कोभिड–१९पछिको आर्थिक पुनरुत्थानलाई ध्यान दिँदै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न सरकारलाई पूर्वअर्थसचिवहरूले सुझाब दिएका छन् । उनीहरूले अप्ठ्यारो स्थितिमा पुगेको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने गरी आगामी आर्थिक वर्षको बजेटलाई केन्द्रित गर्न सुझाब दिएका हुन् ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/८९ को बजेट निर्माणका लागि गृहकार्य सुरु गरेको छ । यसैक्रममा बुधबार मन्त्रालयले पूर्वअर्थसचिवहरूसँग छलफल गर्दै राय–सुझाब मागेको हो ।
पूर्वमुख्यसचिव तथा अर्थसचिव डा. विमल कोइरालाले कोभिड–१९ र निर्वाचनको घोषणाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा नयाँ चुनौती थप गरेको आर्थिक परिसूचक र प्राविधिक विषयको अतिरिक्त अर्थराजनीतिलाई समेत ध्यान दिन सुझाब दिए । यसो गर्न सकिएमा मात्र अर्थतन्त्रको पुनस्र्थापना एवं विकास दिगो रूपमा गर्न सकिने उनको भनाइ थियो ।
पूर्वमन्त्री एवं अर्थसचिव विद्याधर मल्लिकले निजी लगानी विस्तारका आवश्यक वातावरण सिर्जना गर्ने तथा अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्नुपर्ने औँल्याए ।
अर्का पूर्वअर्थसचिव रामेश्वर खनालले व्यावसायिक वातावरण निर्माण र नीतिगत एवं कानुनी सुधारतर्फ जोड दिए । सम्पूर्ण सुधारसहितको बजेट जरुरी रहेको औँल्याउँदै खर्च प्रणालीलाई बढाउन आवश्यक भएको खनालले बताए । त्यस्तै, अर्का अर्थसचिव डा. शान्ताराज सुवेदीले कोभिड–१९ लाई अवसरका रूपमा लिएर कोभिडले जुन–जुन क्षेत्रमा असर गरेको छ, सोही क्षेत्रलाई सम्बोधन गर्ने गरी बजेट ल्याउन जरुरी रहेको बताए ।
त्यस्तै, अर्का पूर्वअर्थसचिव सुमनप्रसाद शर्माले आगामी आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रमा खर्च बढाउन सुझाब दिए । पूर्वअर्थसचिव युवराज भुसालले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर अनावश्यक पूर्वाधार निर्माणलाई कटौती गर्न जरुरी रहेको औँल्याए ।
पूर्वअर्थसचिव शंकरराज अधिकारीले आर्थिक वृद्धि र सोका लागि निजी एवं निजी–सरकारी साझेदारीमा विशेष जोड दिए । पूर्वअर्थसचिव डा. राजन खनालले सार्वजनिक क्षेत्रको सुधारतर्फ उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै कार्यक्रम तथा आयोजना व्यवस्थापनको अवधारणामा नै परिवर्तन गर्न आवश्यक भइसकेको विचार व्यक्त गरे । प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार एवं पूर्वअर्थसचिव लालशंकर घिमिरेले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए ।
उक्त अवसरमा अर्थसचिव शिशिरकुमार ढुंगानाले नीतिगत, कार्यक्रमिक एवं व्यवस्थापकीय सुधारका सम्बन्धमा पूर्वअर्थसचिवलगायतको सल्लाह–सुझाब लिएर अघि बढ्ने बताए । पूर्वसचिवहरूबाट महत्वपूर्ण र गहन सुझाब आएको बताउँदै अर्थ मन्त्रालयले ती सुझाबलाई गम्भीरतापूर्वक ग्रहण गर्नेसमेत बताए ।