अदालतले ब्युँताएपछि माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटी बैठक

‘असन्तुष्ट विदेशी पक्षले खेलेका कारण नेकपा एकताले पूर्णता पाएन’

सोमबार, २ चैत, २०७७
डिजिटल संस्करण

 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानप्रति असन्तुष्ट विदेशी शक्तिले नेकपा एकता भंग गराएको दाबी गरेका छन् । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि आइतबार बसेको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा प्रचण्डले स्वदेशी तथा विदेशी शक्तिले हमला गरेका कारण एकताले पूर्णता पाउन नसकेको सुनाए ।

‘एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामाथि स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिले हमला गरेका कारण पार्टी एकताले पूर्णता पाउन सकेन । संविधान निर्माण भएदेखि नै संविधान, गणतन्त्र, समावेशी–समानुपातिक, धर्मनिरपेक्षतालगायत एजेन्डाप्रति असन्तुष्ट विदेशी पक्षले खेलेकै कारण एकताले पूर्णता नपाउँदै नेकपा विभाजन हुन पुगेको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले भने ।

बैठकमा प्रचण्डले मुलुकलाई समाजवादतिर लैजाने र राजनीतिक स्थिरतामार्फत संविधान कार्यान्वयन गर्न एमाले र माओवादी केन्द्रको एकता भए पनि प्रधानमन्त्री केपी ओलीले उद्देश्य छाडेकाले पुनः विभाजन भएको ब्रिफिङ गरेका थिए । एकतापछि पार्टीमा क्रान्तिकारी प्रवृत्ति हावी गर्ने आफ्नो चाहना भए पनि प्रतिक्रान्तिकारी शक्तिले अनेक षड्यन्त्र गरेर पार्टी एकता भंग गराएको प्रचण्डको भनाइ थियो ।

अदालतको पछिल्लो निर्णयले अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ थियो । ‘निर्वाचन आयोगले निर्णय गर्न लागेको वेलामा सर्वोच्च अदालतले रिट निवेदकले माग्दै नमागेको फैसला सुनायो । परिणामतः एमाले र माओवादी केन्द्र ब्युँतिन पुगे,’ प्रचण्डले पार्टी विभाजनबारे भने ।

बैठकमा नेता नारायणकाजी श्रेष्ठले प्रतिगामी र विसर्जनवादी कोणबाट पार्टीमा हमला भएको भन्दै त्यसलाई असफल पार्न आफूहरूले संघर्ष गर्नुपरेको सुनाएका थिए । श्रेष्ठले सर्वोच्च अदालतको फैसला षड्यन्त्रको योजनाअन्तर्गत भएको ठहर पार्टीले गरेकोसमेत बताएका थिए । 

नेपालका कम्युनिस्टहरू मिल्दा आफ्नो चाहना पूरा नहुने भएपछि ओलीलाई निमित्त नायक बनाएर संघीयता, गणतन्त्र, समावेशी र धर्मनिरपेक्षताको विरोधमा षड्यन्त्र भएको उनको दाबी थियो । ‘प्रतिक्रान्तिकारीहरूले ओलीलाई नयाँ नायक खोजेर ल्याएका छन् । अब हाम्रो पहिलो राजनीतिक कार्यभार ओलीको सरकार ढालेर नयाँ सरकार बनाउनु हो,’ प्रवक्ता श्रेष्ठले बैठकमा भने । 

प्रचण्ड र नेता श्रेष्ठले कम्युनिस्ट आन्दोलनको एकीकरण, विकास र अग्रगमनको यात्रामा बाधा मात्र नभएर वैदेशिक हस्तक्षेप हुने गरेको पुष्टि भएको बताएका थिए । उनीहरूले वैदेशिक शक्तिहरूले नेपालको सबै प्रक्रियामा आफ्नो स्वामित्व खोज्ने गरेको ब्रिफिङ गरेका थिए । 

