेत्रमा काम गरेर तथा कृषि सम्बन्धि विभिन्न तालिम गरेर फर्किएका नेपालीले कृषिमा सफलता हासिल गरेका छन् । उनीहरूले सिकेको सीप र भित्र्याएको प्रविधि अन्य नेपाली कृषकले पनि प्रयोग गर्न पाउनु खुसीको कुरा हो। यसले हाम्रो कृषि क्षेत्रमा व्यावसायिकता र प्रविधिको प्रयोग बढाएको छ ।’

तिमिल्सिनाले दुई पक्षबीच सम्झौता भएर हाल रोकिएको ज्येष्ठ नागरिकहरूको स्याहारसुसारमा नेपाली कामदार जाने प्रक्रिया छिटो सुरु गराउन राजदूतमार्फत इजरायल सरकारलाई अनुरोधसमेत गरे।

भेटका क्रममा इजरायलका राजदूत गोडेरले नेपालमा दोस्रो कार्यकालका लागि आउन पाउँदा खुसी व्यक्त गरेका थिए । इजरायलमा वार्षिक पाँच सय जना नेपाली एघारमहिने कृषि तालिमका लागि जाने गरेको बताउँदै उनले अब छिट्टै ज्येष्ठ नागरिकको स्याहारका लागि नेपाली इजरायल जानेक्रम सुरु हुने जानकारी गराए ।

‘इजरायलमा विदेशी कामदारले पनि स्वदेशी बराबरको सेवा सुविधा पाउने गरेका छन् । कामदारबीच कुनै विभेद छैन,’ राजदूत गोडेरले भनेका थिए, ‘नेपाली कामदालाई पनि समान अवसर दिने कुरामा इजरायल प्रतिबद्ध छ।’

सुझावित समाचार