डायनाको नियति सम्झाउने मेघनको कथा

बुधबार, २६ फागुन, २०७७
डिजिटल संस्करण

ब्रिटिस मिडिया मेघनलाई पनि डायनाको नियतिमा पुर्याउन उद्धत देखिन्छ

सन् १९९७ मा ब्रिटिस राजकुमारी डायनाको अन्त्येष्टिको दृश्य ज–जसले हेरेका थिए, तिनले डायनाका दुई छोरा विलियम र ह्यारीलाई ख्याल गरेको हुनुपर्छ । आफ्नै आमाको अन्त्येष्टि यात्रामा सहभागी ती दुई कलिला राजकुमारको अनुहारको तस्बिरले धेरैलाई भावुक बनाएको थियो । उनीहरू वेस्टमिनिस्टर एबेतर्फ अघि बढ्दै गरेको कफिनपछाडि बिस्तारै हिँडिरहेका थिए । त्यस दिन ह्यारी पहिरनका कारण उनको स्वाभाविक उचाइभन्दा होचो देखिएका थिए । 

विलियम र ह्यारीको दर्दनाक बाल्यकालको दस्तावेज मानिने सो तस्बिर वर्षौंपछि पनि विभिन्न अवसरमा सतहमा आउने गर्छ । आइतबार राति चर्चित टेलिभिजन प्रस्तोता ओप्रा विनफ्रेसँगको राजकुमार ह्यारी र उनकी श्रीमती मेघनको संवादमा पनि त्यस तस्बिरले पृष्ठभूमिको काम गरेको थियो । 

ब्रिटिस मिडिया मेघनलाई डचेच अफ विन्डसोर वालिस सिम्पसनको खलनायक भूमिका भिराउन उद्यत देखिन्छ । सन् १९३६ मा आफ्ना राजालाई सम्मोहित गरेर निर्वासित गर्ने र देशको शाही परिवारमा अपुरणीय विभाजन गराउने अमेरिकी नागरिक सिम्पसन अझै ब्रिटिस आँखामा खलनायिकासरह मानिन्छिन् । तर, ह्यारी र मेघन दम्पती भने ब्रिटिस मिडियाले दिन खोजेको छविसँग किमार्थ समहत छैनन् । उनीहरू मेघनलाई जीवनको उत्तरार्द्धकी डायनाको स्थानमा स्थापित गर्ने ध्याउन्नमा देखिन्छन् । 

राजकुमारी डायनाले ब्रिटिस राजपरिवारभित्रको दैनिकीबारे मौनता तोडेको झन्डै २५ वर्षपछि डचेच अफ ससेक्स मेघनले इतिहास दोहोर्याएकी छन् । र, अचम्मलाग्दो उनीहरूको कथामा धेरै समानता भेटिन्छ । 
 

ह्यारीले पहिले विभिन्न अवसरमा आफ्नी आमाले भोग्नुपरेको नियतिप्रति आक्रोश र तिक्ततापूर्ण भाषा प्रयोग गर्ने गरेका थिए । पिता चार्ल्ससँग सम्बन्धविच्छेद भएपछि राजपरिवारले बहिष्कार गरेदेखि पापाराजीबाट भाग्दै गर्दा पेरिसको अन्डरपासमा कार दुर्घटना भएर मृत्यु भएबीचमा डायनामाथि भएका तमाम परिघटनाप्रति उनको असन्तुष्टि देखिन्छ । यही विषय उनले आइतबार ओप्रासँगको संवादमा पुनः उठाए । संवादमा उनले उनकी आमा र श्रीमतीको अनुभवमा समानता रहेको बताउँदै पछिल्लो प्रकरणको सम्पूर्ण अवधिमा आफूले आमा डायनाको उपस्थिति महसुस गरेको बताए । 

राजपरिवारभित्रको अलग पुस्तामा उस्तै कथाको पुनरावृत्ति कुनै सेक्सपियरको नाटकसरह महसुस हुन्छ । र, यस कथाका राजकुमार आफूलाई पुरानो प्रवृत्तिमुक्त गर्ने र नयाँ मार्ग पहिल्याउने बताइरहेका छन् । ह्यारीले आइतबारको अन्तर्वार्तामा आफ्नी श्रीमतीमाथि ‘निरन्तर’ आलोचना र नश्लवादी आक्रमण भएको बताउँदै आफ्नी आमा र श्रीमतीको भोगाइलाई खुलेर तुलना गरेका थिए । ‘मैले आफैँले इतिहास स्वयं दोहोरिएको देखेँ,’ ह्यारीले ओप्रासँग बताए । सामाजिक सञ्जालको व्यापक प्रचलन तथा नश्लवादको मिश्रणले मेघनमाथि भएका व्यवहार ‘अझ बढी खतरनाक’ भएको ह्यारी बताउँछन् । 