सर्वोच्च अदालतको २३ एमाले र माओवादी केन्द्रको एकता बदर गरेपछि माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटी बैठक बसेको हो । बैठकमा संगठनात्मक काम, पार्टी अनुशासन र विधान, कार्यकर्ता भेला, पार्टीको नाम र एकता रामवृक्ष यादवको सालिक र वर्तमान स्थितिबारे केन्द्रीय कार्यालयका तर्फबाट र प्रदेश इन्र्चाजबाट रिपोर्टिङलगायत विभिन्न ६ वटा एजेन्डामा छलफल सुरु भएको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए । बैठकमा पार्टीको नाम परिवर्तन गर्ने विषयले पनि प्रवेश पाएको छ । 

बैठकको पहिलो दिन आइतबार पार्टी केन्द्रीय कार्यालयका तर्फबाट प्रचण्ड र श्रेष्ठ तथा विभिन्न प्रदेशका प्रतिनिधिले रिपोर्टिङ गरेका थिए । केन्द्रीय सदस्य धर्मशिला चापागाईंका अनुसार आइतबारको बैठकमा सातवटा भूगोल प्रदेश र उपत्यका विशेष कमिटी, प्रदेश सम्पर्क समन्वय कमिटी तथा प्रवास समन्वय कमिटीका गरी दशवटा प्रदेश कमिटीका इन्चार्जले रिपोर्टिङ गरेका थिए । बैठकमा उनीहरूले ओली नेतृत्वको सरकार प्रतिगामी भएकाले विस्थापन गर्नुपर्ने मत राखेका थिए । 

बैठकमा प्रदेशको रिपोर्टिङ गर्ने क्रममा प्रदेश १ का सहइन्चार्ज सावित्रीकुमार काफ्लेले नेकपा विभाजन भएपछि प्रदेश १ बाट माओवादी केन्द्रको केन्द्रीय कमिटीबाट एमालेमा गएकाबारे जानकारी गराएका थिए । उनले प्रदेश १ बाट माओवादी केन्द्रका दुईजना केन्द्रीय सदस्य एमालेतर्फ लागेको जानकारी गराएका थिए ।

त्यस्तै प्रदेश २ का सहइन्जार्च विश्वनाथ साहले पार्टीका तीनजना सांसद एमालेमा गएको जानकारी गराए । प्रभु साह, ज्वालाकुमारी साह र टेकबहादुर वलाम्पाकीबाहेक सबै केन्द्रीय सदस्य र सांसदहरू माओवादी केन्द्रमा नै रहेको रिपोर्टिङ सहइन्जार्च साहले गरेका थिए ।
बागमती प्रदेशका अध्यक्ष नारायण दाहालले प्रदेश सांसद दावा तामाङ, विष्णुलाल अधिकारी र कमल चौलागाईं एमालेमा गएको जानकारी गराएका थिए । गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले स्याङ्जाका एक प्रदेश सांसद मात्रै एमालेतिर लागेको जानकारी गराएका थिए ।
लुम्बिनी प्रदेशकी अध्यक्ष ओनसरी घर्तीले संघीय सांसद टोपबहादुर रायमाझी, चन्द्रबहादुर खड्का एमालेतिर लागेको जानकारी राखिन् । कर्णाली प्रदेशका सचिव मायाप्रसाद आचार्यले एकजना संघीय सांसद एमालेतिर लागेको जानकारी गराए । सुदूर​पश्चिम प्रदेशका १४ केन्द्रीय सदस्यमध्ये एकजना लेखराज भट्ट मात्रै एमालेतिर लागेको प्रदेश सचिव नेपबहादुर चौधरीले जानकारी गराएका थिए ।
त्यस्तै, उपत्यका विशेष समन्वय समितिका तर्फबाट लीलामणि पोखरेल तथा सम्पर्क समितिका तर्फबाट प्रह्लाद बुढाथोकी र प्रवास कमिटीका तर्फबाट चौलागाईंले रिपोर्टिङ गरेका थिए । माओवादी केन्द्रको बैठक सोमबार ११ बजे पुनः बस्ने नेता श्रेष्ठले जानकारी दिए ।

सुझावित समाचार