बायर्नद्वारा बार्सिलोनाको कीर्तिमान बराबरी

शनिबार, १ फागुन, २०७७
डिजिटल संस्करण

जर्मन क्लब बायर्नले नौ महिनाभित्र जर्मन वुन्डेस लिगा, युरोपियन च्याम्पियन्स लिग, जर्मन कप, युइएफए सुपर कप, जर्मन सुपर तथा क्लब विश्वकपको ट्रफी उचाल्यो

जर्मन क्लब बायर्न म्युनिखले लगातार ६ उपाधि हात पारेको छ । बायर्नले बिहीबार मेक्सिकोको टाइगर्सलाई १–० ले हराउँदै क्लबले विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।

बायर्नले २०१९/२० र २०००/२१ को सिजनमा ६ वटा उपाधिमाथि कब्जा जमाउन सफल भयो । यससँगै बायर्नले युरोपियन क्लब बार्सिलोनासँग जितेको रेकर्ड बराबरी गरेको छ । बार्सिलोनाले २००९/०१० को सिजनमा ६ वटा उपाधि उचालेको थियो । त्यसवेला बार्सिलोनाका प्रशिक्षक पेप ग्वार्डिओला थिए ।

सन् २०१९ को नोभेम्बरदेखि हान्सी फिकले बायर्नको प्रशिक्षक भूमिका निर्वाह गर्दै आइरहेका छन् । उनको प्रशिक्षणमा बायर्नले घरेलु तथा युरोपियन फुटबलमा दबदबा मात्र राखेन, अहिले क्लब विश्वकपमा समेत राख्यो । यस सिजनमा बायर्नलाई थप एक उपाधि दिलाउने क्रममा पाभार्डले एक मात्र निर्णायक गोल गरेका थिए । खेलको ५९औँ मिनेटमा पाभार्डको गोलमा बायर्नले टाइगर्सलाई हरायो । कतारको राजधानी दोहास्थित एजुकेसन रंगशालामा भएको फाइनल प्रतिस्पर्धामा मेक्सिकन क्लब टाइगर्सले युरोपियन च्याम्पियन क्लबलाई खेलको अन्तिम मिनेटसम्म चुनौती प्रस्तुत गरेको थियो । 

टाइगर्सले राम्रो अवसर सिर्जना गरे पनि खेलमा गोल गर्न सकेन । बायर्नका लागि रोबर्ट लेवान्डोस्कीले एक गोल गरेका थिए । तर, उनको गोललाई अफ साइड दिइएको थियो । बायर्नले नौ महिनाभित्र जर्मन वुन्डेस लिगा, युरोपियन च्याम्पियन्स लिग, जर्मन कप, युइएफए सुपर कप, जर्मन सुपर तथा क्लब विश्वकपको ट्रफी उचालेको हो । गत सिजनमा बायर्नले लगातार तीन उपाधि जितेर ट्रेबल रचेको थियो । 

आयोजक कतारले कोभिड–१९ को प्रोटोकल अपनाउँदै रंगशालामा १२ हजार समर्थकलाई अनुमति दिएको थियो । खेलको पहिलो हाफमा बायर्नका लेवान्डोस्कीको सटीक हेडिङ गोल प्रयासलाई टाइगर्सका गोलरक्षक नहुएल जुमानले क्लियर गरेका थिए । प्रतिस्पर्धामा बायर्नका खेलाडीले प्रहार गरेको बल दुईपटक बारमा लागेको थियो । क्लब र खेलाडीको सफलतामा प्रशिक्षक हान्सी दंग छन् । उनले सफलतालाई ऐतिहासिक बताएका छन् ।

भन्छन्, ‘पुनः एकपटक सबैलाई बधाई छ, बायर्नले युरोपमा मात्र नभएर विश्वमै एउटा इतिहास रचेको छ, हामी लगातार ६ वटा उपाधि भित्र्याउन सफल भएका छौँ, एकै सिजनमा यस्तो उपलब्धि प्राप्त गर्नु सानो होइन ।’ क्लब इतिहासमा बायर्नले डेढ सिजनमा प्राप्त उपाधि तथा जित संख्या अहिलेसम्मकै उत्कृष्ट मानिएको छ । स्वयं प्रशिक्षक हान्सीले पनि यसलाई स्वीकार गरेका छन् ।

‘मैले देखे र पढेसम्म हामीले नौ महिनाभित्रमा उत्कृष्ट फुटबल पस्किरहेका छौँ, हामीले बायर्नको इतिहासमा सबैभन्दा बलियो तथा उत्कृष्ट टोलीका रूपमा प्रमाणित गरेका छौँ,’ उनले भने, ‘हामी फाइनलमा कहिल्यै चुकेनौँ, विपक्षी जस्तो भए पनि सहजै हराएका छौँ ।’ क्लब विश्वकपको फाइनलमा टाइगर्स क्लबले सोचेभन्दा नै उत्कृष्ट प्रदर्शन गरेको बायर्नका प्रशिक्षक हान्सी बताउँछन्, ‘सबै खेलाडी संयमित भए, यद्यपि टर्च लाइनमा आउँदा मैले तनावको महसुस गरेको थिएँ, तर खेलाडीहरूले तनाव नलिएको पाएँ ।’ 

उत्तर अमेरिकी क्लब टाइगर्सले पनि च्याम्पियन शैलीमै प्रतिस्पर्धा गरेको उनले बताए । ‘खेलमा हामी दबाबमा थियौँ, विपक्षी टोली टाइगर्सले फाइनलजस्तै बनाइदियो,’ उपविजेता टाइगर्सको प्रशंसा गर्दै उनले भने । क्लब विश्वकपमा पहिलोपटक उत्तर अमेरिकाबाट टाइगर्सले प्रतिनिधित्व गर्दै फाइनलमा प्रतिस्पर्धा गरेको हो । यता सन् २०१३ पछि बायर्नले दोस्रोपटक क्लब विश्वकपको उपाधि उचालेको हो । साथै, बायर्नले पछिल्लो आठ फाइनल गुमाएको छैन । 

यसैबीच बायर्नलाई कीर्तिमान रूपमा ६ उपाधि दिलाउन मुख्य योगदान दिएका पोल्यान्डका स्ट्राइकर लेवान्डोस्कीले फाइनल जित्नकै लागि आएको बताएका छन् । प्रतियोगितामा लेवान्डोस्की नै उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल जिते । टाइगर्सका आन्द्रे पिएर र बायर्नका जोसुअ पनि पुरस्कृत भए ।

– एजेन्सीहरूको सहयोगमा

सुझावित समाचार