ओप्रासँगको अन्तर्वार्ताका क्रममा मेघनले आफ्नो मानसिक स्वास्थ्य समस्याबारे पनि खुलेर बोलिन् । उनले शाही पत्नी भएर दरबार भित्रिएपछि झेलेको आलोचना तथा विभेदका कारण एक्लोपन, निराशा महसुस गरेको बताउँदै एक समय आत्महत्यासम्बन्धी सोच आएको समेत खुलाइन् । उनको यो अनुभूतिमा पनि डायनाको प्रतिछाया देखिन्थ्यो । डायनाले शाही पत्नीका रूपमा रहँदा बुलिमिया र डिप्रेसन भोगेको स्वीकार गरेकी थिइन् । दुवैले मानसिक समस्याको समयमा आफूले परिवार सदस्यबाट सहयोग खोजेको तर परिवारबाट बेवास्ता र घृणा भोगेको बाएका छन् । ‘इतिहास दोहोरिइरहेको छ भनेर मैले मेरी आमाको कुरा गरेको हुँ,’ ह्यारीले स्पष्ट रूपमै बताएका थिए । ‘उस्तै घटना घटिरहेको देख्नुहुन्छ भने जसले पनि सहयोगको माग गर्छ,’ पुनः आमाकै अनुभूति दोहोरिँदै मेघनको सहयोगलाई उपेक्षा गरिएको ह्यारीले बताए । 

ब्रिटिस शाही परिवारले मेघनको चिन्तालाई बेवास्ता मात्र गरेनन्, उनलाई मौन रहन पनि भन्यो । दम्पतीका अनुसार उनीहरूलाई बारम्बार ‘यहाँ यस्तै हुन्छ, यहाँ यसरी नै चल्नुपर्छ,’ भनिएको थियो । मेघन र डायनाको कथामा धेरै समानता देखिन्छ । डायनाजस्तै मेघनले पनि त्यस्तो परिवारमा विवाह गरिन्, जसले उनलाई बुझ्नै चाहेन । तर, उही परिवारले ती महिलाहरूले शाही चालचलन र प्रोटोकलविना कुनै गुनासो चुपचाप पालना गर्नेछिन् भन्ने विश्वास गर्यो । जहाँसम्म मेघनको कुरा छ, उनी राजपरिवारका हरेक कुरामा झुक्न सकिनन् वा चाहिनन् । मेघनका अनुसार उनको सार्वजनिक छवि घमण्डी, मुडी र जे चाह्यो पाउनैपर्ने स्वभावको भन्ने बनिरहँदा राजदरबारले सो भ्रम चिर्न कुनै कदम चालेन । र, डायनाजस्तै मेघनले पनि ट्याब्लोइडले घेरिएको पाइन् । ट्याब्लोइडले एकातर्फ तिनका कथाले आफ्ना पाना भरिरहे, अर्कोतर्फ तिनले निरन्तर ध्यान तान्न चाहेको आरोप लगाइरहे । 

कैयौँ समानताका अतिरिक्त दुई पुस्ताका दुईजना ब्रिटिस राजकुमारीको कथामा केही भिन्नता पनि छन् । डायना श्वेत समुदायकी थिइन् भने मेघन मिश्रित नश्लीय (मेघनका पिता श्वेत हुन् भने आमा अश्वेत) हुन् । डायनाको प्रसंगमा उनको विवाह टुटेको थियो, जबकि मेघनको सम्बन्ध राम्रो छ र उनका श्रीमान् ह्यारी बलियो गरी उनको साथमा देखिएका छन् । डायनाको चार्ल्ससँग जम्मा २० वर्षको उमेरमा विवाह भएको थियो । नियन्त्रित परिवारमा हुर्किएकी डायनालाई विवाहको समयमा राजपरिवार र विश्वबारे त्यति धेरै जानकारी थिएन । तर, ह्यारीसँग विवाहको समयमा मेघन ३६ वर्षकी थिइन् । वर्षौं हलिउड फिल्म उद्योगकी नायिका रहँदा उनले विश्वजगत्लाई राम्ररी चिनेकी थिइन् । अझ उनीसँग पहिलो विवाहको अनुभव पनि थियो, जहाँ मेघन अमेरिकाको बृहत्तर अनुभवबाट खारिएकी छन्, डायनालाई त्यो सुविधा थिएन । उनी आफू हुर्किएको परम्परालाई अति सम्मान गर्ने हुर्काइबाट बाहिरिन समय लाग्यो । 

ब्रिटिस शाही परिवारले मेघनको चिन्तालाई बेवास्ता मात्र गरेनन्, उनलाई मौन रहन पनि भन्यो । दम्पतीका अनुसार उनीहरूलाई बारम्बार ‘यहाँ यस्तै हुन्छ, यहाँ यसरी नै चल्नुपर्छ,’ भनिएको थियो । 

