कांग्रेस पदाधिकारी बैठकले सरकार गठनबारे निर्णय लिएन, प्रवक्ता शर्मा भन्छन्– कांग्रेसले ‘इन्जुरी समय’मा गोल गर्छ

बिहिबार, २० फागुन, २०७७
डिजिटल संस्करण
कांग्रेस पदाधिकारी बैठकले सरकार गठनबारे निर्णय लिएन, प्रवक्ता शर्मा भन्छन्– कांग्रेसले ‘इन्जुरी समय’मा गोल गर्छ

फाइल तस्बिर

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सरकार गठनबारे निर्णय नगरी टुंगिएको छ । बिहीबार साँझ बसेको बैठक निर्णयविनै सकिएको हो । 

सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनस्र्थापना गरेपछिको अवस्थाका विषयमा पार्टीको धारणा तयार गर्न सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाएका थिए । बैठकमा प्रतिनिधिसभा पुनस्र्थापना गरिसकेपछि आइतबारबाट सुरु हुन लागेको संसद्को अधिवेशनका विषयमा कांग्रेसले खेल्नुपर्ने भूमिकाबारे विभिन्न कोणबाट छलफल भएको, तर निर्णयमा नपुगिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘पार्टीले अहिले संयमतापूर्ण ढंगले एकीकृत रूपमा संविधान, लोकतन्त्र र जनताको दूरगामी भविष्य हेरेर निर्णय लिने निष्कर्ष निकालेको छ । बृहत्तर रूपमा संविधान, जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर निर्णय लिनुपर्ने विषयमा छलफल भएको छ,’ प्रवक्ता शर्माले भने । 

उनले यी विषयहरूमाथि शुक्रबार बस्ने संसदीय दलको बैठकमा समेत छलफल भएपछि मात्रै पार्टीले निर्णय लिने बताए । ‘कांग्रेसले सबै घटना, गतिविधि र नेकपाभित्रको विवादलाई गहिराइसँग हेरिरहेको छ, ती विषयहरूमाथि विभिन्न कोणबाट छलफल पनि गरेको छ,’ शर्माले भने, ‘कांग्रेसले विवेकसम्मत् ढंगले ‘इन्जुरी टाइम’मा गोल गर्छ, समय आएपछि उपयुक्त निर्णय लिन्छ ।’
 

सुझावित समाचार