त्रिवेणी युवा क्लबले एन्फा प्रेसिडेन्ट कपमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने

आइतबार, १ चैत, २०७७
डिजिटल संस्करण

लमजुङको सदरमुकाम बेसीसहरमा रहेको त्रिवेणी युवा क्लबले एन्फा प्रेसिडेन्ट कप- २०७७ मा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने भएको छ । शनिबार बेसीसहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी खेलाडीलाई शुभकामना तथा बिदाइ कार्यक्रम गरी कार्यक्रमबारे जानकारी गराइएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उच्च मनोबलका साथ खेलेर गण्डकी प्रदेशको नाम उँचो बनाउन खेलाडीलाई उत्प्रेरणा दिए । उनले भने, ‘त्रिवेणी युवा क्लबले लमजुङको बेसीसहर- ७ को मात्र प्रतिनिधित्व गरेको छैन, गण्डकी प्रदेशको पनि प्रतिनिधित्व गर्दै छ, उच्च मनोबलका साथ खेल्न र जितेर पहिलो उपाधि ल्याउन आशीर्वाद छ ।’ मुख्यमन्त्री गुरुङले खेलाडीको पारिश्रमिक खर्चसमेत प्रदेश सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाए ।  

एन्फा प्रेसिडेन्ट कप- २०७७मा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने मौका पाएको यो टिमले चौथो स्थान मात्र हासिल गरे पनि फुटबलको डिभिजन ‘ए’ खेल्ने अवसर पाउने भएको छ । 

त्रिवेणी युवा क्लबका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेलले जिल्लामा व्यवस्थित फुल साइजको खेलमैदान नभएको बताए । उनले निकट भविष्यमा एक कभर्डहल निर्माणका लागि एकसूत्रीय ढंगले लाग्नुपर्नेमा जोड दिए । 

त्रिवेणी युवा क्लबका अध्यक्ष सिजन श्रेष्ठका अनुसार प्रतियोगितामा भाग लिने टिममा २३ जना खेलाडी, अफिसियल र फिजिओ सात गरी ३० जना रहनेछन् । प्रतियोगिता सम्पन्न गर्न २९ लाख १० हजार खर्च हुने क्लबको अनुमान छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा एन्फा प्रेसिडेन्ट कप २०७७ हुने भएको हो । खेल चैत २ देखि १५ गतेसम्म नेपालगन्जमा हुनेछ । प्रतियोगितामा सात प्रदेशका च्याम्पियन टिमहरूले प्रतिस्पर्धा गर्नेछन् ।
 

सुझावित समाचार