मेघन जुन वातावरणमा हुर्किन् त्यहाँ सहयोग माग्नु, अनुभूतिबारे कुरा गर्नुलाई सामान्य क्रियाकलाप मानिन्छ । साथै, कुनै स्थितिमा नयाँ तथा राम्रो मार्ग छन् कि भन्नेबारेमा कुराकानी पनि सामान्य हुन्छ । ओप्रासँगको अन्तर्वार्तामा डायनासँग सम्बन्धित संकेतहरू अरू पनि थिए । जस्तो, मेघनले अन्तर्वार्तामा लगाएको हिराको ब्रासलेट एक समय डायनाको थियो । (डायनाको सबैभन्दा चर्चित गहना मानिने इंगेजमेन्ट रिङ भने राजकुमार विलियमकी श्रीमती क्याथरिन, डचेच अफ क्याम्ब्रिजको हातमा देखिन्छ ।) 

अन्तर्वार्ता आफैँमा इतिहासको पुनरावृत्ति थियो । ब्रिटिस शाही परिवारसँग विवाह गरेकी महिलाले टेलिभिजनमा आएर आफ्नो श्रीमान्को परिवारविरुद्ध आलोचना गर्ने खालको साहसी निर्णयले पनि डायनाको सन् १९९५ को बिबिसीसँगको अन्तर्वार्ताको स्मरण गराउँछ । सोही अन्तर्वार्तामा गम्भीर मुद्रामा डायनाले आफ्नो विवाहमा दुई नभएर ‘तीनजना जोडिएका’ले सम्बन्ध पहिलेदेखि नै पतनोन्मुख रहेको खुलासा गरेकी थिइन् । डायनाले उनको विवाहसँग जोडिएको तेस्रो व्यक्ति चार्ल्सको जीवनभर प्रेमिका रहेकी क्यामिला पार्कर थिइन् । डायनासँगको सम्बन्धविच्छेदपछि चार्ल्सले पार्करसँग विवाह गरे । 

आइतबारको अन्तर्वार्तामा डायनाको प्रसंग खुलेर औँल्याउने काम ह्यारीले गरेका थिए । उनले एक ठाउँमा आमा जिउँदो भएको भए आफूहरूलाई गरिएको व्यवहारप्रति आक्रोश र दुःख व्यक्ति गर्थिन् भने । साथै, आमाले ब्रिटेन छाड्ने र शाही परिवारको नियन्त्रणबाहिर टाढा नयाँ जीवन खोज्ने आफूहरूको निर्णयलाई पनि समर्थन गर्ने थिइन् भन्ने ह्यारीको भनाइ थियो । डायनाको भोगाइका आधारमा आफूहरूको भोगाइ अवश्यम्भावी रहेको पनि ह्यारीले बताए । ‘अहिलेको अवस्थामा मेरी आमाले के सोच्ने थिइन् भन्दा पनि उनले यो अवस्थाबारे पहिले पूर्वानुमान गर्ने थिइन् । तर, जस्तो भए पनि उनी हामीलाई जसरी पनि खुसी भएको हेर्न चाहन्थिन् ।’

ह्यारीलाई के थाहा छ भने उनकी आमाको पीडामा पिता चार्ल्स जिम्मेवार छन् । डायना शाही पत्नीको रूपमा अत्यधिक दुःखी छन् भन्ने थाहा हुँदाहुँदै पनि चार्ल्सले केही नगरेको पनि उनलाई थाहा छ । अहिले उनले ओप्रासँगको संवादमा मेघनको विषयमा पिता चार्ल्ससँग विवाद रहेको बताए । यही विषयमा एक चरणमा उनका पिताले फोन उठाउन छाडेको पनि खुलाए । ‘त्यसबाट म धेरै नै दुःखी भएँ । किनकि, उनी पनि यस्तै स्थितिबाट गुज्रिएका थिए । उनलाई पनि पीडा कस्तो हुन्छ भन्ने थाहा छ । र, फेरि आर्ची त उनको आफ्नै नाति हो । हामीबीच जे भए पनि म उनलाई सधैँ माया गर्नेछु । तर, यसबीच हाम्रो हृदयमा धेरै चोट लागेको छ ।’
अन्तर्वार्ताको अन्तिममा ह्यारीेले उनको छोरा आर्ची र क्यालिफोर्नियाको उनको नयाँ जीवनबारे कुराकानी गरे । यसबारे बोलिरहँदा उनमा माया मात्र झल्किरहेको थिएन, केही गुमेको कुराप्रतिको गहिरो भाव पनि महसुस हुन्थ्यो । यस्तो लाग्थ्यो, उनी १२ वर्षको उमेरमा आमा गुमाउँदा कस्तो अनुभव हुन्छ भन्ने बताइरहेका थिए । ‘क्यालिफोर्निया बसाइको सबैभन्दा रमाइलो क्षण आर्चीलाई उनको साइकलको सानो सिटमा राखेर कुदाउँदा महसुस हुन्छ । सानो छँदा मलाई त्यसो गराउने कोही थिएन,’ ह्यारीले भने । 

सारा लिअल न्युयोर्क टाइम्ससँग आबद्ध लेखक हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

सुझावित समाचार